ठेकेदारको लापरबाहीले ६ वर्षदेखि अलपत्र बुटवलको सडक – Nepal Press

ठेकेदारको लापरबाहीले ६ वर्षदेखि अलपत्र बुटवलको सडक

कारबाहीको साटो मिलेमतोमा म्याद थप्न खोजेपछि स्थानीय आक्रोशित

रूपन्देही । लुम्बिनी प्रदेशको मुकाम बुटवलको मुख्यभागमा रहेको साढे ३ किलोमिटर बाटो ६ वर्षदेखि अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको साटो म्याद थप गर्ने तयारी भएको छ । केही समयअघि अन्तिम पटकका लागि भन्दै थपिएको म्यादमा पनि काम सकिने छाँट छैन ।

बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको ६ लेन सडक विस्तारको काम ठेकेदारको चरम लापरबाहीकै कारण पटकपटक म्याद थप्दा पनि पूरा भएको छैन । बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो ।

संघीय आयोजनामा रहेको यो सडक पहिले यहाँका मुख्य व्यापारीले केही दलको प्रत्यक्ष सहयोगमा अदालतबाट रोके भने अदालती झन्झटबाट मुक्त भएपछि बारम्बार ठेकेदारले झुलाउँदै आएपनि आन्तरिक मिलेमतोमा ठेकेदारकै पक्षमा पटक पटक म्याद मात्रै थपिएको छ । निर्माणको अधिकांश काम अलपत्र छाडेपनि ठेकेदारले रकम भने नियमित लगिरहेका छन् । अन्तिमपटकका लागि भन्दै थपिएको म्याद सकिन एक साता मात्रै बाँकी हुँदा २५ प्रतिशत जति मात्र काम गरिएको छ ।

यो सडक विस्तारको कामका लागि सम्झौता गर्दा ४७ करोड २७ लाख रूपैयाँमा थियो । पछि लागत बढेर ५३ करोड ९८ लाख रूपैयाँमा सम्झौता भयो । ठेकेदार कम्पनीले हालसम्म १३ करोड ६४ लाख रूपैयाँ भुक्तानी लगिसकेको आयोजना कार्यालयका सूचना अधिकारी सविता ज्ञवालीले बताइन् । यो सडकको ठेक्का सुरू भएलगत्तै अदालतमा मुद्दा परेर दुई वर्ष जति काम रोकियो । त्यसको केही समयपछि कोरोना कहरले काममा केही ढिलाई भयो । तर, निर्माणको जिम्मा पाएको कञ्चनजंघा/विरुवा जेभीले त्यसयताका सहज परिस्थितिमा पनि काम नगरेको आयोजनाकै कार्यालयका अधिकारीको भनाइ छ ।

ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई अहिले फेरि ठेक्काको एक वर्ष म्याद थप्न मिल्नेगरी सार्वजनिक खरिद ऐन संशोधन भएको छ । केही दिनअघि मात्रै आएको सार्वजनिक खरिद ऐनको १२ औं संशोधनमा गरिएको व्यवस्थाअनुसार ठेकेदारलाई अझै एक वर्ष म्याद थप्न मिल्नेछ । ट्राफिक चोकदेखि अस्पताल लाइनसम्मको सडक ‘वान वे’ बनाइएपछि सवारीसाधन जाममा पर्ने र पानी पर्दा सवारी गुडाउन नमिल्ने अवस्था छ ।

२०७५ वैशाख १२ गते अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थप भएको थियो । तर, निर्माण कम्पनीले काम गर्न नपाएको भन्दै दोस्रो पटक २०७७ पुस १० गते मन्त्रिपरिषद बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप गर्‍यो । बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक झाले काम गर्न कुनै अवरोध नभएपनि ठेकेदारले लापरबाही गरेकाले सडक निर्माणले गति लिन नसकेको बताउँछन् ।

उनले भने, ‘ठेकेदारलाई बारम्बार ताकेता गरेका छौं, विभागीय मन्त्रालय, सिडीओ अफिस पनि गुहारेका छौं तर पनि रफ्तारमा काम भएन ।’
दोस्रो पटक थपिएको म्याद पनि सकिएपछि अब पुनः म्याद थपिने निश्चित भएको आयोजना प्रमुख झाले बताए । उनका अनुसार सार्वजनिक खरिद ऐन संशोधन भएकाले २१ दिनभित्र ठेकेदारले निवेदन दिने र ३० दिनभित्र म्याद थप हुनेछ ।

नाली खनेर र खाल्डा पारेर अलपत्र अवस्थामा रहेको सडक अहिले वर्षायाममा हिलाम्य छ । केही क्षण घाम लाग्दा धुलाम्य हुने गरेको छ । यो सास्ती झण्डै ६ वर्षदेखि भोग्नुपरेको स्थानीयको गुनासो छ । सडक प्रयोगकर्ता र किनारका व्यापारिक बस्तीले हैरानी र सास्ती ब्यहोर्नुपरेको दुखेसो पोख्छन् ।

चौराहादेखि गोलपार्क सम्मको सडक खण्डमा नाली निर्माण भएपनि त्यसको ढक्कन बनाइएको छैन । नाली निर्मणको काम पूरा भने भएको छैन । सर्भिस लेनको टुंगो छैन । सर्भिस लेनमा परेका बिजुलीका तार र पोल हटाइएका छैनन् भने उहिल्यै हटाउन सुरू गरिएका खानेपानीका पाइप पनि हटाएर सकिएको छैन । सर्भिस लेन र नालीमाथि रहेका विद्युत्का पोल, ट्रान्सफर्मर हटाउन बाँकी रहेको र नाली निर्माणको काम ८० प्रतिशत पूरा भएको सडक आयोजना कार्यालयको भनाइ छ ।

सडक विस्तारको योजना सुरू भएर ठेक्का लाग्नसाथ अवरोध भयो । सडक किनारमा रहेका र सडकको क्षेत्राधिकारमा रहेका घरधनीले मुद्दा मामिला गरेर निर्माणको काम रोक्न लगाए । २०७६ असोजमा पूरा गर्ने गरी सम्झौता भएकोमा सडकको ८२ फुट क्षेत्रभित्र घर परेका घरधनीले अदालतमा मुद्दा हालेपछि २ वर्ष काम रोकिएको थियो ।

२०७५ वैशाख १२ गते अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थप भएको थियो । तर निर्माण कम्पनीले काम गर्न नपाएको भनी म्याद थप्न निवेदन दियो । निवेदनअनुसारै दोस्रो पटक म्याद थप भयो । २०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप भएको थियो ।

व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक झा कार्यालय र सरोकारवालाको तर्फबाट समन्वय र सहजीकरण भएपनि निर्माण कम्पनीले राम्रोसँग कामै नगरेको बताउँछन् । उनले एउटै आयोजनामा एउटै ठेकेदारलाई बारम्बार ताकेता गर्ने, प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने, प्रशासनमा उपस्थित बनाउनेसम्मका काम गरिएको तर काम भने अनुसार नभएको बताए ।

प्रमुख जिल्ला अधिकारीकै रोहबरमा गतवर्ष बुटवलका तत्कालीन प्रमुख शिवराज सुवेदी र आयोजनाका कार्यालय प्रमुख रहेका इन्जिनियर जयलाल मरासिनीसहितको पहलमा ठेकेदार र कम्पनीका प्रतिनिधिहरूसँगै कैयौँपटक छलफल भयो । कार्यालय सरोकारवालाहरू समेतको उपस्थितिमा पटकपटक ताकेता गरायो ।

सोही क्रममा ०७८ असार १८ गते प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र जिल्ला प्रहरी प्रमुखलगायतको रोहवरमा ठेकेदार सुवित श्रेष्ठले २०७९ असार मसान्तसम्म काम सक्ने लिखित प्रतिबद्धता जनाएपनि पछि ठेकेदार सम्पर्कमै आएनन् ।

अहिलेलाई सडकको बीच भाग (क्यारिज वे) को काम मात्रै भएपनि फटाफट पूरा गर भन्दै आग्रह गरिएको छ । तर, त्यो काममा पनि ठेकेदारले तदारुकता देखाएको छैन । हस्पिटल लाइन र ट्राफिकचोकदेखि तलको केही भागलाई एकतर्फी बानएर काम गर्न थालिएपनि त्यो अझै पूरा भएको छैन । पुष्पलाल पार्कको गोलघुम्ती र चौराहाको गोलघुम्तीलाई र अस्पताल लाईनको सडकलाई पहिले पूरा गर्न आग्रह गरिएको र आवश्यक समन्वय गरिएपनि ठेकेदारले अटेरी गर्दै आएको आयोजना प्रमुख झाको गुनासो छ ।

पूर्वअर्थमन्त्री तथा यस क्षेत्रका संघीय सांसद विष्णुप्रसाद पौडेलले बुटवलको अनुहार फेर्नेगरी बनाइएको यो मुख्य मार्गलाई हिजो अवरोध गर्नेलाई स्थानीयले पहिचान गरिसकेको र अबपनि कुनै बहानामा चलखेल गर्न खोजे सैह्य नहुने बताएका छन् ।

‘निकै मेहनत गरेर अगाडि सारिएको यो योजना कार्यान्वयन हुन रोक्नेहरू परास्त भएका छन्, अहिले पनि केहीले दुस्साहस गरेका होलान्, अब बुटवलवासी धेरै सचेत भएका छन्, विकासविरोधी तत्वलाई पहिचान गर्न अब यहाँका विभिन्न संघसंस्थामा नेतृत्व गर्नेहरू अगाडि सर्नपर्छ, यथाशक्य यो बाटोलाई पूरा गराउन दबाब दिनुपर्छ, जति विलम्ब भयो उति खर्च बढिरहेको छ’, उनले भने ।

ठेकेदारलाई कारबाही गर्न माग

बुटवल बहुमुखी क्याम्पसका अध्यापक नुरजंग केसीले चौराहादेखि गोलपार्कसम्मको यो बाटो निर्माणका लागि म्याद थप्ने प्रयास अब मान्य नहुने बताए । केही दिनअघि बुटवलमा आएका मेयर खेलराज पाण्डेको पहलमा बाटो बन्न लागेको प्रचार गर्दै आएका उनले काम सुरू भएपछि ठेकेदार भागेर अहिले पुनः म्याद थप्न खोजेपछि आक्रोशित बनेका हुन् । उनी भन्छन्, ‘ खबरदार ! म्याद थप्नु पनि अपराध हो, म्याद थप्नु हुँदैन बरु लाइसेन्स खारेज गर्नुपर्छ ।’

अधिवक्ता कृष्ण पोखरेलले पटक-पटक बुटवलवासीलाई धोका दिने ठेकेदारलाई म्याद थपेर प्रोत्साहित गर्नै नहुने बताउँछन् । उनी पनि यो बाटोको ठेक्का लिने अन्नपूर्ण बिरुवा कन्स्ट्रक्सनको म्याद थप्ने होइन, लाइसेन्स नै खारेजी गर्नुपर्ने विषयमा सडकमै बहस गर्न तयार भएको बताउँछन् ।

कांग्रेसका युवा नेता मुक्ति पौडेलले बुटवलको मध्यभागको बाटो पिच गर्ने भन्दै एकतर्फी गरेको महिनौ दिन भएपनि अलपत्र पारिएको, एकतर्फी बाटो बनाउँदा गाडीहरू जाम हुने, अर्कोतिर झन खाल्डाखुल्डी बढेको, महिनौ दिनसम्म पनि पिच नगर्ने ठेकेदारको चरम लापरबाही र उदासीनता प्रष्ट भएकाले अब युवाहरू आफैँ सडकमा पुगेर बन्द बाटो खुलाउने र ठेकेदारदाई कारबाही गराउनेतर्फ योजनामा लागेको बताए ।

एमाले नेता देवराज पोखरेलले यो बाटो बुटवलमा रहेका केही दलका नाइके र व्यापारीबाट ठेकेदार पोस्ने काम भएकाले ढिलाई भएको आरोप लगाउँछन् ।

उनी भन्छन्, ‘अहिले सडक पोतेको नाटक गरेर म्याद थप भयो, अब कुल लागतको २० प्रतिशत अर्थात ९ करोड ४० लाख मूल्यवृद्धिबापत ठेकदारले पाउँछ त्यसबाट भागबण्डा गर्नेहरूलाई अब सार्वजनिक गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर