जिल्लामा गठबन्धन भत्किए पनि प्रदेशबाट भागबण्डा मिलाउँदै लुम्बिनीको कार्यदल – Nepal Press

जिल्लामा गठबन्धन भत्किए पनि प्रदेशबाट भागबण्डा मिलाउँदै लुम्बिनीको कार्यदल

रुपन्देही । स्थानीय तहको निर्वाचनमा गठबन्धनको औपचारिक सहमति गरेका लुम्बिनी प्रदेशका पाँच दल विभिन्न जिल्लामा गठबन्धन भत्किएपनि अझै बैठक बसेर सहमति गर्ने प्रयास गरेका छन् । मंगलबार बसेको सत्तागठबन्धन दलको बैठकमा सहमति जुट्न नसकेपछि आज पुनः बस्नेगरी टुंगिएको थियो ।

सिट बाँडफाँटको मापदण्ड तय गर्न बसेको पाँच दलीय सत्ता गठबन्धनद्वरा गठित कार्यदलको बैठकमा प्रदेशमा कुन दललाई कति सिट दिने भन्ने विषयमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बस्नेगरी बैठक सकिएको थियो ।

हिजो बुटवलको तामनगरस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा बसेको पाँच दलीय कार्यदलको बैठकमा दलहरुले आआफ्नो दाबी पेश गरेको र त्यसमाथि प्रारम्भिक छलफल भएको नेपाली कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए ।

प्रदेशका जिल्ला तथा स्थानीय तहमा कुन दलको अवस्था कस्तो छ भन्ने बिषयमा थप अध्ययन गरी आजको बैठकमा प्रस्तुत गर्नेगरी आजको बैठक सकिएको रानाले बताए ।

कार्यदलले आज साँझसम्म सिट बाँडफाँडको मापदण्ड तय गर्ने जनाइएको छ ।

बैठकमा नेपाली कांग्रेसबाट उपसभापति राजु खनाल, नेकपा माओवादी केन्द्रबाट तुलाराम घर्ती, नेकपा एकिकृत समाजवादीबाट मेटमणी चौधरी,जनता समाजवादी पार्टीबाट यज्ञ पोखरेल र राष्ट्रिय जनमोर्चाबाट चेतनाथ आचार्यको सहभागिता रहेको थियो ।

४ उपमहानगरसहित १०९ पालिका रहेको लुम्बिनीमा रुपन्देही, बाँके, रोल्पा, रुकुमपूर्व, प्युठानका विभिन्न पालिकामा गठबन्धन दलबीच भागवण्डाको विवाद भएपछि चुनावी गठबन्धन नहुने सहमति भइसकेको छ । चार उपमहानगरमध्ये बुटवल, नेपालगन्ज र तुल्सीपुर नेपाली कांग्रेस तथा घोराही माओवादीलाई भागबण्डा केन्द्रमा गरिएपछि ती पालिकामा पनि विवाद सुरु भएको छ ।

नेपालगन्ज जसपाले दाबी गरिहेकाले उसले नपाएपछि बाँके जिल्लाभरमा नै गठबन्धन नगर्ने घोषणा गरेको छ भने घोराही माओवादीले पाएपछि त्यहाँको कांग्रेसले कुनै हालतमा माओवादीलाई जिताउन नसकिने मंगलबार नै पत्रकार सम्मेलन गरेर घोषणा गरेको छ ।

१०९ वटा स्थानीय तहमध्ये नेपाली काँग्रेसले ७५ वटा स्थानीय तह आफूले पाउनुपर्ने दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले यसअघि आफूले जितका १९ वटा र दोश्रो स्थानमा रहेका पालिकाको नेतृत्व आफूले पाउनु पर्ने दाबी गरेको छ । जसका आधारमा उसले ३५ देखि ४० सिटमा दाबी गर्दै आएको छ ।

जसपा र जनमोर्चाले पनि पहिला आफूले जितेका र दोश्रो स्थानमा रहेका पालिका दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादीले २२ वटा पालिका पाउनुपर्ने माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर