मलाई चितवनमै रोक्न एमालेबाट निर्वाचित जनप्रतिनिधि बालुवाटार आएका थिए: प्रचण्ड (भिडिओ) – Nepal Press

मलाई चितवनमै रोक्न एमालेबाट निर्वाचित जनप्रतिनिधि बालुवाटार आएका थिए: प्रचण्ड (भिडिओ)

केपीसँग मिलेको काम लागेन, अब बाबुरामजीसँग एकै ठाउँमा हुन्छौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई चितवनमै रोक्न एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू नै बालुवाटारसम्म आएको बताएका छन् ।

गोरखा २ मा उम्मेदवारी दर्ता गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई अघिल्लो चुनावमै गोरखा आउन प्रस्ताव आएको बताए ।

‘मलाई चितवनका जनताको विश्वास थियो । त्यहाँ विकास निर्माणको लागि कोसिस गरिरहेकै थिएँ । यहाँबाट पटक-पटक मलाई नारायणकाजीसहित नेताहरूले आउन सन्देश दिनुभयो । बाबुरामजीले पनि गोखरा २ मा आउनुपर्छ भनेर जोड दिन थाल्नुभयो’, उनले भने, ‘चितवनमा मलाई रोक्न अभियान नै चल्यो । एक महिना प्रचण्डको लागि दिन्छौं भनेर गठबन्धनले पहल गर्नुभएको थियो । एमालेबाट निर्वाचितहरू पनि मलाई चितवनमै राख्न बालुवाटारसम्म जानुभएको थियो । हाम्रो पार्टीभित्र पनि अन्तद्वन्द्व चल्यो ।’

उनले निरंकुशताविरुद्धको क्रान्तिमा होमिने अन्तिम बैठक पनि गोरखामै भएको स्मरण गरे ।

प्रचण्डले भने, ‘हामी क्रान्तिमा होमिँदा धेरै समय बाँँच्छौं जस्तो लागेको थिएन । हामीसँग पार्टी पनि थिएन । ठूलो शक्ति पनि थिएन । हामीले ठूलो आँट गरेका थियौं । राज्यविरुद्ध लड्छौं भनेर केही समय बाँचौला, केही मरौँला भनेर हामीले त्यही समय फोटो समेत खिचेका थियौं ।’

माओवादी पार्टी विभाजित भएपछि प्रतिक्रािन्तले टाउको उठाउन थालेको उनले बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई स्मरण गर्दै प्रचण्डले प्रतिगमनका विरुद्ध सडकमा गएर गठबन्धन बनाउनुपर्ने अवस्था आइलागेको बताए ।

गठबन्धनकै आडमा तत्कालका लागि प्रतिगमनविरुद्ध विजय हासिल गरेको उनको दाबी थियो ।

‘अहिले बाबुरामजीसँग हामी एकताबद्ध हुने प्रक्रिया सुरू भएको छ । गोरखाबाटै एकता प्रक्रिया सुरू गर्न पाएकोमा खुशी लागेको छ । आजबाट नेपालमा आर्थिक क्रान्तिको सुरूवात गर्ने दिन हुने विश्वास गरेका छौं’, उनले भने, ‘हामीले केपीसँग मिलेर केही नयाँ गर्छौं भन्ने लागेको थियो । तर, काम लागेन । गिरिजाप्रसाद कोइरालासँग मिलेर शान्ति प्रक्रिया गणतन्त्रसम्म पुग्यौं । हामी मिल्दा नयाँ क्रान्ति हुन्छ । फुट्दा खतरा भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर