रामचन्द्र पौडेलको राजनीतिक इतिहासको पुनरावृत्ति ! – Nepal Press
विचार

रामचन्द्र पौडेलको राजनीतिक इतिहासको पुनरावृत्ति !

नेपालको राष्ट्रिय राजनीतिमा राम्रो छवि बनाएका रामचन्द्र पौडेल गृहजिल्ला तनहुँमा भने आलोचित छन् । नेपाली काग्रेसको राजनीतिमा जीवन बिताएका पौडेल यही मंसिर ४ गते हुने संघीय निर्वाचनमा अन्तिम चुनावी मैदानमा होमिने कसरतमा छन् । यसैका लागि पौडेल केही महिनादेखि जिल्ला दौडाहामा व्यस्त छन् । २०७४ को संघीय निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग फराकिलो मतान्तरले पराजित भएपछि राष्ट्रिय राजनीतिमै कमजोर बनेका पौडेल अब हुने निर्वाचनमा त्यो कमजोरी हुन नदिन जोडतोडका साथ लागिरहेका छन् ।

करिब ८ दशकको समीपमा रहेका पौडेल तनहुँको राजनीतिमा किन यति धेरै कमजोर बने ? तनहुँ जस्तो काग्रेसको गढ मानिने जिल्ला, त्यसमा पनि पौडेलको चुनावी क्षेत्रमा उनको शर्मनाक हारको समीक्षाविना अबको निर्वाचन पनि पौडेलको लागि सहज हुनेछैन । त्यसका लागि पौडेलले इतिहासको पुनरावृत्ति गर्नु आवश्यक देखिन्छ । विगतको समीक्षाविनाको निर्वाचनले अन्ततः पौडेललाई थप कमजोर बनाउनेमा कुनै शंका छैन ।

तत्कालीन समय २०४८ सालमा तनहुँमा ३ वटा निर्वाचन क्षेत्र हुँदा पौडेलले क्षेत्र नं १ बाट जित हासिल गरे । त्यहीबाट सुरु भएको पौडेलको संसदीय राजनीति अनवरत चलिरह्यो । राष्ट्रिय राजनीतिमा संघर्षबाट उदाएका पौडेल त्यसपछि फेरि २०५१ सालमा भएको चुनावमा तनहुँको क्षेत्र नं २ बाट भारी मतले चुनवा जिते । २०४८ सालमै पहिलो पटक संसदीय चुनाव जितिसकेपछि नै राष्ट्रिय राजनीतिमा पकड बनाएका पौडेल २०४९ सालमा पहिलोपटक स्थानीय विकासमन्त्री बने ।

पटक-पटक संसद, सत्ता र नेपाली काग्रेसको मूल नेतृत्वमा रहेर काम गरेका पौडेल यति धेरै कमजोर कसरी भए ? सायद पौडेलले नै समीक्षा गर्लान् ?

तर, त्योवेला विवादित बनेपछि सरकारबाट बाहिरिएका पौडेल २०५१ सालमा भएको चुनावमा जीत हासिल गरेर प्रतिनिधिसभाको सभामुख बने । २०४८ सालमै संसद छिरेका पौडेल २०४९ सालमा मन्त्री बने । २०५६ देखि २०५८ सम्म ज्ञानेन्द्र शाहको शासनकालमा र गिरिजाप्रसाल कोइरालाको प्रधानमन्त्रीकालमा उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको बागडोर सम्हाले । त्यसपछि देशकै शक्तिशाली बनेका पौडेल गृहजिल्ला तनहुँका सबैभन्दा आलोचित पात्र हुन् । २०५९ सालमा शान्तिमन्त्री बनेका पौडेल सत्ताको भरपुर स्वाद चाखेका नेता हुन् । पटक-पटक संसद, सत्ता र नेपाली काग्रेसको मूल नेतृत्वमा रहेर काम गरेका पौडेल यति धेरै कमजोर कसरी भए ? सायद पौडेलले नै समीक्षा गर्लान् ?

लामो समयसम्म पनि संसद, सरकार र पार्टी नेतृत्वमा बसेका पौडेलको जिल्ला र क्षेत्रको जनताको आम प्रश्न पनि यही हो । यो प्रश्न जिल्लाका प्रतिपक्ष पार्टीका नेता र कार्यकर्ताको प्रश्न पनि हो । कांग्रेसमा लामो समयसम्म त्याग, तपस्या र योगदान गरेका नेता कार्यकर्ता र आम जनताको प्रश्न त हो नै । अवसर प्राप्त नगर्नु अलग विषय हो । तर, अवसरको बाढी लाग्दा पनि जिल्लामा सिन्कोसमेत भाँचेनन् भन्नेको भीडले पौडेललाई सधैं प्रश्न सोधिरहन्छ । केही वर्ष अगाडिसम्म यही प्रश्नमा ‘म देशकै नेता हुँ । गाउँ, क्षेत्र र जिल्लामात्र हेर्न मलाई फुुर्सद कहाँ हुन्छ ?’ भन्ने अभिव्यक्ति दिने पौडेल पछिल्लो समय गाउँमै बसौं बसौं भन्ने अभियानका साथ चुनावी क्षेत्रका टोल दौडादौडमा व्यस्त देखिन्छन् ।

आम जनता, कार्यकर्ता के चाहन्छन् भन्ने कुराको भेउ नपाएका पौडेल अब हुने संघीय निर्वाचनमा अन्तिम पटक जित्ने दाउमा छन् । पौडेलको यो दाउ भने सहज छैन । नेपालको राजनीतिमा सशक्त हैसियत बनाएका गोविन्दराज जोशी उनको सबैभन्दा ठूलो तगारो बन्ने देखिएको छ । जोशीको तगारो हटाउन सकेनन् भने पौडेलको जितेरमात्र मर्ने चाहना अधुरै हुनेछ । आम सञ्चारकर्मीको बीचमा आफ्नो निर्वाचन क्षेत्रबाट जितेरमात्र मर्ने चाहना रहेको पौडेलले पटक पटक सार्वजनिक गरिसकेका छन् । एउटै जिल्ला, त्यसमाथि एउटै क्षेत्र भएका जोशीको प्रमुख अभियान भनेको पौडेल हराउने हो । पौडेलको जित्ने अभिलाषा पूरा गर्न पनि जोशीलाई मिलाउनुको र कमजोरी स्वीकार गर्नुको विकल्प छैन, जुन पौडेलबाट अपेक्षित छैन ।

पौडेल अब हुने संघीय निर्वाचनमा अन्तिम पटक जित्ने दाउमा छन् । पौडेलको यो दाउ भने सहज छैन । नेपालको राजनीतिमा सशक्त हैसियत बनाएका गोविन्दराज जोशी उनको सबैभन्दा ठूलो तगारो बन्ने देखिएको छ ।

२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ सँग फराकिलो मतान्तरले हारेदेखि पौडेलको राजनैतिक ओरालो यात्रा सुरु भएको थियो । पौडेल सादगी नेताका रुपमा चित्रित भए तापनि विकास र जनताको आवश्यकतामा भने मौन रहे । जसका कारण पौडेलको राजनीतिक करियरमा २०७४ सालको चुनावपछि ठूलो धक्का लाग्यो । सानो समूहमा रमाउने पौडेल आम जनताको आवश्यकतामा संवेदनशील हुन सकेनन् । पौडेलको सबैभन्दा ठूलो कमजोरी यही हो । जसका कारण तनहुँमा नेपाली कांग्रेस कमजोर हुन पुग्यो ।

पौडेल सादगी र इमानदार नेता हुन् । यसमा दुईमत छैन । तर, अबका जनताले त्यसलाई मात्र स्वीकार्न सक्दैनन् । आम जनताको न्यूनत्तम आवश्यकता, शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणमा नहिँड्ने हो भने पौडेलका लागि अबको चुनाव पनि फलामको चिउरा सावित हुनेछ । पौडेलको केही महिनाको जिल्ला दौडाहाले उनको उम्मेदवारीलाई अनुमोदन गर्नेमा शंका छ ।

पटक-पटक दुईतिहाइ र बहुमत ल्याएको कांग्रेसलाई आज कसैको वैशाखी चढेर हिँड्न बाध्य बनाउनेमध्येका एक पात्र पनि हुन् पौडेल । विधिविधान र निर्णयको चर्को वकालत गर्ने तर पार्टी निर्णयको कार्यान्वयन नगर्ने पात्र पनि हुन् पौडेल । गठबन्धनको चर्को नारा र यसका प्रणेता नै हुन् पौडेल । कसैलाई नचाहिएको गठबन्धन पौडेललाई चाहिएको छ । पौडेलको एकमात्र उद्देश्य गठबन्धनको बलमा आफूले जसरी पनि यसपालिको चुनाव जित्ने हो । यही अस्त्रबाट सञ्जीवनी बुटी पाउन सक्ने सपना देखेका पौडेलले जबसम्म जोशीलाई मिलाउन सक्दैनन्, तबसम्म जित्न सक्दैनन् । स्थानीय तह निर्वाचनमा गठबन्धनका एकीकृत समाजवादीको करिब ९०० भोटको आशा गरेका पौडेल जोशीको भोटलाई कमजोर आकलन गरेका छन् ।

पौडेलको ल्याकत, योग्यता र क्षमता जाँच देश र विशेष गरी तनहुँका जनताले गरिसकेका छन् । योग्यता, क्षमताको मापन पटक पटक हुन सक्दैन । पौडेलका पक्षमा पनि यो लागू हुन्छ ।

कांग्रेसको लोकतन्त्र, समाजवाद पौडेलका लागि देखाउने अस्त्रमात्र बनेको छ । गठबन्धनको दल माओवादीको भोट ल्याएर चुनाव जित्ने सपनामा रहेका पौडेल विगत, वर्तमान र भविष्यको मूल्यांकन गर्न सक्ने ल्याकत राख्दैनन् । जीत केका लागि ? गठबन्धनका मुख्य उद्देश्य र पौडेलको गठबन्धनका नारा तनहुँका जनताले नजिकसँग बुझिसकेका छन् । सधैंको रुख र कांग्रेस भन्ने सोच यो शताब्दीमा आस्थावान कांग्रेस कार्यकर्तामा अझै पनि छ भन्ने दुविधामा रहनु पौडेलको अर्को कमजोर पक्ष हो । गठबन्धनको चर्को नाराले मात्र पौडेलको निरन्तरतामा आम माओवादीको भोट सती जान सक्दैन । केन्द्रको निर्देशन स्थानीय तहमा उल्लंघन गरेको बग्रेल्ती उदाहरण छन् । किनकि पौडेलको ल्याकत, योग्यता र क्षमता जाँच देश र विशेष गरी तनहुँका जनताले गरिसकेका छन् । योग्यता, क्षमताको मापन पटक पटक हुन सक्दैन । पौडेलका पक्षमा पनि यो लागू हुन्छ ।

काग्रेस तनहुँ क्षेत्र नं १ मा कमजोर छैन, यो सत्य हो । योसँगै सत्य के पनि हो भने तनहुँ क्षेत्र नं १ मा रामचन्द्र पौडेल कमजोर छन् । पौडेल कसरी कमजोर भए ? यसको समीक्षा अब सायद कसैले गर्लान् । यही दुविधामा अल्झिएको पौडेलमा अर्को चुनौती भनेको युवा नेता तथा पूर्ववनमन्त्री शंकर भण्डारी र गोविन्द भट्टराईको उचित व्यवस्थापन पनि हो । जोशी त यसै विपक्षी बनिरहँदा भण्डारी र भट्टराईको उचित व्यवस्थापन हुन सकेन भने गुट उपगुटमा विभाजित काग्रेसलाई भण्डारी र भट्टराईबाटै थप खतरा नहोला भन्न सकिँदैन ।

यति धेरै चुनौतीको बीचमा हुन लागेको चुनावमा रामचन्द्र पौडेलले विगतको समीक्षा, कमजोरीको महसुस, जोशीसँगको सम्बन्ध सुधार एवं विस्तार, भण्डारी र भट्टराईको व्यवस्थापन गर्ने ल्याकत राख्लान् ? जीवनको लामो समय प्रजातन्त्र, लोकतन्त्र र विधिको शासनको लागि लडेका पौडेलले जितेरमात्र मर्ने अभिलाषा पूरा गर्लान् ?


प्रतिक्रिया

One thought on “रामचन्द्र पौडेलको राजनीतिक इतिहासको पुनरावृत्ति !

  1. तनहुँमा काँग्रेस कमजोर बन्नु र नेताहरू चुनाव हार्नु पछिको अर्को र महत्वपूर्ण कारण काँग्रेसी नेताहरूले कम्युनिष्ट कर्मचारीहरूलाई विस्वास गर्नु पनि हो । कम्युनिष्ट कर्मचारीले भित्र भित्र काँग्रेसको जरा काटेको काँग्रेसी नेताले नदेख्नु र तिनैलाई जोगाउन मरिमेटेर लाग्नाले काँग्रेस झन कमजोर बन्दै छ तनहुँमा । सायद आउने चुनावको नतिजा पनि त्यस्तै होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर