रुस-युक्रेन युद्धमा नौ हजार युक्रेनी सेना मारिए – Nepal Press

रुस-युक्रेन युद्धमा नौ हजार युक्रेनी सेना मारिए

कीभ । रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब नाै हजार युक्रेनी सैनिकहरू मारिएको बताइएको छ । छ महिनादेखि रुस–युक्रेन युद्ध जारी छ ।

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरूबीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन् ।

युक्रेनका कमाण्डर–इन–चीफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका छन् । थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा छन् । ती मध्ये कतिपय त मारिका छन् । बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ । जारी युद्धका बीच यही बुधवार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ ।

मस्कोको सेनाले राजधानी कीभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ । छ महिनादेखि जारी रुस–युक्रेन युद्धले ऊर्जा–इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ र विश्वभर युद्धको झट्का महसुस भइरहेको छ ।

यसैबीच रुसको एफएसबी सुरक्षा सेवाले सोमबार मस्कोको बाहिरी इलाकामा शनिबार भएको कार बम विष्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ । सो विष्फोटमा परी कट्टर रुसी विचारधाराका नेता अलेक्ज्याण्डर डगकी छोरी डारिया डुगिना मारिएकी छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकका परिवारप्रति समवेदना सन्देश पठाउँदै “घृणित अपराध“ को निन्दा गरेका छन् । –रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर