अर्गानिक उत्पादन बढाउन वानस्पतिक विषादी उपयुक्त – Nepal Press

अर्गानिक उत्पादन बढाउन वानस्पतिक विषादी उपयुक्त

रुपन्देही । अर्गानिक उत्पादन बढाउन वानस्पतिक विषादी उपयुक्त हुने सुझाव विज्ञ तथा सरोकारवालाले दिएका छन् । जैविक मल र वानस्पतिक विषादीका बारेमा किसानहरुलाई जागरुक गराउनसके अर्गानिक उत्पादन बढाउन सकिनेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।

मानव स्वस्थ्यमा प्रतिकूल असर पार्ने खालका खाद्यान्नको प्रयोग बढिरहेको वेला त्यसलाई कम गर्न वानस्पतिक विषादी नै उपयुक्त हुने सम्बन्धित क्षेत्रका विज्ञहरुले औंल्याएका छन् । रासानिक मलको बढ्दो प्रयोगले कृषियोग्य माटोमा नै असर गर्ने र यो कृषि क्षेत्रका लागि चुनौती बनिरहेका अवस्थामा विभिन्न खालका विषादीहरुको प्रयोगले मानव स्वास्थ्यमा अर्को चुनौती थपिएको भन्दै सरोकारवालाहरुले चिन्ता पनि व्यक्त गरेका छन ।

लुम्बिनी जैविक विषादी तथा एग्रो संस्था बुटवल १३ ले वानस्पतिक विषादीको प्रयोग, समस्या एवम् समाधान विषयमा सरोकारवालाबीच गरेको अन्तरसंवादमा सहभागीहरुले शहरी क्षेत्रमा कौसी तथा करेसाबारी खेतीलाई अर्गानिक बनाउन वानस्पतिक विषादीको प्रयोग उपयुक्त हुने जोड दिएको छ । स-सानो क्षेत्रमा थोरै खेती गरी राम्रो उत्पादन गर्न वानस्पतिक विषादीको प्रयोगसँगै जैविक मलको प्रयोग उपयुक्त हुने उनीहरुले बताए । अन्यत्र पनि ठूलो क्षेत्रमा अर्गानिक खेती गर्नेहरुका लागि वानस्पतिक विषादी उपयुक्त हुने उनीहरुको भनाइ छ ।

कौसी खेती गरिरहेकादेखि विभिन्न कृषक समूहमा आवद्ध कृषकहरुका अतिरिक्त कृषिसँग सम्बन्धित सरकारी कार्यालयका व्यक्तित्वहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्थाका सल्लाहकार डीआर घिमिरेले नेपाल आयात हुनेमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेको तथा १५ प्रतिशत विषादीमात्र अरू बालीमा प्रयोग हुने गरेको बताए । बढ्दो विषादीको प्रयोगका खाद्यान्नले विभिन्न खालका स्वास्थ्य समस्या ल्याउने भन्दै उनले जैविक वानस्पतिक विषादीको प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याए ।

प्राकृतिक स्रोतहरु मिसाइ बनाइएको झोल वा जीवित सूक्ष्म जीव प्रयोग गरी रोग कीराहरुको रोकथाम गर्ने विधि नै जैविक विधि भएको र जैविक विधिले रोगकीराबाट बालीलाई बचाउनुका साथै मानव स्वास्थ्यको पनि सुरक्षा गर्ने बताउँदै उनले विषादीलगायत हानिकारक तत्व प्रयोग नगरी गरिने जैविक खेतीतर्फ जोड दिनुपर्ने बताए ।

उनले जैविक खेती बढाउन सरकारी नीतिमा आवश्यक परिवर्तनका साथै भएका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिए । हाल प्रयोगमा ल्याइएको वानस्पतिक विषादीको ल्याब परीक्षण गरिनुपर्ने भन्दै घिमिरेले मानव स्वास्थ्यमा घातक असर पर्ने गरी कृषि उत्पादनमा प्रयोग भइरहेको रासायनिक विषादी न्यूनीकरण गर्न यसको विकल्प खोजीसँगै सचेतना विस्तार गर्नुपर्ने बताए ।

बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जीसीले बुटवलमा जैविक उत्पादन बढाउन विभिन्न कार्यक्रम अगाडि बढाइएको बताए । उनले १६ वटा कृषक समूह, २४ वटा कृषि सहकारीलगायत मार्फत विषादी प्रयोग कम गर्दै लैजान विभिन्न पहल भएको धारणासमेत राखे । त्यस्तै कौसी तथा करेसा खेतीलाई ५ हजार घरधुरीबाट ७ हजार घरधुरीमा लैजाने गरी योजना अगाडि बढाइएकोसमेत बताए ।

लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्रालय खाद्य सुरक्षा महाशाखा प्रमुख शिवप्रसाद अर्यालले कृषि उत्पादन र बजारीकरणमा कृषकहरु सँगसँगै अगाडि बढ्न मन्त्रालयले कृषकहरु तथा समूहहरुसँग छलफल गर्दै अगाडि बढ्ने बताए ।

कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख सन्देश धितालले उत्पादन बढाउन माटोलाई जीवित राख्दै खाद्यान्नमा सुरक्षित रहन कृषि क्षेत्रका समस्याहरु समाधान गर्न कृषक समूहहरुसँग छलफल गर्दै अगाडि बढ्ने बताए ।

लुम्बिनी जैविक विषादी तथा एग्रो संस्थाकी अध्यक्ष रीता घिमिरेले किसानका समस्या अगाडि ल्याउन र समस्या समाधानमा मद्दत पुगोस् भनेर कार्यक्रम गरिएको भन्दै जैविक विषादीको प्रयोगका बारेमा चेतना विस्तार जरुरी रहेको धारणा राखिन् ।

कार्यक्रममा उपभोझा हित संरक्षण मञ्चका तेजकुमार पाठक, अखिल नेपाल किसान महासंघका महेन्द्र गिरी, संस्थाका सञ्चालक मधुकला कुँवर, शान्ता घिमिरेलगायतले रासायनिक मल र विषादीको प्रयोगमा कमी ल्याउन वानस्पतिक विषादीको प्रयोग बढाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा रामबहादुर राना, दुर्गाप्रसाद घिमिरे, सावित्रा रेग्मीलगायतले कृषि क्षेत्रका विभिन्न समस्याहरु राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर