कोरियामा एक नेपालीले साथीको हत्यापछि गरे आत्महत्या प्रयास – Nepal Press

कोरियामा एक नेपालीले साथीको हत्यापछि गरे आत्महत्या प्रयास

काठमाडौं । दक्षिण कोरियामा एक नेपाली कामदारद्वारा होस्टेलमा सुतिरहेका आफ्नै रुममेटलाई धारिलो छुरा प्रहार गरी हत्या गरेका छन् । पाँचथर घर भएका २९ वर्षीय राजेश बुढाथोकीले नुवाकोट घर भएका प्रकाश बिकलाई छुरा प्रहार गरी हत्या गरेको उक्त कम्पनीमा कार्यरत एक नेपालीले बताए ।

बुढाथोकी एक महिनाअघि मात्रै कोरिया प्रवेश गरेका थिए भने बिक पाँच महिनाअघि कोरिया पुगेका थिए । बुढाथोकी भने तीनचार वर्षअघि पनि कोरिया पुगेका थिए । तर, डिप्रेसनको शिकार भएका कारण नेपाल फिरेका उनी पुन इपिएस परीक्षा दिएर कोरिया पुगेको उनका एक सहकर्मीले नेपाल प्रेसलाई बताए ।

प्रत्यक्षदर्शीका अनुसार मध्यराति अचानक बुढाथोकीले बचाउ बचाउ भनेपछि निदाइरहेका होस्टेलका सबै कामदार जम्मा भएका थिए । हातमा चक्कु लिएर निस्किएका बुढाथोकीले असामान्य व्यवहार देखाएपछि सहकर्मीहरूले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी पुग्दा बिक मृत अवस्थामा थिए भने बुढाथोकी आफ्नै घाँटीमा चक्कु प्रहार गरी लडेको अवस्थामा थिए । केही समय ढिला भएको भए आरोपीको पनि ज्यान जाने अवस्था भएको एक प्रत्यक्षदर्शीले बताए ।

हाल बुढाथोकीको प्रहरीको रोहबरमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *