स्थानीय तहमा ४ नयाँ पार्टीको उदयः रेशमको ‘धमाका’, मधेसबाट रविन्द्रको इन्ट्री – Nepal Press

स्थानीय तहमा ४ नयाँ पार्टीको उदयः रेशमको ‘धमाका’, मधेसबाट रविन्द्रको इन्ट्री

हृदयेश र सीके आधारक्षेत्रमै कमजोर

काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमार्फत स्थानीय तहमा चार नयाँ पार्टीको उदय भएको छ ।

जसमा रेशम चौधरीको नागरिक जनमुक्ति पार्टी, सीके राउतको जनमत पार्टी, रविन्द्र मिश्रको विवेकशील साझा र हृदयश त्रिपाठीको जनता प्रगतिशील पार्टी छन् ।

उनीहरूको जितको ‘विशेषता’ र दिन खोजेको सन्देश पनि भिन्नभिन्न छ । जसमा चौधरीको पार्टीले कैलालीमा ‘धमाका’ देखाएको छ भने अन्यले अस्तित्व रक्षाको काम मात्रै गरे ।

हृदयेशको पार्टीले गृहजिल्ला पश्चिम नवलपरासीमा कुनै सिट जित्न सकेन । रुपन्देहीमा भने एक पालिका हत्यायो ।

कैलालीमा रेशम चौधरीको पार्टीको कमाल

२०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर- १ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट रेशम चौधरी फराकिलो मतान्तरले विजयी भए । २०७२ को टीकापुर घटनाका अभियुक्तसमेत रहेका चौधरी त्यतिबेला ‘फरार अभियुक्त’ थिए ।

फरार अवस्थामैं रहेका बेला उनले निर्वाचन जित्नु धेरैका लागि ‘सरप्राइज’ घटना थियो । त्यस्तै अर्को सरप्राइज चौधरीले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि दिएका छन् ।

उनी अहिले जेलमा छन् । बाहिर पत्नि रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन् । सोही पार्टीले कैलालीका १३ तहमध्ये ४ तहको नेतृत्वमा बाजी मारेर जिल्लाकै ठूलो दल बन्यो ।

चौधरीको पार्टीले ४ तह जित्दा, नेपाली कांग्रेसले तीन, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले २/२ र नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले १/१ तह जितेका छन् ।

चौधरीको पार्टीबाट टीकापुर नगरपालिकाको मेयरमा रामलाल डगौरा थारु, जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतीदेवी कठरिया, भजनी नगरपालिकाको मेयरमा केवल चौधरी र उपमेयरमा राजु तिरुवा र जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी र उपाध्यक्ष रेखादेवी कठरिया विजयी भए ।

टीकापुर, जानकी र भजनीमा सत्तारूढ तीनदलीय गठबन्धनलाई नै हरायो ।

जनमत पार्टी दुई तहमा सीमित

कुनै समय देश विखण्डनको नाराले देशै तरंगित बनाएका सीके राउत २०७५ मा सरकारसँग सम्झौता गर्दै विखण्डनको नारा छाडेर शान्तिपूर्ण राजनीतिमा आएका छन् ।

त्यसपछि उनले जनमत पार्टी खोलेर तराईमा किसानका मुद्दालाई उठान गर्दै महिनौंको आन्दोलनपछि मुलधारको राजनीतिमा सक्रियता जनाए । उनको किसान आन्दोलन मधेस मुद्दामा राजनीति गरिरहेका जसपा र लोसपाको टाउको दुखाइ सुरू भएको थियो ।

तर, आसन्न स्थानीय तह निर्वाचनमा भने राउतको जनमत पार्टी भने जम्मा दुई स्थानीय तहमा थन्किएको छ ।

पूर्वझापादेखि पश्चिम बर्दियासम्म २० जिल्लाका अधिकांश पालिकामा जनमतले उम्मेदवार उतारेको थियो । तर, सप्तरीका हनुमान नगरी कंकालिनी नगरपालिका र बालन-विहुल गाउँपालिकाले मात्रै सो पार्टीको अस्तित्व रक्षा गरेको छ ।

हनुमाननगरी कंकालिनीमा जनमत पार्टीका मेयर वीरेन्द्र माझी ६ हजार ४०७ मतसहित विजयी हुँदा उपमेयरमा भने जसपाकी सरितादेवी यादव विजयी भएकी छन् ।

उता बालान-विहुलमा जनमत पार्टीका अध्यक्षका उम्मेदवार खेमचन्द्र यादव २ हजार ९९४ मतसहित विजयी भए भने उपाध्यक्षमा पनि सोही पार्टीकी रेणु यादव २ हजार ६९० मत सहित विजयी भइन् ।

हृदयेशको साख जोगाएको मर्चबारी

मधेशवादी पार्टीबाट लामो समय राजनीति गरेका पूर्वमन्त्री हृदयेश त्रिपाठी २०७४ यता पुरानो पार्टीहरूबाट सम्बन्ध विच्छेदको अवस्थामा थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको निर्वाचन चिन्ह सूर्यबाट चुनाव लडेका उनी आफूलाई स्वतन्त्र सांसद भनेर चिनाउँथे ।

उनले पछिल्लो समय ‘जनता प्रगतिशील पार्टी’ नामक दल खोलेका छन् । त्यो दलले पनि यसपटकको स्थानीय तह निर्वाचनमा आफ्ना खाता खोलेको छ ।

रुपन्देही मर्चबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद जित्दै सो पार्टीले त्रिपाठीको साख जोगाएको छ । मर्चबारीको अध्यक्षमा सो पार्टीका गयाप्रसाद बरई ४ हजार ३८५ मत ल्याएर विजयी हुँदा कांग्रेसका ज्ञानप्रकाश मिश्र ३ हजार २४५ मतमा सीमित भए ।

उपाध्यक्ष सोही पार्टीकी आशा सिंह २ हजार ९६५ मत ल्याएर विजयी हुँदा कांग्रेसकी सुमन यादवले २ हजार ४०९ मत पाइन् । मर्चबारीका ७ वडामध्ये मध्ये २ वडामा त्रिपाठीको पार्टी वडाध्यक्ष जितेको छ ।

फेटाले जोगाएको रविन्द्र मिश्रको इज्जत

२०७४ को स्थानीय तह निर्वाचनमा राजधानीलगायत सहरी क्षेत्रमा वैकल्पिक शक्तिको उद्घोषसहित उदाएका विवेकशील नेपाली दल र रविन्द्र मिश्रको साझा पार्टीले निर्वाचनपश्चात एकता गरे । पार्टी एकतापछि विवेकशील साझा पार्टी बन्यो ।

तर, वैचारिक विवादका कारण पार्टी निकै कमजोर बन्यो । योबेला बाराको फेटा गाउँपालिकाले विवेकशीलको इज्जत ढाक्ने काम गरिदिएको छ । यहाँ अध्यक्षमा रुस्तम अन्सारीले ४ हजार ४८५ मत ल्याएर विजयी हुँदा उपाध्यक्षमा पनि सोही पार्टीकी निलम साहले ३ हजार ५७० मत ल्याएर जितेकी छन् ।

वडाध्यक्षमा ७ मध्ये २ वटा वडा विवेकशील साझाले जितेको छ ।


प्रतिक्रिया

One thought on “स्थानीय तहमा ४ नयाँ पार्टीको उदयः रेशमको ‘धमाका’, मधेसबाट रविन्द्रको इन्ट्री

  1. Madesh pradesh ko mahotari jill ma raheko mahotari ga. Pa. Ko Aadayachh padma Teria madesh Loktantark party bat nirbachit bhauko chha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर