भलिबल संघको अध्यक्षमा निरोज मास्केद्वारा उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिवद्धता – Nepal Press

भलिबल संघको अध्यक्षमा निरोज मास्केद्वारा उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिवद्धता

काठमाडौं । भलिबल संघकी वर्तमान उपाध्यक्ष निरोज मास्केले भदौ २२ हुने संघको केन्द्रीय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै मास्केले उम्मेदवारी घोषणा गरेकी हुन् ।

करिव डेढ दशकदेखि भलिबल संघमा आबद्ध मास्केले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट प्रतिनिधित्व गर्दै नेपाल भलिबल संघमा प्रवेश गरेकी हुन् । उनले आफ्नो मुख्य लक्ष्य र उद्देश्य भनेको भलिबललाई विस्तार, विकास गर्दै राष्ट्रिय रुपमा व्यापकता दिनु रहेको बताइन् ।

नेपाल भलिबल संघको केन्द्रिय कार्यसमिति सदस्यको रुपमा प्रवेश गरेलगत्तै पहिलो महिला कमिसनको संयोजकको जिम्मेवारी मास्केले लिएकी थिइन् । जुन कमिसनले राष्ट्रियस्तरको पहिलो महिला बिच भलिबल प्रतियोगिताको संस्थागत सुरुवात गरेको थियो ।

२०३३ सालमा स्थापना भएको नेपाल भलिबल संघमा पहिलो महिला अध्यक्षको रूपमा मास्केले उमेद्वारी दिएकी हुन् ।

उम्मेदवारी घोषणासँगै मास्केले आफ्ना सैद्धान्तिक प्रतिवद्धता पनि सार्वजनिक गरेकी छन् ।

उनले सार्वजनिक गरेका प्रतिवद्धताहरुः

– ग्रासरूट, विद्यालय, युथ र सिनियर गरि विभिन्न तहको भलिबल टिमको निर्माण गर्ने,

– विद्यालय, पालिका, जिल्ला, प्रदेश र केन्द्रिय स्तरमा नियमित प्रतियोगिताको आयोजना गर्ने, लिग भलिबललाई प्रदेशसम्म लाने,

– रेफ्री, प्रशिक्षक, प्राविधिक लगायतका जनशक्ति जिल्लादेखि केन्द्रसम्म उत्पादन गर्ने,

– भलिबल खेलको पूर्वाधारमा सरकार, नीजि क्षेत्र र गैरआवासिय नेपाली संघ (एनआरएनए) को लगानीलाइ प्राथमिकता दिने,

– केन्द्रमा भलिबलको आफ्नै कभर्डहल निर्माण र सातै प्रदेशमा भलिबलको पूर्वाधार र एकेडेमी निर्माण र सञ्चालन गर्ने,

– क्यालेन्डर सहित वर्षभरी घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा भलिबललाई ब्यस्त राख्ने,

– राष्ट्रिय÷अन्तर्राष्ट्रिय एक्सपोजर दिएर नेपाललाई दक्षिण एसियामा बलियो राष्ट्रिय भलिबल टिम बनाउने,

– राजनीतिक दल, प्रशासनिक निकाय, व्यवसायीक नेतृत्व र संघ संस्थासँग सहकार्य गर्ने,

– भलिबलको संस्थागत विकास गर्न संघका विभिन्न संरचनाभित्र आर्थिक र प्रशासनीक सुशासन कायम गर्ने,

– ७ सय ५३ पालिका स्तरमै भलिबलमा सरकारी र निजि संलग्नता एवं साझेदारीका लागि क्षमता विकास गर्ने ।

– राष्ट्रिय र अन्तराष्ट्रिय रणनीतिक साझेदारलाई नेपाली भलिबलसँग समन्वय गर्ने,

– कुटनीतिक क्षेत्र एवं सम्बद्ध पक्षहरुसँग सहकार्यका लागि पहल गर्ने,

– निजी र व्यावसायिक क्षेत्रको प्रवेश गराउन परियोजना निर्माणमा जोड दिने,

– केन्द्र, प्रदेश र जिल्ला भलिबलमा गर्नुपर्ने कार्यको स्पष्टता सहितको बलियो पारदर्शी संयन्त्रको स्थापना गर्ने,

– भलिबललाई पर्यटन प्रवर्द्धनको माध्यम बनाउने र व्यावसायीकरणमा जोड दिने,

– बिच, हाइ अल्टिच्युड भलिबललाई प्राथमिकतामा राख्दै भलिबलको विविधिकरणमा जोड दिने,

– भलिबलको अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रणनीतिक योजना तर्जुमा गर्ने,

– महिला शसक्तिकरण, सामाजिक सद्भाव र एकता तथा राष्ट्रिय गौरवका लागि भलिबल अभियान सञ्चालन गर्ने,

–देश बाहिरका भलिबल प्रेमी समर्थक र शुभेच्छुकलाई खेल र संघसँग जोड्ने,

– भलिबल खेललाई विद्यालय तहदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्न पहल गर्ने,

– अध्ययन, अनुसन्धान तथा एकिकृत सूचना प्रणाली मार्फत संचार क्षेत्रसंग नियमित सम्बाद ।

– आगामी चार वर्षमा कम्तिमा चार लाख नेपालीलाई भलिबलको सञ्जालमा जोड्ने,

– प्रदेश, जिल्ला र क्लबको पूर्वधार र प्रतियोगितामा सहयोग गर्ने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *