उम्मेदवारलाई चुनाव चिह्न यसरी वितरण हुँदैछ आज – Nepal Press

उम्मेदवारलाई चुनाव चिह्न यसरी वितरण हुँदैछ आज

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारलाई आज बुधबार चुनाव चिह्न वितरण गर्ने भएको छ । राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलका उम्मेदवारले मात्र सम्बन्धित दलको निर्वाचन चिह्र पाए पनि अन्य उम्मेदवारलाई भने निर्वाचन आयोगले निर्वाचन चिह्नको समूहमध्येबाट कुनै एउटा चिह्न वितरण गर्नेछ ।

आयोगले स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दा स्वतन्त्र उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरेका निर्वाचन चिह्नको समूहबाट कुनै एउटा चिह्न प्रदान गर्नेछ । निर्वाचन चिह्न उम्मेदवार आफैंले वा उम्मेदवारले तोकेको प्रतिनिधिलाई प्रदान गरिन्छ ।

निर्वाचन अधिकृतले उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन चिह्नको समूहबाट कुनै एउटा रोज्न लगाउनेछ । निर्वाचन चिह्न प्रदान गर्दा कुनै उम्मेदवार वा उम्मेदवारको प्रतिनिधि उपस्थित नभएमा अन्य उम्मेदवारले रोजिसकेर बाँकी रहेका चिह्न मध्येबाट कुनै एउटा चिह्न निर्वाचन अधिकृतले तोकिदिनेछ ।

एकभन्दा बढी उम्मेदवारले एउटै निर्वाचन चिह्न रोजेमा त्यस्ता उम्मेदवारको नामको नेपाली वर्णानुक्रमको आधारमा जसको नाम पहिला आउँछ, उसैले प्राथमिकता पाउनेछ । आयोगले उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका उम्मेदवारलाई मात्र निर्वाचन अधिकृतले निर्वाचन चिह्न वितरण गर्नेछ ।

आयोगले वितरण गरिसकेको निर्वाचन चिह्न फेरि परिवर्तन हुनेछैन । उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि निर्वाचन अधिकृतले एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्नेछ । त्यही निर्वाचन चिह्न मतपत्रमा राखिनेछ ।

आयोगले कुनै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा उसलाई प्रदान गरिएको निर्वाचन चिह्न परिवर्तन हुनेछैन । त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित अयोगमा उजुरी दिएमा निजको सदस्यता भने खारेज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर