दशैं बिदामा लुम्बिनीका यी ठाउँ घुम्न उपयुक्त, कसरी पुग्ने ? – Nepal Press

दशैं बिदामा लुम्बिनीका यी ठाउँ घुम्न उपयुक्त, कसरी पुग्ने ?

रुपन्देही । एक हिमाली, ५ पहाडी तथा ६ तराईका जिल्ला मिलेर बनेको लुम्बिनी प्रदेशमा छोटो समयमा घुम्ने मुख्य पर्यटकीय स्थलहरु धेरै छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका यहाँका मुख्य पर्यटकीयस्थललाई सडक सञ्जालले छोएको छ । तर, आन्तरिक तथा बाहय पर्यटकहरु प्रयाप्त सूचना अभावमा सबै स्थानमा पुग्न सकेका छैनन् । पर्यटन व्यवसायीले पनि यसलाई योजना बनाउन सकेका छैनन् ।

घुमफिरका लागि लुम्बिनी प्रदेशका केही गन्तव्य र त्यहाँको विशेषताबारे केही सन्देश दिन खोजिएको छ । पश्चिम कर्णाली पूल प्रवेशद्वारदेखि पश्चिम नवलपरासीको त्रिवेणीसम्म घुमफिर गर्ने स्थान छन् लुम्बिनी प्रदेशमा । सांस्कृतिक, पर्यावरणीय, ग्रामीण बस्ती तथा पुरातात्विक स्थलहरुमा घुमफिर गर्न सकिन्छ ।

लुम्बिनी सेरोफेरो

लुम्बिनी विश्वकै पर्यटकन आकर्षक गन्तव्य हो । यहाँको सबै अवस्था जान्न र घुम्नलाई केही दिनको योजना बनाउनुपर्दछ । लुम्बिनी चिन्न र त्यहाँको वास्तविक सूचना लिन थोरै समयले पुग्दैन । लुम्बिनी आउँदा मायादेवी मन्दिर सबैको रोजाईमा पर्छ । तर लुम्बिनीमा मायादेवी मन्दिरमात्रै होइन, धेरै आकर्षक अन्य बिहारहरु पनि छन् ।

लुम्बिनीमा बिहानदेखि दिनभर बिहार क्षेत्रसहितका क्षेत्रमा घुम्नुपर्छ । जब साँझ पर्छ मायादेवी मन्दिरको क्षेत्र रोज्दा उत्तम हुन्छ । लुम्बिनी साँझको समयमा झन आकर्षक देखिन्छ । सेन्ट्रल क्यानेलको ढुंगामा यात्रा गर्दै शान्ति दीप प्रज्ज्वलन भएको स्थानमा पुगिन्छ । त्यहाँबाट सिधँै मायादेवी मन्दिरसम्म पैदल नै घुम्नुपर्छ ।

तपाईंका सुन्दर तस्वीरहरु साँझको समयमा आकर्षक देखिन्छन् । तर मायादेवी मन्दिर भने साँझ ७ बजे अगावै प्रवेश गर्नुपर्छ । एक रात लुम्बिनीमै बिताए धेरै अनुभव लिन सकिन्छ । बिहानै मायादेवी मन्दिरभित्र प्रवेश गरी केही समय ध्यान गर्नुस् । अनि लुम्बिनी घुमेपछि तिलौराकोट नगई फर्किनु हुँदैन ।

तिलौराकोट

धेरै नेपालीलाई नै लुम्बिनी र तिलौराकोटका विषयमा यथेष्ट जानकारी छैन । बुद्धको गृहनगर र जन्मस्थानका विषयमा र अहिलेका जिल्लाका विषयमा पनि स्पष्ट छैन । बुद्ध जन्मस्थल रुपन्देही र क्रिडास्थल कपिलवस्तु जिल्लामा पर्दछ ।

लुम्बिनी बुद्ध जन्मस्थल हो भने तिलौराकोट बुद्ध क्रिडास्थल । यहाँ घुमिरहँदा पुरातात्विक जानकारी तथा शान्त वातावरणको लाभ लिन सकिन्छ । दोस्रो दिन तिलौराकोट घुमेर देवदह र रामग्रामसमेत पुग्न सकिन्छ । दुई दिन लुम्बिनी क्षेत्र घुम्दा ५० प्रतिशत मात्रै घुमफिर हुन्छ ।

तिलौराकोट कपिलबस्तु जिल्लामा पर्दछ । भगवान गौतमबुद्धले तिलौराकोटमा २९ वर्ष बिताएका थिए । गौतमबुद्धका बुबा शुद्धोधन बस्ने यो तिलौराकोट कपिलबस्तुको सदरमुकाम तौलिहवादेखि तीन किलोमिटर उत्तरमा वाणगंगा खोलाको किनारमा पर्छ ।

तिलोराकोट शिवगढ गाउँसँग जोडिएको छ । यहाँ तीनवटा भग्नावशेष छन् । यहाँ दरबारको भग्नावशेष र पूर्वी पश्चिमी द्वार छन् । तिलौराकोटलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ ।

गौतमबुद्धबारे चासो राखेर अध्ययन गर्न धेरै पर्यटकहरु यहाँ पुग्ने गरेका छन् । भग्नावशेष जीर्ण बन्दै गए पनि निकै शान्त र सुन्दर लाग्ने यो स्थल पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

लुम्बिनीसँगै यससँग जोडिएका बुद्ध सर्किटलाई हेरेर घुम्ने योजना बनाएमा रुपन्देही, कपिलवस्तु, नवलपरामीमा रहेका बुद्धकालीन अवस्थाका बारेमा जान्न सकिन्छ ।

पुथा र सिस्ने हिमाल

पूर्वीरुकुम जिल्लामा पर्ने पुथा र सिस्ने हिमाल लुम्बिनी प्रदेशमा पर्ने प्रमुख पर्यटकीय क्षेत्र हुन् । पुथा लुम्बिनी प्रदेशमा पर्ने सबैभन्दा अग्लो हिमाल हो । समुन्द्र सतहदेखि पुथा ७ हजार २४६ मिटरको उचाईमा छ भने सिस्ने ५ हजार ८४९ मिटरको उचाईमा छ । यी हिमालका वरपर विभिन्न सानाठूला हिम ताल छन् ।

पूर्वी रुकुमको उत्तरपूर्वमा रहेको मैदान डाँडा र खोर्सेबाट सिस्ने हिमाल देख्न सकिन्छ । यी हिमालमा मानिसहरु नचढेकाले कन्या हिमाल पनि भन्ने गरिन्छ । पर्यटकीय हिसाबले निकै मनमोहक यी हिमाललाई लुम्बिनी प्रदेश सरकारले चिनाउन भने सकेको छैन । यी हिमाललाई तराईको बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर विकास गरिनुपर्ने पर्यटन क्षेत्रका विज्ञहरु बताउँछन् । यी हिमाल निकै मनमोहक छन् ।

रुकुमका हिमालसँगै रोल्पा र रुकुमका कतिपय स्थलहरु युद्ध पर्यटनका हिसाबले पनि विकसित हुँदै गएका छन् । रोल्पाको लिवाङ, थवाङ लगायतका युद्ध पर्यटनका क्षेत्रहरु पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । यी युद्ध पर्यटनका क्षेत्रलाई विश्वसामु चिनाउन स्थानीय सरकार तथा प्रदेश सरकारले पहल गर्नुपर्ने देखिन्छ ।

थवाङ, रोल्पा

तपाईंको लामो यात्रा इच्छा र गाउँ हेर्ने चाहान छ भने रोल्पा र रुकुमपूर्व रोज्नुस् । लुम्बिनी प्रदेशको एकमात्रै हिमाली जिल्लाबासीको गाउले जीवन अनुभव गर्नुस् । माओवादी युद्धको केन्द्र रोल्पामा मानिसको जीवन बुझ्न्ुस । यहाँ पर्यटकीय गन्तब्यका थुप्रै स्थानहरु रहेका छन् ।

स्वर्गद्वारी, प्यूठान

लुम्बिनी प्रदेशको अर्काे धार्मिक गन्तब्य प्यूठानको स्वर्गद्वारी हो । स्वर्गद्वारी धार्मिक हिसाबले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरता पनि त्यति नै भरिपूर्ण छ । स्वर्गद्वारी घोराही होलेरी हुँदै जाँदा ५९ किलो मिटर पर्दछ भने प्यूठान जिल्लाको भिग्रीदेखि १४ किलोमिटर पर्दछ । स्वर्गद्वारीबाट आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौं हिमश्रृंखला हेर्न पाइन्छ ।

स्वर्गद्वारीको पसिरबाट धौलागिरि, नीलगिरि, माछापुच्छे«, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायत हिमश्रृंखला देखिन्छन् । तर पनि प्राकृतिक सौन्दर्यले भन्दा धार्मिक कारणले स्वर्गद्वारी चर्चित छ । पाण्डवहरु स्वर्ग जाँदा यहाँको बाटो भएर गएको हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ ।

झट्ट हेर्दा नौवटा मन्दिर जस्तो देखिने स्वर्गद्वारीको मन्दिरमा यज्ञशाला भित्र पाञ्चायन देवदेवी, गणेश, सूर्य, विष्णु र शिवका मूर्तिहरु छन् । चार दिशाका कोठामा अग्निकुण्ड र बीचको यज्ञशालामा होम कार्य हुन्छ । स्वर्गद्वारीमा वटुकले पूजा, वेदपाठ, भागवत पाठ, हवन, रुद्राभिषेक गर्छन् । स्वर्गद्वारीमा गाईको महत्व बढी मानिन्छ । महाप्रभूका पालामा स्वर्गद्वारीमा हजारौं गाईहरु थिए । महाप्रभु स्वयंले पनि गाईको सेवा गरेको इतिहास छ । स्वर्गद्वारीमा गुरुकुल विद्यालय छ ।

गुरुकुल विद्यालयमा वेद, रुद्री, चण्डी र व्याकरण पढाइन्छ । रोल्पा जिल्लाको रुम्टी गाउँमा वि.स.१९१६ मा जन्मनु भएका १०८ महाप्रमु बाल तपस्वी महाप्रभू १९५१ मा स्वर्गद्वारीमा आएपछि वेदका मन्त्रद्वारा अग्नि प्रज्वलित गरी १९५२ बैशाख पूर्णिमादेखि अखण्ड महायज्ञ सुरु गर्नु भएको हो । जुन विश्व शान्तिको लागि सञ्चालित हवनकुण्ड बेदको मन्त्रद्वारा अग्नि स्थापना गरी दीप प्रज्वलित भएको हो । हवनकुण्डमा हालसम्म निरन्तर अग्नि जलिरहेको छ । यहाँ नेपालका साथै भारतीय पर्यटकको विशेष रोजाई पर्ने गरेको छ ।

बर्दियाको राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्ज घुमफिरका लागि निकै उत्तम छ । बाघ, हात्तीसहित अन्य जंगली जनावर तथा दुर्लभ पंक्षीहरुको अवलोकनका लागि बर्दिया निकुञ्ज निकै उत्कृष्ट छ । यहाँ घुमफिरका लागि कम्तीमा दुई दिन आवश्यक हुन्छ । पर्यटकहरु वन्यजन्तु हेर्ने गरी जंगल सफारीका लागि यसलाई प्राथमिकतामा राख्छन् ।

नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज खासगरी बाघ हेर्नका लागि कहलिएको छ । निकुञ्ज क्षेत्रमा ५४ प्रजातिका स्तनधारी, चार सय प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छन् । तपाईंलाई थारु संस्कृति मन पर्छ भने बर्दिया खानी हो । यहाँको डल्ला गाउँमा खोलिएको होमस्टे पर्यटकमाझ प्रिय छ । निकुञ्ज नजिकै रहेको ठाकुरद्वारा मन्दिर पनि धार्मिक हिसाबले निकै महत्वपूर्ण छ ।

बुटवलबाट यात्रा सुरु गरियो भने पहिलो दिन सिधैँ कर्णाली पूल अर्थात लुम्बिनी प्रदेशको प्रवेश विन्दुमा पुगिन्छ । कर्णाली पूलका दृश्यहरु कैद गरेर बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा साँझको बास बस्दा निकै उपर्युक्त हुन्छ । त्यहाँ स्थानीय थारु संस्कृतिको अवलोकन गराउनेछन् । थारु परिकारहरु खान पाइनेछ ।

अर्काे दिन बिहानै बर्दिया निकुञ्जभित्र प्रवेश गर्नुस् । बाघ तपाईंको प्रतिक्षामा बसिरहेका हुन्छन्, हेरेर आनन्द लिनुस् । प्रकृतिसँग रमाउँदै निकुञ्जभित्र बस्नुको खास आनन्द यहाँ पाइन्छ । बर्दियासँगै बाँकेका पर्यटकीय क्षेत्र घुमफिर गर्नुछ भने अर्काे एक दिन होमस्टेमा बिताएर पनि फर्किन सकिन्छ ।

गुल्मीको रेसुंगा तपोभूमि

पहाडतिरको घुमफिर केही जटिल हुन्छन् । तर यो समय आकाश खुलेको सुन्दर दृश्य भने पहाडकै टुप्पोबाट हेर्न सकिन्छ । यसको उत्तम गन्तब्य भनेको गुल्मीको रेसुंगा हो । बुटवलबाट यात्रा गर्नुहुन्छ भने रेसुंगा भ्रमणलाई दुई दिन राख्नुस् । पहिलो दिन बिहान सिद्धबाबाको दर्शन गरेर पाल्पाको श्रीनगरमा केही समय रमाउन सक्नुहुन्छ । श्रीनगरपछि भैरवस्थानको संस्कृति हेर्ने मौका पनि छ ।

गुल्मीको रिडी क्षेत्र धार्मिक पर्यटकीय भूमि हो । यहाँको अवलोकन र दर्शन गरेर सिधैँ रेसुंगाका लागि यात्रा गर्नु उपर्यक्त हुन्छ । रेसुंगामा आवासको व्यवस्था भएकाले उही बस्दा पनि हुन्छ तर सदरमुकाम तम्घासको चिसो मौसमको अनूभव लिदा अझैँ राम्रो हुनेछ ।

तम्घासबाट रेसुंगा पक्की सडकबाटै पुग्न सकिन्छ । पोखरीको दर्शन गरेर मन्दिरका लागि कम्तिमा ३० मिनेटको पैदल यात्रा हुनेछ । मन्दिरमा अखण्ड अग्नि हवन कुण्ड छ । तामाको छाना भएको भव्य मन्दिर छ । धार्मिक महत्वका साथै यो समयमा रेसुंगाबाट प्रसस्त हिमाल र खुलेका पहाड हेर्न सकिन्छ । यहाको मनमोहक दृश्यले गुल्मीमा फेरि जानका लागि लोभ्याउनेछ ।

गुल्मीबाट अर्घाखाँची हुँदै फर्किन पनि सकिन्छ । जसको लाभ सुपादेउराली मन्दिर दर्शनसहितका अन्य क्षेत्रको घुमफिर हुनेछ ।

पाल्पाको रानीमहल

नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहल एक प्रसिद्ध पर्यटकीय स्थल हो । विक्रम सम्वत् १९५० देखि १९५४ सम्म चार वर्ष लगाएर बनाइएको कलात्मक रानीमहल दरबार पनि पर्यटकको मुख्य रोजाई बन्ने गरेको छ ।

पाल्पा गौंडाका तत्कालीन जनरल खड्ग शमशेरले दिवंगत रानी तेजकुमारीको सम्झनामा बनाएको यो रानीमहल दरबार बेलायती इन्जिनीयरले डिजाइन गरेका हुन्, जो निकै कलात्मक छ ।

खासगरी प्रेमको प्रतीकका रुपमा रहेको यो महल हेर्न मुख्यतः प्रेम दिवसको दिन पर्यटकको निकै भिड लाग्ने गर्दछ । नयाँ वर्षको पहिलो दिन र प्रेम दिवस (१४ फेब्रुअरी) का दिन यहाँ अत्यधिक पर्यटक पुग्ने गर्दछन् । अन्य दिन पनि यहाँ पर्यटकहरु घुम्न जाने गरेका हुन्छन् ।

सदरमुकाम पाल्पाबाट १३ किलोमिटर उत्तरतर्फ बौवागुम्बास्थित कालिगण्डकीको किनारमा ठूलो चट्टानमाथि यो दरबार अवस्थित छ । महलभित्र पोखरी, मन्दिर, बगैंचा आदि छन् ।

कालिगण्डकीको तिरमा मनोरम प्राकृतिक स्थलमा रहेको रानीमहललाई तानसेन नगरपालिकाले संग्रहालय बनाएर संरक्षण गरेको छ । तानसेनबाट पैदल हिँडेरै पनि साढे दुई घण्टामा पुग्न सकिने रानीमहल पछिल्लो समय पाल्पामा पहिलो पर्यटकीय स्थलको रुपमा परिचित छ । चिसो मौसम, स्वच्छ वातावरण रहेको रानीमहल नजिकै खाना तथा बास बस्नका लागि होटल तथा रेष्टुराहरु पनि सञ्चालित छन् ।

भैरवस्थान
पाल्पाको रिब्दीकोट गाउँपालिका– ४ मा पर्ने भैरवस्थानको अग्लो डाँडोमा भैरवको मन्दिर छ । ११ रोपनी चार आना क्षेत्रफलमा रहेको यो विशाल भैरव मन्दिर पाल्पाका तत्कालीन सेन वंशीय राजाले स्थापना गरेका हुन् ।

धार्मिक पर्यटनको हिसावले निकै महत्वपूर्ण रहेको यो मन्दिरमा पाल्पाका राजा मुकुन्द सेनले काठमाडौंबाट भैरवको मूर्ति ल्याएर वि.सं. १५१५ तिर स्थापना गरेका थिए । भैरवको मूर्ति भु्इँ तलामा छ । नजिकै कालीको मूर्ति छ । मन्दिरमा भाकल पूजा, पन्चवली पूजा, क्षमा पूजा आदि गरिन्छ । यो मन्दिरमा चढाइने प्रसादको रुपमा रोट प्रख्यात छ ।

यहाँ ठूलो त्रिशुल राखिएको छ । जनरल खड्ग शमशेरले आफ्नी श्रीमतीको चाहनामा यो त्रिशुलमा सुनको जलप लगाइदिएको भनाइ छ । । प्राकृतिक मनोरम स्थलमा रहेको मन्दिरको दक्षिणतिर रोट पकाउने रोटघरहरुले झनै आकर्षण बढाएका छन् । सफा, शान्त, सुन्दर मन्दिर परिसरमा धार्मिक पर्यटकहरु पूजाआजा गर्न र तस्बिर खिचाउन लालयित हुन्छन् । यहाँ बली चढाएका पशुपंक्षीलाई प्रसादको रुपमा तयार गरिदिने व्यवस्था पनि छ ।

मन्दिर नजिकै केही व्यवसायीले गत वर्षदेखि जीपलाईन पनि निर्माण गरेका छन् । जीपलाईन खेल्नका लागि पनि पर्यटक आउने गर्दछन् । पाल्पाको सदरमुकाम पाल्पाबाट १० किलोमिटर पश्चिममा रहेको भैरव मन्दिर पनि पाल्पाको एक प्रमुख पर्यटकीय स्थल हो । यहाँ आन्तरिक पर्यटक मात्र होइन, बाह्य पर्यटक पनि उल्लेख्य मात्रामा आउने गर्दछन् ।

अर्घाखाँचीको सुपादेउराली

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्कबाट ४७ किलोमिटर दक्षिणतर्फ कपिलबस्तुको गोरुसिङ्गे रोडमा पर्ने यो मन्दिर नरपानी र फलामे पहाडको खोँचमा अवस्थित छ । समुन्द्र सतहबाट करिब ४ हजार ५ सय फिटको उचाईमा रहेको यो मन्दिर बाइसे चौबिसे राज्यका बेला खाँचीकोटका राजाले निर्माण गरेको किन्बदन्ती छ ।

धर्मात्मी मानिसले मागेको आशिष दिने मान्यता रहेको सुपादेवीको यो मन्दिरमा धार्मिक पर्यटकको भिड हमेसा हुन्छ । भाकल गरेर फल प्राप्त भएपछि पनि देवीलाई ढाँटेको कारण एक लाउरेलाई यो भिरमा देवीले टाँसेको भन्ने मान्यता पनि चर्चामा छ । मन्दिर नजिकैको भिरलाई लाउरे टाँसिएको भिर नामकरण गरिएको छ ।

स्थानीयको भनाइ अनुसार प्राचिन कालमा एक युवकले आफू लाहुरे (भारतीय सेना) हुन पाउँ भनी भाकल गरेको र लाहुरे भइसकेपछि देवीलाई छलरे अर्कै बाटो प्रयोग गर्दा उनी भिरमा टाँसिएर मृत्यु भएको थियो । जिल्लाको मध्यभाग देवीस्थलमा पर्ने यो मन्दिरमा बली दिएर विभिन्न पूजाआजा गरिन्छ भने विवाह, ब्रतवन्ध पनि गरिन्छ ।

बली चढाएका पशुपंक्षी घरमा नलगी नरपानी डाँडामा प्रसाद बनाएर खाने प्रचलन छ ।
नरपानीको सुन्दर डाँडाबाट हिमशिखरहरु हेर्दै सुपादेउराली मन्दिरमा देवीको पूजा गर्न नेपालीमात्र नभइ भारतीय नागरिकसमेत आउने गर्दछन् । धार्मिक पर्यटनको केन्द्र बनेको सुपादेउरालीको प्राकृतिक सुन्दरता र मन्दिर दर्शनका लागि एकपटक पुग्नै पर्ने ठाउँ हो यो ।

दाङको धारापानी

दाङ जिल्लाको सुन्दर सहर घोराही नजिकै रहेको धारापानी क्षेत्र धार्मिक पर्यटनको प्रमुख स्थल हो । यहाँ विश्वकै अग्लो दाबी गरिएको पञ्च धातुमिश्रित त्रिशुल स्थापना गरिएको छ । यहाँ पाण्डेश्वरको मन्दिर छ, जहाँ पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर छन् । यहाँ साढे ५५ फिट उचाइको त्रिशुल, १०८ शिवलिङ्ग, १०८ जोडी वरपिपल, १०८ सीमका वृक्ष, ओम कुण्ड आदि आकर्षणका रुपमा छन् ।

धारापानीमा तीर्थाटन लागि धेरै आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । खासगरी शिवरात्रिका बेला यहाँ भब्य मेला लाग्दछ । पाण्डेश्वर धामका रुपमा परिचित यस धाम प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँ गुरुयोजना बनाएरै भौतिक संरचना बनाउने काम भइरहेको छ ।
यस आसपास दर्जनौं जलाशय तथा कुण्ड छन् । त्यस्तै तुल्सीपुरको थारु संग्रहालय पनि एक पर्यटकीय स्थल बनेको छ । थारु संस्कृतिको अध्ययनका लागि यो पनि पुग्नैपर्ने एक ऐतिहासिक स्थल बनेको छ ।

नेपालगन्जको बागेश्वरी मन्दिर

बाँके जिल्लाको मुख्य सहर नेपालगञ्ज बजारमा अवस्थित बागेश्वरी मन्दिर धार्मिक पर्यटनको हिसाबले निकै चर्चित र महत्वपूर्ण मानिन्छ । यहाँ सतीदेवीको जिब्रो पतन भएको जनविश्वास गरिन्छ । यो मन्दिरमा पूजाआराधना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । यहाँ गणेश, जुंगे महादेव आदिको मूर्ति स्थापना गरिएको छ ।

यहाँ पूजा आराधना गर्न भक्तजनको निकै भिड हुने गर्दछ । बागेश्वरी माताको पूजा गर्न आसपासका जिल्ला दाङ, बर्दिया, सुर्खेत, दैलेख तथा छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । धार्मिक पर्यटनको केन्द्र बन्दै गएको यो मन्दिर हेर्न लायक छ ।

संस्कृतविद् राजेन्द्रकुमार आचार्यको रोजाईमा लुम्बिनीका प्रमुख १५ पर्यटकीय स्थलहरूः
१. लुम्बिनी, गैडहवाताल, गजेडीताल, सैनामैना, पर्रोहा, नरैनापुर र बैठौलिया ताल, फूलबारी, जितगढी
२. तिलौराकोट, गोठिहवा, निग्लिहवा, जगदीशपुरताल र तौलेश्वर
३.स्वर्गद्वारी धाम, गौमुखी र भित्रीकोट लिङको देवाली
४. रेसुङ्गा धाम, धुर्कोट गुफा, राङदल गुल्मी दरबार
५. बागेश्वरी, रानीतलाउ र जुँगे महादेव
६. सुपादेउराली, सेललेङ, खाँचीकोट र ठाडादह
७. पाणिनि तपोभूमि पणेना, उलुकछत्र , बलकोटपौवा, मालारानी, अर्घादरबार
८. बाह्रकुने ताल, जखेराताल, ठुलो त्रिशूल, रिहार
९. दङ्गीशरणको दरबार परिसर
१०. भैरवस्थान, तानसेन, बगनासकाली, रानीमहल, गोखुंगा, सत्यवती, सिद्धबाबा
११. बर्दगोरिया, रामग्राम स्तुप, त्रिवेणी धाम, महामाया मन्दिर
१२. ठाकुरद्वारा, चिसापानी, बर्दिया राष्ट्रिय निकुञ्ज
१३. रिडी, रुद्रवेणी, सत्यवती
१४. सिस्ने हिमाल, रुक्मिणी दह, स्यार्पुताल, डिग्रीसाई मेला
१५. रुमटीगढी, होलरी, साँगुरीखोला, जलजला

पर्यटनविद् युवराज कंडेलको रोजाईमा प्रदेशका १५ पर्यटकीय स्थलहरु
१. पुर्वी पाल्पाका मित्याल, बहादुरपुर, रहवास र माथागढी
२. सुस्ता र रामग्राम छेउछाउ
३. देवदह
४. नूनमार्ग ( बुटवल ,नुवाकोट , मस्याम)
५. पुर्वी अर्घाखाँचीको बल्कोट, खिदिम
६. मर्चवारको ग्रामीण जीवन
७. लुम्बिनी सेरोफेरो
८. बाणगङा र तौलिहवा
९. प्युठानको गौमुखी र स्वर्गद्वारी
१०. दाङको गढवा र राजपुर गाउँपालिका ( डुडुवा पहाड क्षेत्र)
११. रोल्पाको होलेरी, थवाङ्ग र जलजला
१२. रुकुम पुर्वको रुकुमकोट, तकसेरा, काक्री, लुकुम
१३. बाके राष्ट्रिय निकुन्ज, राप्तीपारी
१४. बर्दिया राष्ट्रिय निकुन्ज
१५. बर्दियाको राजापुर टापु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर