गृहमन्त्रीको स्पष्टीकरण : हरेक दिन युवाहरुको म्यासेज आउँछ, विदेशी महिलाका विषयमा विधेयक मौन छ – Nepal Press

गृहमन्त्रीको स्पष्टीकरण : हरेक दिन युवाहरुको म्यासेज आउँछ, विदेशी महिलाका विषयमा विधेयक मौन छ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बुबाआमा नेपाली नागरिक भएर पनि सन्तानले नागरिकता पाउन नसकेको अवस्था अन्त्य गर्न नयाँ विधेयक ल्याउनुपरेको दाबी गरेका छन् ।

संसदमा नागरिकता विधेयकका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले यो विधेयकमा आफूलाई दिनदिनै यस्ता नागरिकताविहिन युवाहरुको म्यासेज आउने गरेको बताए ।

खाणले भने, ‘मलाई हरेक दिन म्यासेज आउँछ । ७७ वटै जिप्रकामा युवाहरु जानु हुन्छ । हाम्रो नागरिकता खोइ ? भन्नु हुन्छ । तर ऐनको व्यवस्था नभएकाले दिन सकिएन । त्यस्ता युवाहरुका लागि तत्काल विधेयक चाहिएको हो ।’

राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाअनुसार नै नागरिकता विधेयक पुनर्विचार गर्न पठाइएको उनले बताए । यसबाट दोहो¥याएर छलफल गर्न पाइएको भन्दै उनले यसमा आएका विविध धारणालाई संवेदनशीलरुपमा लिइने आश्वासन दिए ।

उनले नागरिकता विधेयकमा उल्लेख नै नभएको विषयलाई लिएर सरकारमाथि प्रहार गरिएको बताए । संविधानले नेपाली महिलासँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिइने भने पनि ७५ सालको विधेयक यसबारे मौन बसेको उनको भनाइ छ । अहिलेको विधेयकमा पनि यो विषयमा केही उल्लेख नरहेको उनले बताए ।

‘जुन कुरा विधेयकमा उल्लेख नै छन्, त्यसलाई लिएर आलोचना किन भइरहेको छ ?’ खाणले प्रश्न गरे ।

उनले शीर्ष नेताहरुसँग बारम्बार छलफल गरेर यो विधेयक अघि बढाइएको उल्लेख गरे । विधेयक ल्याउने बेलामा चुनावको तत्काल घोषणा हुने सम्भावना नरहेकाले निर्वाचनलाई ध्यानमा राखेर विधेयक ल्याइएको आरोप पनि उनले अस्वीकार गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर