यसरी सम्भव भयो जेल परेका दिवेशको ‘एआईजी-यात्रा’ – Nepal Press

यसरी सम्भव भयो जेल परेका दिवेशको ‘एआईजी-यात्रा’

काठमाडौं । उनकै ब्याचीहरुले समेत दिवेश लोहनीलाई संगठनको नेतृत्व हाँक्नेसक्ने प्रहरी अधिकृतका रुपमा हेरेका थिए । तर तत्कालीन अपराध महाशाखाको नेतृत्व सम्हाल्दा उनले आफ्नो क्षेत्रभन्दा बाहिर गएर गरेको एउटा अप्रेसन लोहनीका लागि अभिशाप बन्यो ।

३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा लोहनी जेल नै पुगे । उनी र अन्य बहालवाला ६ जना प्रहरी अधिकारीसहित ७७ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो– सुन तस्करी, अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा ।

जिल्ला अदालतले दिवेश लोहनीसहितका प्रहरी अधिकारीलाई पुर्पक्षका लागि कारागार चलाउने आदेश दियो । उनीहरु पाँच महिनाभन्दा बढी कारागार बसे ।

उच्च अदालत विराटनगरले भने जिल्लाको आदेश उल्टाउँदै उनीहरुला साधारण तारेखमा छाड्ने निर्णय गरेको थियो । २०७५ भदौमा जेलबाट छुटेका उनै दिवेशलाई सोमबार सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक–एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । गत वर्ष उनले आरोपबाट सफाइ पाएका थिए ।

जिल्ला अदालतले फैसला गर्नुअघि नै लोहनी एसएसपीबाट डीआईजीमा बढुवा भइसकेका थिए । साधारण तारेखमा छुटेको अवस्थामा लोहनीलाई अन्याय हुने भन्दै उनलाई बढुवामा छुटाइएन ।
तर आफ्नो ब्याचको तेस्रो लटमा मात्र डीआईजी बने । डीआईजी बढुवामा पछाडि परेर पनि उनले एआईजी बन्ने मौका पाए ।

नेपाल प्रहरीमा एआईजी र आईजिपी दुवै विशिष्ट श्रेणी पद हुन् ।

के थियो लोहनीविरुद्ध लागेको आरोप ?

२०७४ माघ अन्तिम साता दुबईबाट तस्करी गरी भित्रिएको ३३ केजी सुन बेपत्ता बनाएको भन्दै चुणामणि उप्रेती ‘गोरे’ समूहले भरिया सनम शाक्यको हत्या गरेको थियो, मोरङमा ।

महाशाखाका एक प्रहरीसँग राम्रो सम्बन्ध रहेका गोरेले ती अधिकारीलाई शव व्यवस्थापनका लागि प्रस्ताव गरेपछि लोहनीको निर्देशनमा अनुसन्धान टोली मोरङ पुगेको थियो । महाशाखाले गोप्य राखेको उक्त अप्रेसनमा प्रहरीले गाडीभित्र सनमको शव भेटिएको भन्दै पत्रकार सम्मेलन नै गरेको थियो ।

पत्रकार सम्मेलनमा गोरेको संलग्नताबारे केही जानकारी गराइएको थिएन । तर केही समयमा गोरेलाई जोगाउन खोजेको भन्दै समाचारहरु आउन थालेपछि महाशाखा दबाबमा परेको थियो । गोरेलाई जोगाउन खोजेको आरोप महाशाखामाथि लाग्यो । महाशाखाले भने गोरेलाई पक्राउ गर्ने योजनासहित त्यहाँ पुगेको तर असफल भएपछि उनको नाम बाहिर नल्याएको र उनको खोजी गरिरहेको स्पष्ट पारेको थियो।

त्यतिबेला लोहनीले आफू उपत्यकाको क्षेत्राधिकारभन्दा बाहिर जाँदा माथिल्ला कार्यालय प्रमुखलाई जानकारी गराएको बताएपनि ती कसैले उनलाई साथ दिएनन् ।

घटना चर्कँदै गएपछि सरकारले चैतमा सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गर्यो । समितिमा लोहनीकै ब्याचीसमेत रहेका एसएसपी वसन्त लामा पनि थिए ।

उक्त समिति सनम हत्या र प्रहरीको भूमिकामा मात्र केन्द्रित भएन । उसले त्रिभुवन विमानस्थलबाट हुने गरेका सुन तस्करीको व्यापक अनुसन्धान हुनेसमेत बतायो । सोहीक्रममा विभिन्न समयमा विमानस्थलमा काम गरेका प्रहरी अधिकारीहरु पनि छानिबनमा तानिए । समितिले अन्तत मोरङमा अप्रेसनमा पुगेको महाशाखाको टोली र लोहनीविरुद्ध पनि मुद्दा चलाउनुपर्ने निष्कर्ष निकाल्यो ।

काम देखाउन मोरङसम्म अप्रेसन गर्न खोजेका लोहनीले अपहरण र कर्तव्य ज्यानजस्तो गम्भीर कसुरको आरोप सामना गर्नुपर्ने अवस्था बन्यो । छानबिन समितिमा रहेका तत्कालीन एसएसपी लामाले मुद्दा चलाउन खोजेर जानीजानी लोहनीलाई फसाएको आरोप आफ्नो करियरभर व्यहोरिरहे । लामाले उमेर हदका कारण गत जेठ ८ गते अवकाश पाइसकेका छन् ।

लोहनीले वर्तमान आईजिपी धिरजप्रताप सिंहसँगै नेपाल प्रहरीमा सेवा सुरु गरेका हुन्, २०४९ चैतमा । निवर्तमान आईजिपी शैलेश थापा तथा लोहनी र सिंहहरु एउटै मितिमा एसपीबाट एसएसपीमा बढुवा भएका थिए । थापासँगै लोहनीको इन्सपेक्टर ब्याचका ६ जना एसएसपी भएका थिए ।

लोहनीको टोलीबाट डिआईजी बन्ने पहिलो व्यक्ति विश्वराज पोखरेल बने । वर्तमान आईजिपी सिंहसहित सहकुल थापाहरु २०७६ चैतमा मात्र डीआईजी भए । लोहनीको डीआईजी बन्नेपालो २०७७ पुसमा मात्र आएको थियो ।

लोहनी एसएसपी रहेकै बेला नेपाल प्रहरीमा एआईजीको दरबन्दी प्राविधिकसहित चार बनाइयो । विभिन्न मितिमा एक–एक वटा थपेर जनपदतर्फ एआईजीको संख्या पाँच पुग्यो ।

गत चैतमा सरकारले एआईजीका दरबन्दी तीनवटा थप्ने निर्णय गरेपछि त्यो संख्या आठ पुगेको थियो । ३० वर्षे सेवा अवधिका कारण निवर्तमान आईजिपी थापासँगै जागिर सुरु गरेकाहरुले एकसाथ अवकाश पाएपछि लोहनी एआईजी बन्नसक्ने अवस्था देखिएको थियो ।

त्यसो त लोहनीसँगै प्रहरी निरीक्षकबाट जागिर सुरु गरेकाहरुमध्ये अब तीनजना डीआईजी र दुईजना एसएसपी छन् । ती तीनजना डीआईजी गत महिना मात्र एसएसपीबाट बढुवा भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर