कोसीको बाढीले उठिबास लगायो, सरकारी गाडी हिलो छ्याप्दै कुद्‍यो – Nepal Press
कोसी कटानः ग्राउण्ड जिरो

कोसीको बाढीले उठिबास लगायो, सरकारी गाडी हिलो छ्याप्दै कुद्‍यो

बेलका (उदयपुर) । बेलका नगरपालिका- ३ एबेसीका रैथाने प्रकाश माझी बुधबार बिहान घर छाडेर निस्कँदै थिए । बेलकामै जन्मिएकी श्रीमती रीता माझीसँगै चौपाया डोर्‍याएर रामपुर बजारतर्फ आउँदै थिए उनीहरु । ठीक त्यही समयमा हुलका हुल सरकारी गाडी गाउँतर्फ गए ।

चौपाया समातेर मूल सडकमा हिँडेका उनीहरु किनारामा सरे । झण्डावाला प्रदेशमन्त्री केदार कार्कीलगायतको अगुवापछुवा गाडीलाई माझी दम्पतीले साइड दिए । तर, गाडीले स्पीड कम नगरी उनीहरुलाई भिजाउने गरी हिलो छ्याप्यो । सरकारी गाडीले हिमाम्ये पानीले हिर्काएपछि प्रकाश माझी मुर्मुरिए ।

‘उता कोसीको बाढीको पानीबाट भाग्दै आइयो । यता नेताको गाडीले पानी हिर्काइहाल्यो,’ नेपालप्रेसकर्मीसँग उनले रिस पोखे ।

उनकी श्रीमती रीता पनि आक्रोशमा थिइन् । श्रीमानको भनाइमा उनले थपिन्, ‘नेता र सरकारका गाडीले हल्लामात्रै गछ्र्र्रन् । काम गर्दैनन् ।’

बुधबार बिहानै बेलका- ८ को कोसी कटान भएको डुम्रिबोटेको पानी गाउँमा भरिन थालेपछि सयौं गाँउलेको भागाभाग भएको थियो । सक्नेले ट्याक्टरमा सामान हालेर ल्याए । कसैले मिनिट्रकमा चौपाया हाले । तर, प्रकाश दम्पतीसँग त्यो ल्याकत थिएन । उनीहरु आफैं सामान बोक्दै, चौपाया डोर्‍याइरहेका थिए । त्यही बेला सरकारी गाडीले हिलो छ्यापेर गएपछि झोक चल्नु स्वाभाविक थियो ।

रीता भन्दै थिइन्, ‘नेता र मन्त्री बोक्ने गाडीले कोसी पीडितका सामान, छोराछोरी र गाईवस्तु बोक्दिनु नि बरु, धर्म हुन्थ्यो ।’

श्रीमतीको कुरामा प्रकाशले थपे, ‘हामीलाई बोक्ने आमसभाको दिन र भोट हाल्ने दिनमात्रै हो । दुःख पाएको दिन हैन ।’

यो आक्रोश र वेदना कोसीलाई साँध बनाएको उदयपुरको बेलका नगरपालिका- ३ को एबेसी बस्तीका माझी दम्पतीको मात्रै हैन । बाढी पीडित वडा नम्बर १, २, ३, ८ र ९ नम्बरका बहुसंख्यक स्थानीयको हो ।

रितेन्द्र राईका दम्पती पनि चौपाया डोर्‍याउँदै सुरक्षित क्षेत्रतर्फ जाँदै थियो । दश वर्षदेखि एबेसी बस्तीमा बसोबास गर्दै आएका रितेन्द्रले मन्त्रीहरु सवार गाडीहरु देखाउँदै भने, ‘यी गाडी गरिबलाई बनेकै हैनन् । हाम्रो दुःख उनीहरुलाई मेला भएको छ । मेला भर्न आएका हुन् ।’

कोसीले डुबाएको पहिलो अनुभव

एबेसी बस्तीकी रीता माझीले कोसी किनारमा बसे पनि गाउँमा कोसी पसेको पहिलोपटक भोगेको बताइन् ।

‘कोसीले घरबारी डुबाएको मेरो अनुभव पहिलो हो’, रीताले भनिन्, ‘बाबुबाजेले चै पहिले यो कोसीकै बाटो हो भन्नुहुन्थ्यो ।’

रीता जस्तो जन्मजात यही क्षेत्रका बासिन्दा हैनन् रितेन्द्र । उनी माओवादी युद्धकालदेखि यहाँ आएर बसेका हुन् । उनले पनि कोसी गाउँमा पसेको पहिलो अनुभव भएको सुनाए ।

राईले भने, ‘बिदुरे खोला, खार खोला, सेती खोला र अरु खहरेहरुले डुबान गरेको अनुभव थियो । तर, कोसीको थिएन ।’

मगर टोलका दिलकुमारी मगर र पदममाया मगर कोसी पस्दा अचम्भित छन् । ‘अरु बेला सामान्य डुबान हुन्थ्यो’, १५ वर्षबाट बसेकी दिलकुमारीले भनिन्, ‘घर नै उठीबास लाग्ने चैं यो पालि भयो ।’

अहिले कोसी कटानको समस्या कृत्रिम भएको स्थानीयहरुले सुनाउँदै थिए । पहिले लाखमा बिक्री हुने सरकारी जग्गा अहिले धुरकै लाख हाराहारी पुग्नुमा बिचौलिया जग्गा दलालहरुको भूमिका भएको उनीहरुको भनाइ छ । कोसी उच्च बाँध बन्दैछ र यो ठाउँ सुरक्षित छ भनेर आफूलाई बस्तीमा बोलाइएको कतिपय पीडितले सुनाए । उनीहरुले नाम खुलाउन चाहेनन् ।

एकातिर सरकारी जग्गा, अर्कातिर कोसीको नदी पहिले बगेको जग्गामा बस्ती बसाएर पैसा कुम्ल्याउने बिचौलियाको योजनामा दलहरुले सहयोग गरेको स्थानीयले आरोप लगाएका छन् । बाटो, बिजुलीदेखि सडक पु¥याएर भोटको राजनीति गरेको पनि उनीहरु बताउँछन् ।

सुनसरीको बराह क्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकामा बाँडिएको श्रीलंका टापु क्षेत्रमा यस्तो राजनीतिक खेलमा भीआईपी नेताहरुकै साथ भएको एक स्थानीयले बताए ।

‘सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको क्षेत्र यही हो र परराष्ट्रमन्त्री नारायण खड्काको जिल्ला पनि यही हो’, स्थानीय कमल राईले भने, ‘यो सबै हुनुको पछि उहाँहरुको पनि हात छ ।’

कमलको तर्कमा सहमत छन् बेलका नगरपालिकामा मेयर उठेका जसपाका नेता महेन्द्र राई । ‘जबरजस्ती बस्ति बन्दाको परिणाम हो यो’, राईले भने, ‘नदी उकास क्षेत्र र कोसीको जग्गा आफैंमा सधैं जोखिम हो भन्ने बुझेर निर्णय गरेको भए यहाँका सोझा जनताले दुःख पाउनुपर्ने थिएन ।’

कोसी पीडितलाई आफ्नो ज्यानभन्दा वस्तुभाउको माया

कोसीले घर डुबाइसक्यो । गोठ डुबाइसक्यो । मान्छे आधा ज्यान डुबेका छन् । तर, सशस्त्र प्रहरीले उद्धार गर्न खोज्दा मान्दैनन् कतिपय स्थानीय ।

ठाउँको मायाले होइन, आफ्ना चौपायाको मायाले । यो अनुभव रह्यो सशस्त्र प्रहरीका उद्धारमा खटिएका निरीक्षक उत्तम बस्नेतको । सशस्त्र प्रहरीको प्रदेश मुख्यालय इटहरीको पकलीबाट १५० भन्दा बढी संख्यामा उद्धारमा खटिएका थिए सशस्त्र प्रहरी । आठ बजेबाटै सशस्त्र प्रहरी फिल्डमा खटिएका थिए । त्यसको एक नेतृत्व निरीक्षक बस्नेतले गरेका थिए ।

गाउँलेहरु उद्धार गर्न सशस्त्र प्रहरी पुग्दा पनि आउन मानिरहेका थिएनन् । मानेकालाई मात्रै सशस्त्र प्रहरीले उद्धार गरिरहेको थियो ।

‘आफ्नो पशुपंक्षीलाई जोगाउन भन्दै उहाँहरु आउन मान्नुभएको छैन’, बुधबार दिउँसो नेपालप्रेससँग निरीक्षक बस्नतेले भने, ‘उहाँहरुले नमान्दा सबैको उद्धार हुन सकेको छैन । उहाँहरु अहिलेसम्म सुुरक्षित हुनुहुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *