डा. भिम रावलद्वारा रोष्ट्रम कब्जा : ‘पार्ट टाइम सभामुख’ लाई पर्‍याे आपत् (भिडियोसहित) – Nepal Press

डा. भिम रावलद्वारा रोष्ट्रम कब्जा : ‘पार्ट टाइम सभामुख’ लाई पर्‍याे आपत् (भिडियोसहित)

काठमाडौं । राष्ट्रियतासँग जोडिएका मुद्दाहरुमा सँधै आवाज बुलन्द गर्ने नेताका रुपमा परिचित छन् डा. भिम रावल । आजको संसदमा वैठकमा उनको यही छवि देखियो, तर अलि फरक शैलीमा ।

एसपीपीको विषयमा अडान लिँदै रावलले संसदको रोष्ट्रम कब्जा गरेर बसेपछि सभामुखले आजको बैठक १५ मिनेटका लागि स्थगित गर्नुपर्‍याे । सभामुख सापकोटाले रावललाई बोल्ने पालो दिएर बैठक सञ्चालनको जिम्मेवारी प्रतिनिधिसभाका सदस्य सत्या पहाडीलाई हस्तान्तरण गरेका थिए ।

रावलले बोली सकेर पनि रोष्ट्रम छोड्न मानेनन् । पहाडीले लाख बिन्ती गर्दा पनि रावलले रोष्ट्रम नछोडेपछि अन्तत सभामुख सापकोटा आफैँ आएर १५ मिनेटका लागि बैठक नै स्थगित गरेका थिए । आखिर के कुरामा अडान लिएका थिए त डा. रावलले ?

०००

रावलले आफ्नो मन्तव्य सुरु गर्दै नेपाल अहिलेसम्म सदनबाट पारित भएका कुनै पनि सन्धी–सम्झौता सच्याउन असफल भएको पीडित देशमा रुपमा रहेको बताए । तर उनले जुन सम्झौताको विषयमा बोल्नका लागि छलफलका भाग लिएका थिए, त्यो विषयभन्दा फरक केहीअघिको चर्चित एसपीपी सम्झौता कोट्याए । उनको भनाइ यस्तो थियो :

‘यो एसपीपीको विषयमा धेरै छलफल भयो । तर, अमेरिकालाई त्यस बमोजिम पत्र पठाइएको छैन । गृहमन्त्री र परराष्ट्रमन्त्रीले पनि यसै सदनमा उक्त सम्झौता नगर्ने र पत्राचार गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । तर, त्यसअनुसार पत्राचार भएन । यो सदनले नेपाल सरकारलाई सघाउनुपर्ने अवस्था देखेँ मैले । देशको हित र स्वाभिमानका लागि काम गर्नुपर्ने भयो । सरकारलाई अफ्ठेरो परेको देखियो । यसलाई सहजीकरण गरिदिनुपर्‍याे समाभुख महोदय ।

अन्तर्राष्ट्रिय समितिले पनि निर्देशन दिइसकेको छ । शीर्ष नेताले पनि सहमति जनाइसकेका छन् । यसका लागि सभामुख महोदयले सरकारलाई रुलिङ गर्नुपर्‍याे । म सभामुखसँग माग गर्न चाहन्छु । सरकारलाई सहयोग गर्न चाहन्छु । सरकारलाई सहयोग नगरेसम्म नहुने देखियो । यो रुलिङ भएर तुरुन्त अमेरिकालाई पत्र लेखेर हाम्रो जानकारीमा सदनमा आउनुपर्‍याे । म सरकार, माननीय मन्त्रीज्यूहरु, देशभक्त नागरिकको आवाजलाई लिएर सभामुखको निर्देशनको रुलिङका लागि प्रतिक्षारत छु । यो मेरो व्यक्तिगत कुरा होइन, सम्पुर्ण नेपालको आवाज हो ।’

यति भन्दै रावल रोष्टममा ठिंग उभिइरहे । सदनमा रहेका नेकपा (एमाले)का सांसदले टेबुल ठटाएर समर्थन गरे । रावलले रोष्टमबाटै सबै प्रतिनिधिसभा सदस्यको अनुहार हेरे । सम्झौता सदनमा पेश गरेका वनमन्त्री र अरु सदनमा रहेका सत्तापक्षका सांसद पनि हेरेको हेर्‍यै भए । रावल रोष्ट्रममा उभिएर मुस्काइरहेका थिए ।

सदन सञ्चालन गरिरहेकी सत्या पहाडीले यताउति हेरेर बोल्नका लागि माइक मिलाइन् । तर आफैं अक्मकिइन् । त्यसपछि उनले नजिकै रहेका कर्मचारीसँग साउती गरिन् । रोष्ट्रममा उभिएका रावल र वनमन्त्री प्रदिप यादवका आँखा एक आपसमा जुधे । वनमन्त्री यादवले रावलको हाँसोमा हाँसो मिलाए ।

करिव एक मिनेट सबै मौन देखिए । कसैले पनि केही नबोलेपछि रोष्टममा उभिएका रावलले नै मुख खोले ।

उनले भने, ‘यो सम्झौताको प्रसंगमा नै छलफल चलिरहेको हुनाले विषयान्तर भएको छैन । यो एकदमै सान्दर्भिक छ । सम्झौता त फिर्ता लिन सकिन्छ नि । खै त यत्रो मन्त्रिपरिषद बैठकले निर्णय गर्दा, मन्त्रीज्यूले भन्दा, खै त पत्र गएको ? त्यसकारण एकदमै सान्दर्भिक छ ।’

सभा सञ्चालन गरिरहेकी पहाडीले नजिकै रहेका कर्मचारीको सल्लाहअनुसार बोलिन् ।

‘माननीयज्यू यहाँको सयम सकिएको छ । यो विषयमा मेरो ध्यानाकर्षण भएको र माननीय मन्त्री ज्यूले बोल्नु पनि हुनेछ ।’

रावलले जवाफ दिए, ‘म रुलिङको माग गर्न चाहन्छु सभामुख महोदय । पत्र पठाएर संसदलाई जानकारी गराइयोस् । मन्त्रिपरिषद्को निर्णयबमोजिम गृहमन्त्रीजी, परराष्ट्रमन्त्रीजी र देशका प्रमुख नेताको भनाइ बमोजिम अमेरिकालाई तुरुन्त पत्र पठाइ त्यसको जानकारी नेपाली जनतालाई जानकारी गराइयोस भन्दै सभामुख महोदयबाट म विशेष निर्देशनको अपेक्षा र माग गर्न चाहन्छु ।’

त्यसपछि सभा सञ्चालन गरिरहेकी पहाडीले यसमा आफ्नो ध्यानाकर्षण भएको र यस विषयमा मन्त्रीले बोल्ने जानकारी गरान् । मन्त्रीलाई बोल्नका लागि रुलिङ गरिएको पनि उनले सदनमा जानकारी गराइन् । तर, रावलले यसमा चित्त बुझाएनन् ।

उनले भने, ‘मैले सदनमार्फत सरकारलाई सहयोग गर्न खोजेको हो सभामुखज्यू । यहाँ मन्त्रीज्यूको जवाफले हुने भए त गृहमन्त्री र परराष्ट्रमन्त्रीले पहिले नै जवाफ दिइसक्नुभयो । सदनले सरकारलाई परेको गाँठो फुकाइदिनुपर्यो । सरकार अफ्ठेरोमा पर्‍याे। त्यसैले सरकारलाई विशेष निर्देशन हुनुपर्‍याे । त्यो विशेष निर्देशन अनुरुप सरकारले पत्र पठाएर त्यसको जानकारी यो सदनलाई दिनुपर्छ ।’

त्यति भनेर रावल रोकिए । पहाडी के गर्ने, के नगर्ने भनेर यताउता हेरिरहेकी थिइन् । त्यसपछि उनले मन्द मुस्कानसहित समय सकिएको जानकारी गराइन् । तर रावल भने उभिरहे रोष्टममै ।

त्यसैबीचमा नेपाली कांग्रेसका सांसद मीन विश्वकर्मा उठ्दै नियमापत्ती गरे । पहाडीले केको नियमापत्ती हो भन्दै प्रश्न गरिन् । विश्वकर्माले विषयान्तर गरेर सभामुखको रुलिङ मागेकोमा नियमापत्ति जानकारी गराए ।

त्यसपछि पहाडीले रावललाई बस्नका लागि अनुरोध गर्दै भनिन्, ‘माननीय ज्यू, यहाँलाई आफ्नो आसनग्रहण गर्नतिर जानका लागि अनुरोध गर्छु । र यो विषयमा मैले अघि नै भनिसकेको छु । र अर्को माननीय ज्यूको पालो आएको छ । आफ्नो आसन ग्रहण गरिदिनुस ।’

तर रावल सदनको रोष्ट्रममा हाँसेर उभिइरहे । पहाडीले नजिक रहेका कर्मचारीको सहयोगमा रावलले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जानकारी गराउँदै सम्बन्धित विषयमा रहेर मन्त्रीले पनि कुरा राख्ने जानकारी गराइन् रावललाई फेरी पनि बस्नका लागि आग्रह गरिन् ।

रोष्टममा नै उभिएर मन्द मुस्कान दिइरहेका रावल फेरि बोल्न थाले ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय, यसमा यो छलफल नभएको विषय भनेर भनेको पनि मेरो छ्वास्स कानमा पर्‍याे। यो जति धेरै छलफल भएको विषय अरु कुनै छैन । सरकारलाई गाह्रो परेको हुनाले नेपाली जनताको हितमा सदनले सहयोग गर्नैपर्ने अवस्था देखियो ।’

पहाडीले माइक मिलाउदै भनिन्, ‘त्यो विषयमा माननीय मन्त्री ज्यूले बोल्नुहुनेछ । माननीयज्यू आसनग्रहण गर्नुहोस ।’

फेरी रावलले जवाफ दिए, ‘सभामुख महोदय, मैले माननीय मन्त्रीज्यूको स्पष्टीकरण खोजेको होइन । यो सदनको सरकारलाई सहयोग खोजेको हो । जसले गर्दा सरकारले आफुले गरेको वचनवद्धता अनुसार एउटा कुनै देशलाई पत्र पठाउन सकोस् । यो संसदको ताकत चाहियो के त्यो सरकारलाई । सरकारलाई अफ्ठेरो पर्‍याे सम्माननीय समाभुख महोदय । निर्देशन दिएपछि सरकारलाई सजिलो हुन्छ । हामीले पत्र पाउछौं । यो देश कसैको सैनिक अखडा बन्नबाट बच्छ ।’

त्यसपछि नेकपा (माओवादी केन्द्र)को तर्फबाट सिराहा क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद सुरेन्द्रचन्द्र दासले नियमापत्ति जनाए । पहाडीले उनलाई बस्न आग्रह गरिन् । तर, उनी पनि आफ्नो सिटमा उभिएर बोलिरहे । उनको माइक भने बन्द नै थियो । सदनमा दासले जनाएको नियमापत्तीमा सत्तारुढ सांसदले टेबल ठोके । त्यसपछि पहाडीले रावलले उठाएको प्रश्नबारे सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराएको जानकारी गराईन र बस्न फेरि आग्रह गरिन् ।

रोष्टममा उभिएका रावलले मन्त्रीको ध्यानाकर्षण गराउन जरुरी नभएको बताउदै पुरानै कुरा दोहोर्‍याए । पहाडीले पनि उही अडान दोहोर्‍याइन् । यही सिलसिला अर्को एकपल्ट चल्यो ।

सदनमा रहेका सदस्यले माइक काट्न आग्रह गर्दै आपत्ति जनाए । सदनमा हल्लाखल्ली सुरु भयो । पहाडीले सबैलाई धैर्य गर्न आग्रह गर्दै भनिन्, ‘वक्ता माननीय सदस्य तपाइले उठाउनुभएको विषयतिर गम्भिरतापूर्वक ध्यानाकर्षण भएको छ । अरु मानीय ज्यूलाई पनि बोल्ने पालो दिने हो कि माननीय ज्यू ?’

यसअघि नै नियमापत्ती जनाएका माओवादीका सांसद दासले फेरी पनि नियमापत्ती जनाए । उनले रोष्टममा निरन्तर उभिएर बोलिरहेका रावलाई बस्नका लागि रुलिङ गर्न आग्रह गरे ।

त्यसपछि रावलले रोष्टमबाट फेरी बोल्न सुरु गरे र पुरानै कुरा फलाक्न थाले । रावलले रोष्टमबाट बोल्दै गर्दा, अर्को एकजना सांसदले आफ्नो सिटबाट उभिएर आपत्ति जनाइरहेका थिए । पहाडी र रावलबीच अर्को दुई–तीन राउन्ड दोहोरी चल्यो ।

त्यति नै बेला सभामुख अग्निप्रसाद सापकोटा वैठकमा प्रकट भए । उनले वैठक सञ्चालनको जिम्मा लिएर रावललाई विषयान्तर भएकोतर्फ ध्यानाकर्षण गराउँदै बस्न आग्रह गरे ।

उनले भने, ‘माननीय सदस्य । यो विषयान्तर भएको छ । तपाईंले आफ्ना कुरा राख्नुभएको छ । सभामुखबाट पनि ध्यानाकर्षण भएको छ भनिएको छ । तपाईंले सदनमा कुरा राखिसकेपछि सरकारको पनि ध्यानाकर्षण भएको छ । त्यसकारण तपाई आफ्नो आसनमा गएर बस्नुहोला ।’

तर, रावल टसमस भएनन् ।उनले एसपीपीको विषयमा रुलिङ गर्नै पर्ने अडान लिँदै पहिलेकै कुरा दोहो¥याए ।

त्यसपछि सभामुख सापकोटाले रावललाई सम्बोधन गर्दै भने, ‘माननीय सदस्य, यो सदनमा अर्को विषयमा छलफल चलिरहेको छ । त्यसैकारण तपाईंको कुरामा पनि सदनको ध्यनाकर्षण भएको छ । तपाई बस्नुस । यो निर्णयलाई तपाई मान्नुस ।’

तर, रावल मानेनन् । अन्ततः केही नलागेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे । त्यसपछि वैठकबाट सांसदहरु तितरवितर भए । हल खाली भएपछि रावलले पनि झ्याउ लागेर रोष्टमबाट निस्किए ।

१५ मिनेटपछि बैठक पुन सञ्चालन गर्दा रावल रोस्टममा गएनन् । वैठक सामान्यरुपमा सञ्चालन भयो ।

प्रतिनिधिसभामा सभामुखको अनुपस्थितिमा वैठक सञ्चालन गर्नका लागि केही सांसदहरुलाई तोकिएको हुन्छ । उनीहरुमध्ये जो कसैलार्ई सभामुखले जिम्मेवारी दिन सक्छन् । आज सभामुख सापकोटा र उपसभामुख पुष्पा भुषाल एउटा छलफलका लागि बाहिर निस्किएका थिए । त्यस क्रममा सापकोटाले पहाडीलाई सभा सञ्चालनको जिम्मा दिएका थिए । एमाले सांसद रावलले पार्ट टाइम सभामुख पहाडीलाई आच्छुआच्छु बनाइदिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर