एमालेबाट विद्रोह गरेकी मीना, जसले हेटौडामा ३ दशकदेखिको एमालेकै गढ भत्काइन् – Nepal Press

एमालेबाट विद्रोह गरेकी मीना, जसले हेटौडामा ३ दशकदेखिको एमालेकै गढ भत्काइन्

हेटौँडा । चार हजार मत गन्न बाँकी रहँदै गठवन्धनका उम्मेदवारहरू एकीकृत समाजवादीकी मीना लामा र कांग्रेसका राजेश बानियाँलाई एमालेका मेयर उम्मेदवारहरूले बधाई दिए ।

३० वर्षदेखिको एमालेको गढ भत्काउन मीना कोही नभएर एमाले फुटबाट जन्मिएको पार्टी नेकपा एसकी हुन् । उनै लामा जो ७४ को चुनावमा एमालेबाटै हेटौँडा उपमहानगरको उपमेयरमा भारी मतले विजयी विजयी भएकी थिइन् ।

नेकपा एमाले विभाजन भएसँगै निर्माण भएको एकीकृत समाजवादीमा सनाखत गरेर राजनीतिको नयाँ बाटोमा मोडिएकी लामालाई यो पटक हेटौडेलीले स्थानीय सत्ताको बागडोर सुम्पिएका छन् । २०४९ र २०५४ मा डोरमणी पौडेल, २०७४ मा उनै पौडेल कार्याकालका उपमेयर हरिबहादुर महतलाई प्रमुख बनाएको हेटौडाले २०७९ मा एमालेबाहेकको दललाई चुन्यो ।

एमालेको वर्चश्व तोडेर मेयरको विजेता बनेकी लामालाई पाँच दलीय गठबन्धन कायम भएन भने अल्पमतको सामना गर्नुपर्ने देखिएको छ । १९ वटा वडामा ९ वटा वडासहित नेकपा एमाले अझै सशक्त भूमिकामा छ । उपमहानगरको दैनिक कार्यसम्पादनको क्रममा उपमेयर तथा ८ वडाध्यक्षसहित कांग्रेसको निरन्तर दबाब पनि पनि लामालाई पर्नेछ । उनको पार्टीबाट एक जना मात्र वडाध्यक्ष छन् । त्यस्तै माओवादीले पनि नगर क्षेत्रमा १ वडा जितेको छ ।

यसरी गुम्यो विरासत

गत वैशाख १२ मा एमालेको तर्फबट मेयर-उपमेयरको मनोनयन दर्ताको तामझाम भइरहँदा गठबन्धनमा भने अन्यौल नै थियो । हेटौडामा जनमत नभएको आरोप लगाउँदै एकीकृत समाजवादीलाई मेयर दिएको विरोधमा नेपाली कांग्रेसका बहुमत पदाधिकारीले पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना समेत गरे ।

तर, पनि केन्द्रको निर्णय टार्न नसकिने, जिल्लामा रहेको झगडा मिलाउने भन्दै मेयरमा लामा र उपमेयरमा बानियालाई मनोनयन दर्ता गराउन लगाइयो । तर, सोही दिन अपरान्ह राप्रपाका दीपकबहादुर सिंह काठमाडौंबाट आएर मेयरमा उम्मेदवार दर्ता गरेको खबरले यहाँको राजनीति तरंगित बन्यो ।

राप्रपाले उम्मेदवारी दर्ता गरेपछि एमाले आशावादी थियो । नेकपा एसलाई मेयर सुम्पिँदाको कांग्रेसको रुष्ट भोट राप्रपामा जाने र एमालेको संगठित सबै भोट आउने हुँदा जित पक्काको ‘मूड’ मा एमाले ढुक्क भयो । तर, उल्टै एमालेका लागि चुनौती नै दीपक बने । यसअघि मकवानपुरको मेयर र सांसद गरी ३ पटक चुनाव लडेका सिंह तीनैपटक दोश्रो भए । उनी दोस्रो हुँदा एमाले थोरै मतान्तरले मात्र पहिलो हुने गरेको थियो ।

तर, योपटक चुनावी अभियानको क्रममा सिंहको माहौल बढ्दै गयो । सामजिक सञ्जालमा पत्रकार तथा विभिन्न व्यक्तिले गरेको सर्वेक्षणमा दीपक सिंह बलिया देखिन थालेका थिए । यो विषयमा पनि एमाले गम्भीर देखिएन । यता गठबन्धन भने आक्रामकरूपमा थप संगठित र मजबुत बन्दै गयो । एमालेको वर्षौंदेखिको वर्चस्व ध्याउन्नमा लागेर शीर्ष नेता मैदानमा खटिए ।

कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेकपा एसका नेता तथा स्वास्थ्यमन्त्री विरोध खतिवडासहितका नेता लामालाई जिताउन फिल्डमा उत्रिए ।

दोस्रो महत्वपूर्ण कारण हेटौडाको सहरिया ‘न्यू भोटर’ लाई एमालेले आफ्नो एजेण्डामा सहमति गराउन सकेन् । ‘टावर’ को विरोध भइरहेका बेला एमाले हेटौडाले ‘नगर टावर’ बनाउने भनेर प्रचार गर्नेगरी घोषणापत्र जारी गर्यो । घोषणापत्रमा भएका लोकप्रिय कामलाई जनतामा बुझाउन नसकेर टावर तथा १० हजार लिटर पानी फ्रिको एजेण्डामात्र स्थापित गर्न खोज्दा नयाँ पुस्ताले ती कुराहरूलाई ‘एसेप्ट’ गरेनन् । उता राप्रपाका सिंहले भ्रष्टाचारविरोधी एजेण्डा स्थापित गरे । नयाँ भोटरको चाहनालाई एमालेले आफ्नो एजेण्डामा क्यास गर्न सकेको देखिएन ।

एमालेको विरासत गुम्नुमा पार्टीमा अलोकतान्त्रिक विधिको विकास, नेता वरपर घुम्नेलाई मात्र अवसर दिने प्रचलन रहेको बताएका छन् । स्वयम् एमाले नेता तथा कार्यकर्ताहरूले नै बताएका छन् । एमालेका जिल्लास्तरमा नेताहरूले गुटबन्दी, चाकडीप्रथाको विकास, टिकेप्रथाजस्ता विषयले पार्टी हारेको भन्दै सामजिक सञ्जालमा गुनासो पोखेका छन् ।

पञ्चयातकालका नेतालाई नयाँ अनुहार ठाने : पौडेल

मेयरमा पराजित भएका एमालेका अनन्तप्रसाद पौडेल भने नयाँ पुस्ताका मतदाताले पञ्चयातकालीन नेतालाई नयाँ अनुहार ठानेकोले एमालेलाई अप्ठेरो परेको बताउँछन् ।

पञ्चयातकालीन समयमा हेटौडाभित्र डेढ किलोमिटर समेत कालोपत्रे गर्न नसकेकाहरूलाई नयाँ पुस्ताले नयाँ अनुहार ठान्दा एमालेको गढ क्षेत्रबाट आफ्नो भोट कटेको उनको भनाइ थियो ।

‘पाँच दलको आक्रमण हामीलाई थियो नै । यो हारलाई मसिनो ढंगबाट समीक्षा गरेर अगाडि बढ्छौं’, पौडेलले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर