गठबन्धनलाई जसपाको काउन्टर : मधेस सरकारबाट कांग्रेस, माओवादी र एसका मन्त्री हटाइँदै – Nepal Press

गठबन्धनलाई जसपाको काउन्टर : मधेस सरकारबाट कांग्रेस, माओवादी र एसका मन्त्री हटाइँदै

जनकपुरधाम । संघ सरकारले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई हटाएपछि मधेस सरकारबाट पनि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरुलाई हटाउने गरिएको छ ।

मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । सत्ता गठबन्धनबाट हटेकै निहुँमा आफ्ना मन्त्रीलाई हटाएकाले मधेसमा त्यसकाे बदला लिने जसपा स्रोतले जनाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारबाट काँग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरुलाई हटाउने छलफल थालेका हुन् । जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा मधेस सरकारका कृषिमन्त्री विजय यादवले कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरु नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा नदिए हटाउने पनि मन्त्री यादवले बताए ।

मधेस सरकारमा काँग्रेसका तीन, माओवादीका २ मन्त्री र एक राज्यमन्त्री, नेकपा एसका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।

उता लुम्बिनीमा भने जसपाका मन्त्री हटाउने विषयमा कुनै तयारी नभएको सरकारका प्रवक्ता संचारमन्त्री तिलकरा शर्माले बताए । यस विषयमा कुनै छलफल नभएको उनले जानकारी दिए ।

जसपाबाट लुम्बिनी सरकारमा तीन मन्त्री रहेकोमा जसपाबाट टिकट नपाएपछि मन्त्री सहश्रराम यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् भने मन्त्रीहरु सुमन शर्मा रायमाझी तथा पुर्मती ढेंगामगरले पनि उम्मेदवारी पाएका छैनन् ।

 

 


प्रतिक्रिया

One thought on “गठबन्धनलाई जसपाको काउन्टर : मधेस सरकारबाट कांग्रेस, माओवादी र एसका मन्त्री हटाइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर