‘यो मेसिनको शहर हो’ कवितासंग्रह सार्वजनिक – Nepal Press

‘यो मेसिनको शहर हो’ कवितासंग्रह सार्वजनिक

काठमाडौं । दक्षिण कोरियामा कार्यरत कविहरुको कवितासंग्रह ‘यो मेसिनको शहर हो’ सार्वजनिक भएको छ । ललितपुरको झम्सिखेलस्थित पोर्क हब एन्ड मोन्क्स बारमा आयोजित कार्यक्रममा श्रवण मुकारुङ, साहित्यकार डा. रुत्नमणि नेपाल, साहित्यकार तथा राजनीतिकर्मी धर्मेन्द्र नेम्वाङ, कवि केशव सिलवाल, समीक्षक गुरुङ सुशान्त, वीना थिङलगायतले एक साथ पुस्तक लोकार्पण गरेका हुन् ।

विमोचनपछि वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङले युरो एसिया कल्चरको बिजारोपणमा यो कृति कोरियन र नेपाली भाषामा प्रकाशन हुन सफल भएको बताए । बेस्ट सेलरको कृतिको रुपमा कोरियामा दरिएको कृति कमजोर नरहेको भन्दै मूर्तिकारले असाध्यै सुन्दर मूर्ति बनाए पनि हेर्नेले नहेरिदिए मूर्ति नहुने उदाहरण दिँदै यो कृति पाठकले स्वीकार गरेको हुनाले उत्कृष्ट रहेको दाबी गरे ।

कवि केशव सिलवालले मानिसहरु मेसिनसँग जोडिएको बताउँदै यो संग्रहले समग्र कोरियालीलाई आँखा देखाउने काम गरेको र देश प्रेम, मजदुरको पीडा, थातथलोलाई समेटेर लेखिएका कविताहरु मनछुने खालका भएको बताए ।

समीक्षक गुरुङ सुशान्तले एक्लोपनबाट मुक्ति पाउन कविहरुले कविताहरु लेख्ने कुरामा जोड दिँदै कविता आफैंमा मेसिन भएको बताए ।

कथाकार वीना थिङले अधिकांश कवितामा जीवनका आधारभूत आवश्यकताबाट बञ्चित हुनुपर्दाका पीडाहरु बोलेको टिप्पणी गरिन् ।

कोरियाबाट नेपाल फर्केका कविहरु एलजी विवश,, ऐश्वर्य श्रेष्ठ, बिङकल चेम्जोङ, आनन्द भट्टराईले कविता वाचन गरेको कार्यक्रममा युवाकवि स्वप्निल स्मृति, लक्ष्मी रुम्बालगायतको उपस्थिति थियो ।

कोरियामा कार्यरत ३५ कविका ३५ कविता संगृहीत सो कृतिमा पराजित पोमु, रमेश सायन, जीवन खत्री, एलजी विवश, सुस्मा रानहँमा, दीपा मेवाहाङ राई, बोनम प्रतापलगायतका कविता समेटिएको छ । ईतर अभियानको लागि कवि पराजित पोमुले कविता संग्रहको सम्पादन गरेका हुन् ।

छोटो समयमा कोरियामा चर्चामा रहन सफल कृति ‘यो मेसिनको शहर हो’ ले रेड अवार्ड र २५ लाख कोरियन वनको नगद पुरस्कार प्राप्त गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *