पेस्तोलसहित भेटिएका युवा हतियार मुद्दामा फस्नबाट यसरी जोगिए – Nepal Press

पेस्तोलसहित भेटिएका युवा हतियार मुद्दामा फस्नबाट यसरी जोगिए

काठमाडौं । ललितपुर प्रहरी परिसरले गत असार १३ गते लुभुबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ परेको भन्दै तस्बिरसहित घटना सार्वजनिक गर्‍यो ।

५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ सवार प्रदेश ३-०२-०१२ प ६२४१ नम्बरको स्कुटरको डिकीमा २ राउन्ड गोलिसहित पेस्तोल भेटिएको प्रहरीको दाबी थियो । पक्राउ परेको झण्डै तीन सातापछि श्रेष्ठ सोमबार निर्दोष भन्दै छुटेका छन् ।

उनको स्कुटरमा पेस्तोल राखेर फसाउन खोजिएको निष्कर्ष निकाल्दै प्रहरीले त्यसमा संलग्न ५३ वर्षीय अनिल श्रेष्ठ र ५० वर्षीय अख्खनदास श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

श्यामकृष्ण लुभुस्थित सहयोगी सहकारीका म्यानेजर हुन् भने सोही सहकारीमा अध्यक्ष रहेका छन् अनिल । अख्खनदास यसअघि उक्त सहकारीमा उपाध्यक्ष रहेका थिए ।

यसरी फसाउन खोजेको निष्कर्षमा पुग्यो प्रहरी

पक्राउ परेलगत्तै श्याममाथि अनुसन्धानको क्रममा प्रहरीमाथि शंका उब्जियो ।

‘हतियार बोक्ने मान्छेले कि त कसैलाई गोली हान्न प्रयोग गर्छ कि बिक्री गर्न । प्रारम्भिकरूपमा हेर्दा ती दुवै स्थिति श्यामकृष्णको सन्दर्भमा देखिएन । त्यही कारण गहनरूपमा अनुसन्धान गर्ने निष्कर्षमा हामी पुग्यौँ’, अनुसन्धानमा संलग्न अधिकारी भन्छन् ।

त्यसपछि हतियार रहेको सूचना पाउने प्रहरी र ती व्यक्तिलाई सूचना दिने दुवैको कल रेकर्ड पनि लिइयो । प्रहरीलाई हतियारबारे सूचना दिने व्यक्ति अनिल श्रेष्ठ थिए । सूचना दिने र पक्राउ पर्ने दुवैजना एउटै सहकारीमा काम गर्ने पाइएपछि प्रहरीले सहकारी कार्यालयलगायत विभिन्न ठाउँको सीसीटीभी फुटेज पनि हेरेको थियो ।

अनिलले श्यामकृष्णसँग हतियार रहेकोबारे प्रहरीलाई खबर गरेको त्यो पहिलोपटक थिएन । गत जेठ २५ गते पनि श्यामकृष्णले चढ्ने गरेको स्कुटीमा पेस्तोल रहेको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यस दिन प्रहरीले स्कुटी भेटेन । सहकारीबाट श्याम ननिस्किएपछि स्कुटी ननिस्किएपछि दिउँसो पुगेर अनिलले पेस्तोल निकालेको निष्कर्ष प्रहरीको छ ।

‘कार्यालय जानै नपर्ने दिनमा अनिल पार्किङसम्म पुगेर त्यहाँबाटै फर्किएको देखिन्छ’, ती अनुसन्धान अधिकारी भन्छन् । प्रहरीको दोस्रो प्राविधिक अनुसन्धान श्यामकृष्ण पक्राउ परेको दिन असार १३ गतेको हो । त्यस दिन सुरक्षागार्डलाई आफ्नो मान्छे बाहिर आइरहेको छ भन्दै हेर्न पठाएर अनिलले पार्किङमा राखेको स्कुटरमा पेस्तोल राखेको दाबी प्रहरीको छ ।

‘अनिल‍ले बाटोमा निस्किएर प्रहरीलाई खबर गरेको बताएका छन् तर प्राविधिक विश्लेषण गर्दा सहकारीको भर्‍याङबाट ओर्लँदै गर्दा उनले प्रहरीलाई खबर गरेको देखिन्छ’, अनुसन्धान अधिकृत भन्छन् । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा अनिलले श्यामकृष्ण अत्यन्तै राम्रो मान्छे भएको बताएका थिए । त्यसपछि यति राम्रो मान्छेलाई कसले फसाउन खोज्यो होला ? भनेर प्रश्न गर्दा अनिल नर्भस भएको अनुसन्धान अधिकारीको भनाइ छ ।

श्यामकृष्णले विगत एक वर्षदेखि सहकारीको नाममा रहेको उक्त स्कुटर चलाउँदै आएका थिए । त्यसअघि अख्खनदासले चलाउने गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अख्खनदाससँग रहेको स्कुटीको चाबी मागेर अनिलले डिकिमा पेस्तोल राखेको खुलेको छ ।

अनिलले षड्यन्त्र गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष भएपनि उनले कहाँबाट पेस्तोल ल्याए भने अझै खुलेको छैन । अनिलले आफ्नो संलग्नता अस्वीकार गरेकाले हतियारको स्रोत नखुलेको प्रहरीकव भनाइ छ ।

अनिलले किन फसाउन खोजेका थिए ?

अनिलले श्यामकृष्णलाई फसाउन खोज्नुमा प्रहरीले कर्जा असुली र पूर्वरिसइबीलाई नै प्रमुख कारण मानिएको छ ।

प्रहरीका अनुसार अनिलले केही समय अघि सर्लाही घर भई ललितपुरको लुभुमा बस्दै आएका शिवजी महतोकी श्रीमती सरस्वती खत्रीलाई भगाएका थिए । शिवजी, श्यामकृष्ण साथी हुन् ।

त्यसपछि अनिलविरुद्ध ललितपुर प्रहरी परिसरमा बहुविवाहको मुद्दा परेको थियो । श्यामकृष्णले अदालतमा आफूविरुद्ध बकपत्र दिएपछि अनिल उनीसँग रिसाएको बताइएको छ ।

दोस्रो कारण अनिलले आफू अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण चुक्ता गर्न श्यामकृष्णले गरेको ताकेतालाई मानिएको छ । अनिलले सहयोगी सहकारीबाट २ करोड ९५ लाख रुपैयाँ ऋण लिएपनि ब्याज र सावाँसमेत नतिरेपछि श्यामकृष्णले अन्य फस्न सक्ने भन्दै कर्जा चुक्ताका लागि उनलाई दबाब दिइरहेका थिए ।

‘श्यामकृष्णलाई फसाउन सके कर्जाको दबाब कम हुने सोचेर उनले पेस्तोल राखेको देखिन्छ’, अनुसन्धान अधिकारी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर