रुपन्देहीका ३ पालिकामा गणना बाँकी, नतिजा आएका कहाँ कसको जित ? – Nepal Press

रुपन्देहीका ३ पालिकामा गणना बाँकी, नतिजा आएका कहाँ कसको जित ?

रुपन्देही । १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा १३ पालिकाको मतगणना सकिएको छ । बाँकी ३ वटामा गणना जारी छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिकाको मतगणना जारी रहेको छ । मतगणना भैरहेको तिलोत्तमा नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा कांग्रेस अगाडि छ भने कोटहीमाई गाउँपालिकामा एमाले अग्रता कायम गरेको छ ।

परिणाम आएका १३ पालिकामध्ये गठबन्धनको तर्फबाट ८ वटा पालिकामा कांग्रेसले जितेको छ । त्यस्तै एमालले तीनवटा पालिकामा जितेको छ, भने एक-एक पालिकामा जनता समाजवादी पार्टी र जनता प्रगतिशील पार्टीको जित हासिल गरेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका, कञ्चन गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मायादेवी गाउँपालिका जितेको हो ।

त्यस्तै एमालेले देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र गैडहवा गाउँपालिका जितेको छ । जनता समाजवादी पार्टीले रोहिणी गाउँपालिका र जनता प्रगतिशील पार्टीले मर्चवारी गाउँपालिकामा जितेका छन् ।कांग्रेसले जितेको बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेय र उपमेयरमा एमालेकी सावित्रा अर्याल, सैनामैना नगरपालिकामा फणिन्द्र शर्मा र उपमेयरमा एमालेकी विना राना तथा सिद्धार्थनगर नगरपालिकाको मेयरमा ईस्तियाक अहमद खान र उपमेयरमा एमालेकी उमा अधिकारी निर्वाचित भएका छन् ।

कांग्रेसले जितेको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा विष्णुप्रसाद बस्याल र उपाध्यक्षमा एमालेकी शान्तादेवी चौधरी, सियारी गाउँपालिकाको अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा कांग्रेसकै तारा थारु, कञ्चन गाउँपालिकामा नवराज ढकाल र उपाध्यक्षमा कांग्रेसकै मौसमी थापा, सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा विनोदप्रसाद श्रीवास्तव र उपाध्यक्षमा कांग्रेसकै कुमारी प्रियंका शाही तथा मायादेवी गाउँपालिकाको अध्यक्षमा धु्रववनारायण चौधरी र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्वदादेवी उपाध्यायमा निर्वाचित हुनुभएको छ । त्यस्तै एमालेले जितेको देवदह नगरपालिकाको मेयरमा ध्रुव खरेल र उपमेयरमा एमालेकै विद्यालक्ष्मी गुरुङ, ओमसतिया गाउँपालिकाको अध्यक्षमा मञ्जितकुमार यादव र उपाध्यक्षमा काँग्रेसकी सुनिता चौधरी विजयी भएका छन् ।

गैडहवा गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र पौडेल र उपाध्यक्षमा एमालेकै माधुरी जैसवाल विजयी भएका छन् । मर्चवारी गाउँपालिका जितेको जनता प्रगतिशील पार्टीबाट अध्यक्षमा गयाप्रसाद बरई र उपाध्यक्षमा जनता प्रगतिशील पार्टीकै आशासिंह निर्वाचित भएको निर्वाचन कार्यालय रुपन्देहीले बताएको छ ।

रोहिणी गाउँपालिका जितेको जनता समाजवादी पार्टीबाट अध्यक्षमा विद्याप्रसाद यादव र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी शिवकान्ती चमार विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर