रुपन्देही २ मा विष्णु पौडेलको प्रतिस्पर्धी खोज्दै सत्ता गठबन्धन – Nepal Press

रुपन्देही २ मा विष्णु पौडेलको प्रतिस्पर्धी खोज्दै सत्ता गठबन्धन

रुपन्देही । नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङलाई बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि रुपन्देही क्षेत्र नं २ चर्चामा आएको छ । गुरुङ सत्ता गठबन्धनका साझा उम्मेदवार दिए ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारी दिएको यो क्षेत्रमा सत्ता गठबन्धनका मुख्य उम्मेदवारको मनोनयन खारेज भएको हो । अब पौडेलको प्रतिस्पर्धी को हुने भन्ने विषयमा बहस सुरु भएको छ । गठबन्धन दलमा रहेका कांग्रेस-माओवादीका नेताहरु भने नेताहरुले समयमै बुद्धि पुर्‍याउन नसक्दा मैदान खाली भएको गुनासो गरेका छन् ।

यो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका १८ जनामध्ये गुरुङसँगै तीन जनाको मनोनयन आयोगले खारेज गरेको छ । अब चुनावी मैदानमा १५ जना उम्मेदवार रहेका छन् । उनीहरुमध्ये सांगठनिक रुपमा ठूला दलमा आवद्ध रहेकाहरु नभएकाले एमाले नेता पौडेललाई सहज भएको धेरैले आंकलन गरेका छन् ।

एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी खारेज भएपछि अब गठबन्धनका दलहरुले कुन उम्मेदवारलाई समर्थन गर्छ भन्नेतर्फ चासोका साथ हेरिएको छ ।

गुरुङसँगै स्वतन्त्र उम्मेदवारीको प्रचार गरेका हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. निकोलस (कमल) भुसाल, स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी खारेज गरिएको छ । अब गठबन्धनले साना दलबाट उम्मेदवारी दिएकाहरूलाई समर्थन गर्न सक्ने बुझिएको छ।

सत्ता गठबन्धन भने अहिले कानूनी परामर्शमा जुटेको र गुरुङकै प्रकृतिको मुद्दा अन्य उम्मेदवारहरूको पनि रहेकोमा अरुको सदर हुँदा गुरुङको उम्मेदवारी खारेज भएपछि अदालत जाने तयारी गरिएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले जानकारी दिए ।

आयोगको निर्णय अन्तिम भइसकेकाले अब कानूनी रुपमै उनको उम्मेदवारी खारेज भएको कानूनविद्हरुले बताएका छन् । जसले गठबन्धनको ठूलो दल कांग्रेसका नेताहरु अदालत जाने पक्षमा छैनन् ।

अब गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र स्वतन्त्र उम्मेदवार रुपसिंह थापामध्ये एकलाई समर्थन गर्ने गरी छलफल सुरु भएको एक नेताले बताए ।

सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङविरुद्ध कालोसूचीमा नाम चढेको भन्दै उजुरी परेको थियो । तोकिएको अवधिमा गुरुङले कालोसूचीबाट हटेको प्रमाण पेस नगरेपछि निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । गुरुङले अन्तिम समयसम्म पैसा बुझाउने प्रयास गरे पनि ठूलो रकम भएकाले जुटाउन नसकेको बुझिएको छ । तर, सो पार्टीका नेताहरुले सेटिङमा त्यो पैसा बुझाउन नदिइएको आरोप सामाजिक सन्जालमा लगाइरहेका छन् । उनीहरुले कालोसूचीमा रहेको कम्पनी गुरुङको मात्र नभएको र उनी एक साझेदारमात्रै भएको दाबी गरेका छन् ।

गुरुङसहित एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालसहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जीत विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरूद्ध २०७६ साउन ६ गते मुद्दा दर्ता भएको थियो ।

काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भिक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जीव राई र शक्तिमान डंगोलसमेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा २०७८ मंसिर १२ गते उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो ।

गुरुङलगायतलाई जनही दुई हजार जरिवाना र २ करोड २५ लाख रूपैयाँको चेक काटिएको मितिदेखि २०७६ साउन ६ गतेसम्मको सयकडा १० प्रतिशतका दरले कानूनबमोजिमको ब्याजसहित भुक्तानी दिनुपर्ने फैसला गरेको थियो।

गुरुङको उक्त कम्पनीले २०७३ साल फागुन २० गते २५ लाख, फागुन ३० गते २५ लाख, चैत १५ गते २४ लाख, चैत ३० गते ५४ लाख, २०७४ वैशाख १५ गते २५ लाख, वैशाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रूपैयाँ गरी ७ वटा चेक दिएकामा बैंकमा पर्याप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरूविरूद्ध उजुरी परेको थियो ।

राजु गुरुङका सर्मथकहरु उनलाई अदालतले दोषी करार गरेको भए मुद्दा खारेज हुने, अदालतमा विचाराधीन रहेको मुद्दालाई जोडेर उम्मेदवारी खारेज गर्न नमिल्ने र अब उम्मेदवार आफैंले निर्वाचन अधिकृतविरुद्ध मुद्दा हाल्नुको विकल्प नभएको र त्यो मुद्दाको किनारा लागेपछि मात्रै चुनाव हुनुपर्ने अन्यथा अदालतले मुद्दाको फैसला गरिहाल्नुपर्ने र यदि उनी दोषी रहेको प्रमाणित भएमा चुनाव जिते नै पनि स्वतः निलम्बनमा पर्ने दाबी गर्न थालेका छन् ।

अब को-को बाँकी छन् उम्मेदवार ?

प्रतिनिधिसभा निर्वाचन कार्यालय रुपन्देही क्षेत्र नं २ ले कानूनबमोजिम कायम रहेका १५ उम्मेदवारको सूची मंगलबार राति प्रकाशन गरेको छ । त्यसमध्ये ८ जना स्वतन्त्र छन् भने अन्य विभिन्न राजनीतिक दलबाट छन् ।

स्वतन्त्र उम्मेदवारी दिनेहरूमा केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुल्सीराम यादव, प्रदीप ज्ञवाली, रुपसिंह थापा, विष्णु विश्वकर्मा र सुरेन्द्र भारी छन् ।

दलीय उम्मेदवारी दिनेहरुमा एमालेका विष्णु पौडेल, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाली कांग्रेस बीपीका नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेसनका दीपक थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, नेपाल दलित पार्टीका राजीव शाही र जनमुक्ति पार्टीका केशवबहादुर थापामगर रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर