काठमाडौंमा २ लाख जनसंख्या बराबर एउटा सार्वजनिक शौचालय – Nepal Press

काठमाडौंमा २ लाख जनसंख्या बराबर एउटा सार्वजनिक शौचालय

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिले सार्वजनिक शौचालयको व्यवस्थापनबारे बहस सुरु भएको छ । काठमाडौं महानगरपलिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहले सर्वसाधारणलाई शौचालय कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई प्राथमिकता दिएमा केन्द्रित भयो ।

नेपाल खुला दिसामुक्त घोषणा भएको देश हो । तर, सार्वजनिक शौचालय नै निर्माण नगरी सरकारले खुला दिसामुक्त घोषणा गर्दा सर्वसाधारणलाई भने समस्या उस्तै छ । काठमाडौंको कुनै ठाउँमा गएर शौच गर्नु पर्यो भने ठूलै समस्या पर्छ । कसैलाई शौच लाग्यो भने होटल तथा रेस्टुरेन्टमा गएर केही खानुपर्छ । बढी भएर हल्का हुन शौच गर्ने हो । तर, काठमाडौंमा थपेरमात्रै हल्का हुन पाइन्छ ।

२०७६ साल असोज १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई खुला दिसामुक्त घोषणा गरेका थिए । नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश भएको थियो । तर, काठमाडौंमा बल्ल अहिले शौचालयको बहस सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाको सहरी योजनाको सचिवालय प्रमुख कुमारी राईले काठमाडौंमा ५८ वटा सार्वजनिक शौचालय भएको बताइन् । तर, १० वटामात्रै सञ्चालमा रहेको उनले जानकारी दिइन् । उनका अनुसार सडक विस्तारलगायतका कारणले शौचालय बन्द भएका छन् ।

काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठकले केही महत्वपूर्ण निर्णय गरेको थियो । जसमध्ये एउटा निर्णय हो- काठमाडौंका रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने ।

मेयर शाहको पहलमा भएको निर्णयलाई रेस्टुरेन्टहरुले साथ दिन पनि थालेका छन् । काठमाडौंको नरसिंह चोक मार्गस्थित आरडीएक्स रेस्टुरेन्ट ट्याटू एण्ड बारले बुधबारबाट आफ्नो शौचालयलाई सार्वजनिक बनाएको छ ।

आरडीएक्सले जस्तै अन्य रेस्टुरेन्टहरुले महानगरको निर्णयलाई साथ दिए काठमाडौंभित्र करिब ३ हजार सार्वजनिक शौचालय प्रयोगमा आउनेछन् ।

रेस्टुरेन्ट एण्ड बार एसोसियसन अफ नेपाल (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीले काठमाडौंमा करिब ३ हजार रेस्टुरेन्ट रहेको बताए । उनले भने, ‘रेबानमा जोडिएका करिब ३ हजार रेस्टुरेन्ट छन् । हामी महानगरको निर्णयअनुसार शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन तयार छौं । तर, छलफल हुनुपर्यो ।’

तथ्यांक विभागका अनुसार काठमाडौंमा २० लाख १७ हजार ५२३ जनसंख्या रहेका छन् । यो राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा हो । काठमाडौंमा करिब ५० लाख मान्छे बस्ने अनुमान गरिन्छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार २ लाखको लागि एउटा सार्वजनिक शौचालय छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार हरेक ५०० जनाको लागि एउटा शौचालय हुनुपर्छ । यसले काठमाडौंमा सार्वजनिक शौचालयको अभाव झन् प्रस्ट्याउँछ ।

काठमाडौं महानगरपालिका नै करिब २८४ वटा शौचालय आवश्यक रहेको बताउँछ । काठमाडौंमा नयाँ शौचालय बनाउने कुरा उठ्छ । तर, कार्यान्वयन हुन सकेको छैन । यसअघि स्मार्ट सार्वजनिक शौचालय बनाउने घोषणा गरिएको थियो । तर, ५ वर्षसम्म घोषणामै सीमित रह्यो ।

काठमाडौं महानगरपालिकाले यसअघि शौचालय कति आवश्यक हो र कुन कुन ठाउँमा निर्माण गर्ने भन्नेबारे  कार्यदल बनाएरै अध्ययन गरेको थियो । उक्त कार्यदलको अध्ययनअनुसार नै काठमाडौंमा २८४ वटा सार्वजनिक शौचालय आवश्यक रहेको देखिएको थियो  । त्यति बेला कम्तीमा ५० ठाउँमा तत्काल सार्वजनिक शौचालय आवश्यक भएको कार्यदलले औंल्याएको थियो ।

कार्यदलले कलंकी, कालीमाटी, टेकु, थापाथली, बल्खु, बालाजु, तिलगंगा, गौशाला र कोटेश्वरलगायतका ठाउँमा सार्वजनिक शौचालय आवश्यक रहेको बताएको थियो । तर, ५ वर्षको समयमा कुनै ठाउँमा पनि नयाँ शौचालय नबनेको महानगर नै बताउँछ ।

पूर्वाधारविज्ञ आशीष गजुरेल केही समयका लागि रेस्टुरेन्टको शौचालय प्रयोग गर्न सकिने बताउँछन् । तर, यो दिगो भने नहुने उनको बुझाइ छ ।

उनले भने, ‘काठमाडौंमा शौचालयको ठूलो समस्या रहेको छ । पानी प्यास लागे बोतलको किनेर खान पाइन्छ । तर, शौच आउँदा सार्वजनिक शौचालय छैन । अहिले सुरुको चरणमा रेस्टुरेन्टका शौचालयलाई  सार्वजनिक रुपमा निःशुल्क वा थोरै शुल्कमा प्रयोग गर्ने व्यवस्था मिलाउनु राम्रो हो । तर, यो दिगो भने हैन ।’

उनका अनुसार महानगरले नै ६ महिनामा भनेको जस्तो शौचालय निर्माण गर्न सक्छ । ‘दुई वा तीन किलोमिटरको दूरीमा शौचालय निर्माण गर्नुपर्छ । अध्ययन नै गरेर मान्छेको धेरै भीड हुने ठाउँमा आवश्यताअनुसार शौचालय निर्माण गर्नुपर्छ’, गजुरेलले थपे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *