७५ हजार डलर पुरस्कारसहित ‘मेरो भ्वाइस र डान्स यूनिभर्स’को घोषणा – Nepal Press

७५ हजार डलर पुरस्कारसहित ‘मेरो भ्वाइस र डान्स यूनिभर्स’को घोषणा

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा नेपालमै पहिलो पटक सर्वाधिक ठूलो धनराशीसहितको दुई वटा रियालिटी शो आयोजना हुने भएको छ ।

साेमबार काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ आयोजना गर्न लागिएको जानकारी गराए ।

विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागीतामा यो शो आयोजना गरिनेछ । ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले ७५ हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि ७५ हजार डलर पुरस्कार पाउनेछन् । यो शोको फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले भने–‘यो कार्यक्रम आयोजना गरेर हामीलाई कुनै पनि नाफा कमाउनु छैन । विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई एक सुत्रमा वाध्ने र उनीहरुलाई नेपाली भाषाको बारेमा सधै नै सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’

यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् । अगष्ट महिनादेखि सुरु हुने अडिसन डिसेम्बर ३१, २०२२ सम्म जारी रहने पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले जानकारी गराए । यस्तै, जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ । अधिकारीका अनुसार, नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिसन हुनेछ । यस्तै, क्यानडा र अमेरिकामा भने १–१ स्थानमा अडिसन गरिनेछ । यी बाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याको आधारमा अडिसन हुने बताइएको छ ।

फ्रेबुअरी २८ तारिखसम्म फिल अडिसन सकेर साइटलेस अडिसनका लागि छनोट भएका प्रतिस्पर्धीलाई नेपालमा ल्याउने इन्ट्रा फाउन्डेशनका अध्यक्ष अधिकारीले बताए ।

नेपाली गीतसंगीतलाई फराकिलो स्थान दिनका लागि यो कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । यो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मानित पनि गरियो ।

कार्यक्रममा बरिष्ठ कलाकार निर शाह, नायक भूवन केसी, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, नायिका प्रियंका कार्की, कार्यक्रम होस्ट सुशिल नेपाल, ‘द भ्वाइस अफ नेपाल’का अध्यक्ष लक्ष्मण पौडेललाई सम्मानित गरियो ।

यस्तै, कार्यक्रममा कुमार कार्की, दुर्गा प्रसाद पाण्डे, ज्ञानेन्द्र राज देवकोटा र माधव खरेललाई पनि सम्मानित गरियो ।

कार्यक्रममा कलाकार किरण केसीले गीत गाएर सुनाएका थिए । यस्तै, गायक पुष्पन प्रधान, शिव परियारले पनि गीत गाएर कार्यक्रममा मनोरञ्जन प्रदान गरे । कार्यक्रममा नेपाली विरहरुको विरता झल्कने डान्स समेत प्रस्तुत गरिएको थियो ।

इन्ट्रा फाउन्डेशनले अहिले ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ आयोजना गरिरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर