प्रतिपक्षको बहिष्कारबीच भावुकता र आक्रोश मिश्रित अर्थमन्त्रीको सम्बोधन – Nepal Press

प्रतिपक्षको बहिष्कारबीच भावुकता र आक्रोश मिश्रित अर्थमन्त्रीको सम्बोधन

काठमाडौँ । संघीय संसद् सचिवालयले बुधवार बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलायो । बैठकको पहिलो कार्यसूचीमा थियो, सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी पत्र पढेर सुनाउने ।

तर, नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि संसदीय समिति गठन गर्नुपर्ने र अर्थमन्त्रीले पनि राजीनामा दिनुपर्ने अडान लिएर संसद् बैठक अवरोध गर्ने तयारी गरेको थियो । त्यसैले बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २ बजेका लागि सारियो । बैठक दिउसाे २ बजेका लागि बाेलाइएकाे भए पनि छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ दल, प्रमुख प्रतिपक्ष दल तथा सभामुख अग्निप्रसाद सापकोटाबीच सहमति हुन नसक्दा करिव ४ बजेमात्र बैठक सुरु हुनेगरी सहमति हुन पुग्याे ।

मध्यान्ह ४ बजे बैठक सुरु गर्दै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाए । त्यस लगत्तै सभामुख सापकोटाले अर्थमन्त्रीमाथि छानबिन गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट ४ जना, सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट २/२ जना तथा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक÷एक जना सदस्य रहने गरी ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठनको प्रस्ताव प्रस्तुत गरे । सुझावसहितको प्रतिवेदन १० दिनमा प्रतिनिधि सभामा नै पेश गर्ने समय सीमा दिएर छानबिन समितिको संयोजक चयन गर्ने जिम्मेवारी पनि समितिलाई नै दिएको उनले घोषणा गरे । सबैले ताली बजाउँदै सहमति जनाए ।

यसपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि उठेको प्रश्नबारे संसद्मा वक्तव्य दिन चाहेको भन्दै उनलाई बोल्ने समय दिए । लगत्तै नेकपा एमालेबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदले टेबल ठटाउँदै विरोध जनाए । त्यसपछि सभामुख सापकोटाले नेकपा एमालेका सांसद योगेश भट्टराईलाई बोल्नका लागि ७ मिनेटको समय दिए ।

सभामुखलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘प्रमुख प्रतिपक्ष दलको हैसियतले पटक–पटक आगामी आर्थिक वर्षको बजेट निर्माणमा भएका अनियमितताका विषयमा हामीले प्रश्न उठाएका थियौ । यसै महिनाको २० गते संसद्मा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सविस्तार कुरा उठाई पनि सक्नुभएको छ । सचेतकले आवश्यक कारबाहीका लागि सभामुखमार्फत रुलिङ पनि गराइसक्नुभएको छ ।

सबै निकायले सडकमा आवाज उठाए । एक महिनादेखि नेपाली सञ्चारमाध्यमको प्रमुख शीर्षक नै यही बनिरहेको छ । नागरिक समाजका अगुवाले गम्भीरताका साथ यसै विषयलाई उठाइरहनुभएको छ । सबैले यसलाई चासो देखाइरहनुभएको छ र प्रश्न पनि गरिरहनुभएको छ । सिंगो मुलुकले यसलाई अत्यन्त गम्भीरताका साथ लिइरहेको छ ।

पछिल्ला दिनमा स्वयम् सत्तारुढ दल र विशेष गरी नेपाली कांग्रेसका नेताले पनि यस विषयमा आफ्नो धारणा राख्नुभएको छ । सभामुखको सक्रियतामा संसदीय छानबिन समिति गठन भएको छ । यसमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट सम्माननीय सभामुखसहित सिंगो संसद्लाई धन्यवाद दिन चाहन्छु । जुन यहाँले महत्त्वपूर्ण काम गर्नुभयो । तर, लगत्तै अर्थमन्त्रीलाई बोलाउँदै हुनुहुन्छ यसप्रति हाम्रो गम्भीर चासो छ ।

सांसद योगेश भट्टराईले यति बोल्दै गर्दा नेकपा एमालेबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदले टेबुल ठटाए । त्यसपछि भट्टराईले थपे,

अर्थमन्त्रीको तर्फबाट उहाँलाई संसद्मा बोल्ने कुनै नैतिकता छैन । उहाँ स्वतः दोषी प्रमाणित भइसक्नुभएको छ । यो गठित छानबिन समितिले त उहाँमाथि के कारबाही गर्ने भन्ने कुराको टुंगो लगाउने हो । उहाँ कारबाहीको भागीदार भइसक्नुभएको छ । उहाँले यो संसद्को रोष्टममा अर्थमन्त्रीको रूपमा बोल्न कुनै नैतिक अधिकार छैन । हामी चाहन्छौ राजीनामा दिनुस् । अब पूर्वअर्थमन्त्रीका रूपमा बयान दिनुपर्छ । अर्थमन्त्रीका रूपमा बयान दिने कुनै नैतिकता छैन ।

छानबिन समिति बन्नु राम्रो हो । बर्खास्ती गर्ने हो कि, राजीनामा गर्ने हो कि के तरिकाबाट हटाउने हो, त्योबाहेक अरू कुनै विकल्प छैन । उहाँको भाषण सुन्न हामी तयार छैनौँ । सरकारी सूचना गायब गर्ने व्यक्तिलाई पदमा राखेर कुनै पनि छानबिन हुन सक्दैन । जसमाथि छानबिन गर्ने उसलाई पदमा राख्ने हो भने भएका सूचना पनि गायब हुन्छन् । आजदेखि नै सचिव अनिश्चतकालीन बिदामा बसिसक्नुभएको छ । उहाँसँग काम गर्न कोही पनि इच्छुक छैनन् । अर्थमन्त्रीले राजीनामा दिइसकेपछि छानबिन समितिले पूर्व अर्थमन्त्रीका रूपमा बयान लिन्छ ।

सांसद योगेश भट्टराईले बोल्दै गर्दा अर्थमन्त्री शर्मा आफ्नो सिटमा बसेर टुलुटुलु हेरिरहेका थिए । नेकपा (माओवादी केन्द्र)का तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसद, विशेष गरी महिला सांसदले उठेर भट्टराईको टिप्पणीमा विरोध जनाए । तर, सभामुख सापकोटाले विरोध जनाउने नेकपा माओवादी केन्द्रका सांसदलाई बस्न आग्रह गरे । उनीहरू बसेपछि भट्टराईले आफ्नो कुरा टुङ्ग्याए ।

भट्टराईले बोलेर सक्ने बित्तिकै सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिए । लगत्तै नेकपा एमालेबाट संसद्मा प्रतिनिधित्व गर्ने सबै सांसद आफ्नो सिटबाट उठेर बैठक कक्षबाट बाहिरिए । अर्थमन्त्री शर्मा भने संसद् बैठकको रोष्टममा पुगेर बोल्न सुरु गरे । करिब ३० मिनेटको सम्बोधनमा केही भावुकता र केही आक्रोश मिसिएको थियो ।

अर्थमन्त्रीले सम्बोधन सुरु गर्दासम्म धेरैलाई उनको राजीनामा आउने सूचना धेरैलाई थिएन । एमालेले पनि आफूमाथि उठेका प्रश्नको जवाफ र बचाउमा मात्रै बोल्ने ठानेर उनको सम्बोधन बहिष्कार गरेको थियो । तर, सम्बोधनको उत्तरार्द्धमा अर्थमन्त्रीले राजीनामाको घोषणा गरेपछि संसभित्र सन्नाटा छायो ।

अर्थमन्त्रीको सम्बोधनको मुख्य अंश यस्तो थियो 

म संसदीय छानबिन समितिको स्वागत गर्न चाहन्छु । अर्थमन्त्रीको हैसियतले आफूमाथि उठेका प्रश्नको जवाफ दिन म तयार छु । बोल्न नै नपाउने नैतिकता के कारणले गुमाएँ ? न मैले संकट परेका जनतामाथि कोरोनाको बेला बदमासी गरे । न मैले करको दर हेरफेर गर्दा कुनै व्यापारीलाई सामान भित्र्याउने अनुमति दिएँ । न मैले बच्चाको दूधको दर घटाएर चकलेटको दर बढाएँ ? यो एउटा राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो ।

एमालेका सांसद योगेश भट्टराईलाई लक्षित गर्दै अर्थमन्त्री शर्माले भने, ‘उहाँले आफ्नो आदेश जारी गर्नुभयो । सैनिक नेतृत्वको शैलीमा दोषी करार गर्नुभयो । के यही हो लोकतन्त्र ? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । म संसद्बाट आम नागरिकलाई आग्रह गर्दै भन्न चाहन्छु, विषय कसरी आए र कसरी भ्रम सृजना गरियो ? म मेरो राजीनामा मागिएको विषयलाई सम्मान गर्छु । तर मेरो अनुरोध के छ भने तथ्यको गहिराइमा पुग्नै पर्छ । यदि पुगिएन भने कतै फेरी अन्याय हुन्छ कि भनेर सोच्नका लागि अनुरोध गर्दछु ।

‘आज म मेरो विषयमा भन्न चाहन्छु । समितिले छानबिन गरोस् । मैले बजेट निर्माण गर्दा कुनै पनि त्रुटि गरेको छैन । तोकिएका आधिकारिक व्यक्तिबाट बजेट निर्माण गरिएको छ । यसलाई अर्को झुटा साबित गर्न सकिँदैन । करको दररेट निर्धारण गर्ने क्रममा दुई जना सचिव र दुई वटा विभागका महानिर्देशकलाई नीतिगत रूपमा के गर्ने भनेर निर्देशन गरेको छु ।

‘जुन रात घटना भएको भनिएको छ, म साढे ११ बजे राति क्वार्टरमा गएर बिहान ८ बजे मन्त्रालयमा पुगेको थिएँ । त्यहाँ पुग्दा सचिव सुतिरहेको र डिजी काम गरिरहेका र सहयोगीले सहयोग गरिरहेका थिए । अब भन्नुस् कुन सीसीटिभीको क्षमता कति हुन्छ मलाई के थाहा हुन्छ ? कुन मन्त्रीले कुन सीसीटिभीको क्षमता कति हुन्छ भनेर आउने बित्तिकै जानकारी राख्छ होला ? यस्तो भ्रम खारेज गर्न चाहन्छु । मैले त्यसको जबाफदेहिता कसरी दिन्छु ? त्यो डिलिट गर्न जरुरी पनि छैन र ज्ञान पनि छैन ।

‘के नेपालमा तस्करी घटाउनु अनैतिकता हो ? यहाँहरू सबैले देखिरहनुभएको छ, विभिन्न पत्रपत्रिकामा आउने गरेका छन् । यसअघि कसरी सुपारी तस्करी हुने गरेको थियो ? त्यो मैले घटाएको छु । कुन व्यापारीले फाइदा लियो त्यो पत्ता लगाइयोस् । मात्रै देशको उत्पादन र औद्योगीकरणका लागि गरियो । आम किसानको उत्पादन वृद्धि गर्ने उद्देश्यले गरिएको छ । उत्पीडित वर्गका लागि काम गर्ने बजेट प्रस्तुत गरिएको छ । यो के अनैतिकता हो ? यो कुनै अपराध हो ? यसरी रोजगारी वृद्धि गर्ने, गरिबी निवारण गर्ने कुरा अघि सारिएको छ ।

यो बजेटको कार्यान्वयनले धेरै फाइदा पुग्नेछ । यसको लागि सिंगो राज्य संयन्त्र अघि बढ्न जरुरी छ । यसले सबैलाई उत्साहित बनाएको छ । के सबैलाई उत्साहित गर्ने बजेट ल्याउन पाइँदैन ?

म एउटा होइन, हजारौँ छानबिनका लागि तयार छु । एउटा राजनीतिक व्यक्ति भएको नाताले हिजो यस्ता विषय नउठेका होइनन् । आज आम नागरिकले विषय उठाएका कारण आम नागरिकलाई भ्रम सृजना गरिएका कारण देशको पक्षमा काम गरेको कारण यसलाई सत्य तथ्य रूपमा छानबिनले स्पष्ट गर्नेछ । देशको पक्षमा उभिएर निरन्तर अघि बढिरहेको व्यक्तिमाथि लगाइएका आरोप आफ्नो तर्फबाट खारेज गर्दछु । छानबिन समितिले गर्ने काममा पूर्ण रूपमा सहयोग गर्नेछु ।

यस्ता छानबिन समिति बन्दा यसअघि मन्त्री पदमा रहेरै छानबिन गर्ने गरिएको थियो । छानबिन समिति बनाउने कुरा आज आएर मात्रै भयो । सभामुखको पहलमा भएको छानबिन समितिलाई मार्ग प्रशस्त गर्दै आफूले गल्ती नगरेको स्पष्ट पार्दै राजीनामा दिन चाहन्छु । म देशको पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु । मेरो राजीनामा माग्ने सबैलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो अन्तिम अनुरोध छानबिन गर्दा तथ्यमा गएर छानबिन गरिदिनुहोला । धन्यवाद ।

अर्थमन्त्री शर्माले राजीनामा दिएको घोषणा गरेपछि बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सचेतक देवप्रसाद गुरुङले पनि टेबल बजाए । अर्थमन्त्री शर्मा राजीनामा दिएर आफ्नो आसनमा बसेर सहकर्मी मन्त्रीसँग गफिन थाले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर