महाअभियोग सिफारिस समिति बैठक बस्दै – Nepal Press

महाअभियोग सिफारिस समिति बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक शनिबार बस्दैछ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा आज अपरान्ह १२ः३० बजे सिफारिस समितिको बैठक बस्ने भएको हो ।

असोज १ गते हाल कायम प्रतिनिधिसभाको आयु सकिँदैछ । यसअघि प्रतिनिधिसभाबाट चोलेन्द्रविरुद्धको महाभियोग नटुंग्याए के हुन्छ ? भन्ने बहस अहिले चर्चामा छ । यदि प्रतिनिधिसभाबाट महाअभियोग नटुंगिए निलम्बित प्रधानन्यायाधीश राणा असोज २ गते सर्वोच्च अदालत आउनसक्ने चर्चा चलेको छ ।

यहीबीचमा महाअभियोग सिफारिस समितिको बैठक बस्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । समितिसमक्ष चोलेन्द्रले आफ्नो जवाफ दिइरहेका छन् । महाअभियोग सिफारिस समितिमा ११ सदस्य छन् । जसमा कांग्रेसबाट मीनबहादुर विक र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा, एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङफे र कृष्णभक्त पोखरेल तथा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ र जसपाबाट प्रमोद साह छन् ।

यो समितिले कारबाही प्रारम्भ गरेको मितिले बढीमा तीन महिनाभित्र सिफारिससहितको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्नुपर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर