मैत्रीपूर्ण फुटबलः नेपाल र ओमान भिड्दै, यस्तो छ विगत – Nepal Press

मैत्रीपूर्ण फुटबलः नेपाल र ओमान भिड्दै, यस्तो छ विगत

काठमाडौं । एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज (शुक्रबार) ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ ।

दोहामा हुने खेल राति १० बजे सुरु हुनेछ । बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ ।

यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी हो । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो ।

यस्तै, दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ गते कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

यस्तो छ विगत

नेपालले अन्तर्राष्ट्रिय फुटबलमा ओमानलाई हालसम्म हराउन सकेको छैन। हालसम्म यी दुई टोलीबीच ५ पटक प्रतिस्पर्धा भएकामा सबै खेल ओमानले जितेको थियो।

यी खेलमा नेपालले एक गोल पनि गर्न सकेको छैन। अन्तिमपटक नेपालले गत सेप्टेम्बरमा ओमानसँग प्रतिस्पर्धा गरेको थियो। मैत्रिपू्र्ण अन्तर्राष्ट्रिय त्यस खेलमा नेपाल ७(२ गोलले पराजित भएको थियो।

सन् १९९७ मा ओमानसँग पहिलोपटक खेलेको नेपाली टोली त्यतिबेला १-० गोलले पराजित भएको थियो। त्यसयता ओमानसँग खेलेका हरेक खेलमा नेपालले कम्तिमा दुई गोल ब्यहोरेको छ।

नेपालले अन्तिमपटक गत मार्चमा सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो। थाइल्यान्डसँग भएको त्यस खेलमा नेपालि टोली २-० गोलले पराजित भएको थियो। त्यसअघि घरेलु मैदानमा नेपालले मौरिससँग खेलेका दुईवटा मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेल क्लिन स्वीप गरेको थियो।
ओमानले तीन खेलयता हार ब्यहोरेको छैन। यसबीचमा अस्ट्रेलियासँग बराबरी खेलेको छ भने भियतनामलाई १-० र गत मार्चमा चीनलाई २-० गोलले हराएको थियो।

यतिबेला नेपाली टोलीमा पहिलो रोजाईका अधिकांश खेलाडी छैनन्। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादपछि नियमित कप्तान किरणकुमार चेम्जोङसहितका पहिलो रोजाईका खेलाडीहरुलाई टिममा समावेश गरिएको छैन।

एएफसी कप छनोटअन्तर्गत तेस्रो चरणमा नेपालले घरेलु टोली कुवेतसहित जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै छ। नेपालले पहिलो खेल जुन ८ तारिखमा जोर्डनसँग खेल्दै छ। जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर