विश्वकप र युरो कप दुवै जितेका केलिनीले अर्जेन्टिनासँग खेलेर सन्न्यास लिने – Nepal Press

विश्वकप र युरो कप दुवै जितेका केलिनीले अर्जेन्टिनासँग खेलेर सन्न्यास लिने

रोम । इटालीका भेट्रान डिफेन्डर जर्जियो केलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने भएका छन् ।

आगामी जुनमा वेम्बलीमा अर्जेन्टिनासँग हुने मैत्रीपूर्ण खेलपछि आफूले अन्तर्राष्ट्रिय फुटबल खेल्न छाड्ने यी ३७ वर्षीय डिफेन्डरले बताएका छन् ।

‘म वेम्बलीको खेलपछि इटाली राष्ट्रिय टोलीलाई गुड बाई भन्ने छु’, केलिनीले सोमबार राती सस्सुओलोमाथी युभेन्ट्सको जितपछि भनेका छन् ।

इटालीले २०२१ मा युरो कप जित्दा केलिनी टोलीको महत्त्वपूर्ण सदस्य थिए । इटाली सन् २०१२ को युरो कपमा पनि फाइनलसम्म पुगेको थियो ।

तर यसै वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा इटाली छनोट हुन नसकेपछि केलिनिलगायत सिनियर इटालियन खेलाडीको आलोचना भएको थियो ।

केलिनीले सन् २००४ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेयता इटालीका लागि एक सय १६ खेल खेलेका छन् ।

वेम्बलीमा युरो कप जितेकाले करियरको सबैभन्दा राम्रो अनुभव गरेको ठाउँमा बिदाइ खेल खेल्न लागेको केलिनीको भनाई छ । युरो कप जित्दा उनी इटालीको कप्तान थिए ।

२०१४ को विश्वकपमा उरुग्वेका लुइस स्वारेजले केलिनीको हात टोकेपछि लामो समय प्रतिबन्धसमेत भोगेका थिए । केलिनी सन् २००५ यता युभेन्ट्सका लागि व्यावसायिक फुटबल खेलिरहेका छन् ।

९ पटक सिरि ए जितेका केलिनी दुई पटक युरोपियन च्याम्पियन्स लिगको फाइनलसम्म पुगे पनि युभेन्ट्स पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर