सिन्धुपाल्चोकका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेसका बागी कायमै – Nepal Press

सिन्धुपाल्चोकका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेसका बागी कायमै

सिन्धुपाल्चोक । मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकमा सत्ता गठबन्धनविरुद्धका बागी उम्मेदवारले आफ्नो उम्मेदवारी कायम नै राखेका छन् ।

सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतविरुद्ध कांग्रेसकै पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले ‘बागी’ उम्मेदवारी दिएका थिए ।

कांग्रेसको १३औं महाधिवेशनमा उनी सचिव पदमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । कांग्रेस प्रजातान्त्रिक हुँदा चौलागाईं बस्नेतको साथमै थिए । तर, अहिले उनी बस्नेतलाई छाडेर शेखर कोइराला खेमामा लागेका छन् ।

क्षेत्र नम्बर २ मा कांग्रेसका क्षमतावान नेता भए पनि ‘टुरिस्ट’ उम्मेदवार बनाएको र बस्नेतको दादागिरीविरुद्ध आफ्नो उम्मेदवारी रहेको चौलागाईंले बताए ।

‘पार्टीका नेता, कार्यकर्तालाई सधैं पेल्ने बस्नेत प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी हो’, उनले भने ।

त्यस्तै यो क्षेत्रमा माओवादीको पूर्व केन्द्रीय सदस्य ध्रुवप्रसाद पराजुलीको स्वतन्त्र उम्मेदवारी पनि कायम नै रहेको छ । अब क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार बस्नेतले कांग्रेस र माओवादीका बागी उम्मेदवारको पनि सामना गर्नुपर्नेछ ।

सापकोटाविरुद्ध पनि कांग्रेसकै बागी

गठबन्धनबाटै सिन्धुपाल्चोक १ मा उम्मेदवार बनेका माओवादी केन्द्रका माधव सापकोटा ‘सुवोध’विरुद्ध कांग्रेस सुनकोशी गाउँपालिका–२ का इकाई सभापति रामकुमार जीसीले दिएको उम्मेदवारी पनि फिर्ता भएन ।

सुनकोशी गाउँपालिकाका निर्वतमान अध्यक्ष श्रवणकुमार जीसी (विनोद) का भाइ रामकुमारले स्थानीय चुनावमा एमाले र माओवादीबीच गठबन्धन गराएर आफूहरुलाई हराएको भन्दै सापकोटाविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

स्थानीय निर्वाचनमा सुनकोशी गाउँपालिकामा एमाले र माओवादीबीच गठबन्धन भएको थियो । गठबन्धनका कारण कांग्रेस उम्मेदवार पराजित हुनुपरेको बदलाको लागि पनि जीसीको उमेदवारी कायम नै रहेको कांग्रेस सुनकोशीका एक नेताले जानकारी दिए ।

त्यस्तै प्रतिनिधिसभा १ प्रदेश सभा (क) मा सरल सहयात्रीविरुद्ध नवप्रवेशी कांग्रेसका स्थानीय कार्यकर्ता भक्त भण्डारीले दिएको उम्मेदवारी पनि कायम नै रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । भण्डारीकी श्रीमती मञ्जु नेपाल भण्डारी स्थानीय निर्वाचनमा एमालेको तर्फबाट सुनकोशी गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार भएकी थिइन् । एमाले र माओवादीबीच गठबन्धन भएपछि उम्मेदवारी दर्ता गरे पनि उनलाई एमालेले उम्मेदवार फिर्ता गराएको थियो ।

एमाले र माओवादीबीच गठबन्धन भएर भण्डारीको उम्मेदवारी एमालेले खोसेपछि उनी कांग्रेसमा प्रवेश गरेकी थिइन् । अहिले श्रीमानलाई माओवादी उमेदवारविरुद्ध प्रदेशसभामा उठाइएको चर्चा कांग्रेस वृत्तमा छ ।

राप्रपाका बागीले फिर्ता लिए मनोनयन

राप्रपाका तीन आधिकारिक उम्मेदवारविरुद्ध पार्टीकै नेताले दिएको बागी उम्मेदवारी फिर्ता भएको छ । राप्रपाले क्षेत्र नं २ मा नर्सिङ (गोपाल) श्रेष्ठलाई आधिकारिक उम्मेदवार बनाएको थियो । उनीविरुद्ध राप्रपा केन्द्रीय सदस्य यस्मिन ढुंगानाले बागी उम्मेदवारी दिएकी थिइन् । तर, बुधबार उनले उम्मेदवारी फिर्ता लिएकी छन् ।

क्षेत्र नं २ (क) प्रदेशसभामा राप्रपाका पूर्वक्षेत्रीय अध्यक्ष फणिन्द्र दाहालले बागी उम्मेदवारी हाले पनि फिर्ता लिएका छन् । राप्रपाले यो प्रदेशमा बाबुराम खड्कालाई आधिकारिक उम्मेदवार बनाएको थियो ।

त्यस्तै (ख) प्रदेशमा बागी उम्मेदवारी दिएका राप्रपाकै योगेन्द्रराज सिग्देलले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यो प्रदेशसभामा राप्रपाले गोविन्द गुरुङलाई उम्मेदवार बनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका अनुसार अब प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राजनीतिक दल र स्वतन्त्रसहित जम्मा १४ जना उम्मेदवार कायम रहेका छन् । प्रदेशसभा (क) मा ९ र (ख) मा ६ मात्रै उम्मेदवार कायम रहेका छन् ।

क्षेत्र नम्बर २ मा जम्मा १३ उम्मेदवार कायम भएका छन् । प्रदेशसभा (क) मा ७ र (ख) मा ८ उम्मेदवार कायम रहेको निर्वाचन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर