उपन्यायाधिवक्ताको दादागिरी, संसद् सचिवालयको बस चढेर चालकमाथि कुटपिट – Nepal Press

उपन्यायाधिवक्ताको दादागिरी, संसद् सचिवालयको बस चढेर चालकमाथि कुटपिट

काठमाडौं । साउन ८ गते आइतबार बिहान ९ बजेर ५० मिनेटको समय । संसद् सचिवालयको स्टाफ बस चलाउने चालक हरिराम रुपाखेतीले सिंहदरबारको दक्षिणी गेट अगाडी पुग्ने बित्तिकै गाडी रोक्नका लागि ब्रेक लगाए । बस रोक्ने बित्तिकै एक्कासि बस भित्रै बसेका, सरकारी पोसाक लगाएका अपरिचित व्यक्तिले एकाएक पछाडिबाट गाली गर्दै झम्टिन आइपुगे । चालक रुपाखेतीले के भयो किन कराउनुभएको हो भन्न नपाउँदै उनले ३र४ मुक्कासमेत हान्न भ्याइसके ।

हुन त रुपाखेती पनि ४१ वर्षे युवा नै भएकाले त्यसको प्रतिवाद गर्न सक्थे । तर पिट्ने व्यक्ति संसद् सचिवालयकै उच्च तहको कर्मचारी भएको हुनसक्ने र आफूले कुनै गल्ती नै गरेको कारणले पनि पिटेको होला कि भनेर सुरुमा केहि नबोली बसे । उनले त्यति नै बेला सम्झिए, आफू संसद् सचिवालयको एक करारको कर्मचारी । मनमनै रिस उठे पनि उनले आफ्नो रिसलाई काबुमा राखेर सोधे, ‘के भयो सर किन एक्कासि पिट्नुभएको हो ?’

यति भन्दा फेरी पनि मुक्का हान्न खोजेपछि संसद् सचिवालयका अरू कर्मचारीले मुक्का हान्नबाट रोकेर टाढा लगे । टाढा जाँदै गर्दा पनि ती कर्मचारीले भन्दै थिए, ‘ओ खाते गाडी बन्द गर । किन म चढ्ने बेला घ्यार्र घ्यार्र गरेको । किन मलाई रोक्नुपर्ने ठाउँमा नरोकेर अगाडि ल्याएर रोकेको ? त भक्तपुर रुटमा त बस चलाउँछस् । भन न तँलाई सल्लाघारीमा मान्छे लगाएर पिटेर ठिक पार्छु ।’

त्यति गर्दा संसद् सचिवालयका गाडीबाट ओर्लिएका कोही पनि कर्मचारीले केहि भन्न सकेनन् । यति मात्र नभएर सिंहदरबारको दक्षिण गेटको सुरक्षामा खटिएका प्रहरी पनि हेरेको हेरेइ भए । कुटपिट गर्ने कर्मचारीलाई रोक्नुको साटो पिट्ने कर्मचारी त्यहाँबाट हिँडिसकेपछि ती प्रहरी आएर उल्टै चालक रुपाखेतीलाई नै सोध्न थाले, ‘किन उहाँले पिट्नुभएको हो ? के कारणले पिट्नुभएको हो ?

चालक रुपाखेतीका अनुसार आफूमाथि कुटपिट गर्दा सचिवालयका कर्मचारी, प्रहरी सबै मुख दर्शक भएकोमा दुःख व्यक्त गरे । उनले नेपाल प्रेससँग भने, ‘सायद म सानो तहको कर्मचारी, करारको कर्मचारी भएर सबैले हेपेको होला । मलाई मुक्का हान्दा पनि कसैले रोकेन । कुट्ने मान्छेलाई किट पिटेको भनेर सोधेन । उल्टै मलाई नै आएर किन पिटेको हो भनेर सोधेको ।’

त्यसपछि रुपाखेती दुःखी मन बनाउँदै गाडी गुडाउँदै संसद् सचिवालयमा पुगे । त्यहाँ पुग्ने बित्तिकै उनले संसद् सचिवालयको सवारी शाखामा गएर आफूमाथि कुटपिट भएको जानकारी गराए । सवारी शाखाले उनलाई संसद् सचिवालयका महासचिवलाई निवेदन लेख्न भनेर भन्यो । रुपाखेतीले महासचिवलाई भेटेर आफ्नो कुरा राखे । महासचिवले संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका डा.रोजनाथ पाण्डेलाई भेटेर निवेदन पेश गर्न भने । त्यसै अनुसार रुपाखेतीले निवेदन पेश गरे । निवेदनमा पाण्डेले तोक लगाएर सवारी शाखामा दर्ता गर्न भने ।

त्यसपछि सोमबार चालक रुपाखेतीले संसद् सचिवालयको कर्मचारी युनियनसँग पनि आफूमाथि भएको अन्यायका बारेमा कुराकानी राखेका छन् । कर्मचारी युनियनले पनि उनलाई कारबाही प्रक्रियामा सघाउने बचन दिएको छ ।

कारबाही प्रक्रिया अघि बढिसकेको छ : संसद् सचिवालय

संघीय संसद् सचिवालयका अनुसार चालक रुपाखेतीमाथिको दुर्व्यवहारको घटनाको उजुरी सचिवालयमा परिसकेको र कारबाही प्रक्रिया अघि बढिसकेको छ । संसद् सचिवालयका प्रवक्ता तथा प्रशासन महाशाखाका प्रमुख सहसचिव डा.रोजनाथ पाण्डेले पीडित व्यक्तिले संसद् सचिवालयमा उजुरी गरिसकेको नेपाल प्रेसलाई जानकारी दिए ।

बसमा चढ्ने कर्मचारीले चालकमाथि भएको दुर्व्यवहारबारे जानकारी गराएपछि उजुरीलाई अघि बढाइएको उनले बताए । उजुरीलाई सिंहदरबार प्रहरी गणमार्फत कारबाही प्रक्रिया अघि बढिसकेको पाण्डेको भनाई छ ।

को हुन चालक रुपाखेतीलाई मुक्का हान्ने कर्मचारी ?

संसद् सचिवालय स्रोतका अनुसार चालक रुपाखेतीलाई मुक्का हान्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत उपन्यायाधीवक्ता बुद्धिलाल श्रेष्ठ हुन् । विगत १५ वर्षदेखि उनी सोही कार्यालय तथा मातहत कार्यरत छन् ।

महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत भए पनि उनी संसद् सचिवालयको गाडीबाटै नियमित आवतजावत गर्छन् । संसद् सचिवालयका अनुसार संसद् सचिवालयको स्टाफ बस सचिवालयमा कार्यरत कर्मचारीलाई बोक्नका लागि सञ्चालन गर्ने गरिएको छ । तर, अर्को कार्यालयको कर्मचारी सचिवालयको गाडीमा चढेर सोही गाडीको चालकमाथि ठाउँको ठाउँ नरोकेको भनेर कुटपिट गरेका हुन् । ।

सचिवालय स्रोतका अनुसार महान्यायाधिवक्ता कार्यालयले सोही रुटमा आफ्नै स्टाफ बस चलाउने गरेको छ ।

यस बारेमा हामीलाई केहि जानकारी छैन : महान्यायाधिवक्ताको कार्यालय

महान्यायाधिवक्ताको कार्यालयले भने यस बारेमा आफूलाई आधिकारिक रूपमा कुनै पनि जानकारी नभएको जनाएको छ ।

कार्यालयका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले यसबारेमा आधिकारिक जानकारी नभएको नेपाल प्रेससँग बताए ।

उनले भने, ‘खै मैले पनि त्यस्तै हल्ला सुने र विभिन्न सञ्चार माध्यममा पनि समाचार हेरे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर