जब बेलायती प्रधानमन्त्री अचानक युक्रेन पुगे – Nepal Press

जब बेलायती प्रधानमन्त्री अचानक युक्रेन पुगे

काठमाडौं । हालैमात्र विश्वासको मत पाएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन शुक्रबार अचानक युक्रेनको राजधानी किभ पुगेर युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् ।

गत फेब्रुअरीमा रुस र युक्रेन युद्ध सुरु भएयता जोनसनको यो दोस्रो युक्रेन भ्रमण हो । भेटवार्तामा बोरिसले बेलायत र नेटोले युक्रेनलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मिडिया रिपोर्टका अनुसार बेलायतले युक्रेनका १० हजार सैनिकलाई प्रशिक्षण दिने सहमति पनि भएको छ । दुई देशबीच स्वास्थ्य सेवासम्बधी सहमति पनि भएको जनाइएको छ ।

के रुसविरुद्ध पश्चिमा देशहरुले ठूलै योजना बुन्दैछन् ?

पछिल्लो समय पश्चिमा मुलुकका प्रभावशाली नेताहरुले युक्रेन भ्रमणलाई तीव्रता दिइरहेका छन् । उक्त कुरालाई मध्यनजर गर्दा हाल पश्चिमा मुलुकहरुले रुसका विरुद्ध कुनै ठूलै योजना बनाइरहेको आँकलन गर्न थालिएको छ ।

बिहीबार मात्र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो ड्राघीले युक्रेनको भ्रमण गरेका थिए । यी सबै नेताहरुले रुसी हमलाबाट अत्यधिक क्षति पुगेका ठाउँहरुको निरीक्षण गरेका थिए भने युक्रेनी राष्ट्रपति भ्लादिमिरसँग पनि लामो वार्ता चलेको थियो ।

उक्त भेटवार्ताको केही घण्टापछि जोनसन किभ पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर