बुटवलको मेयरमा एमालेबाट ८ जना सिफारिस, गठबन्धनमा कसले पाउला ? – Nepal Press

बुटवलको मेयरमा एमालेबाट ८ जना सिफारिस, गठबन्धनमा कसले पाउला ?

रुपन्देही । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले आगामी मेयरका लागि ८ जनाको नाम सिफारिस गरेको छ । उपमहानगर कमिटीले निर्णय गर्न नपाएपछि आकांक्षा गरेका सबैको नाम माथिल्लो कमिटीमा पठाएको हो ।

बुटवलबाट अहिलेका मेयर शिव सुवेदी, बाबुराम भट्टराई र गोपाल राना, एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, वर्तमान उपमेयर गोमादेवी आचार्य, सूर्य बहादुर भट्टराइ एमाले केन्द्रीय सदस्य सावित्रा अर्याल र उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीको नाम सिफारिस भएको हो ।

उम्मेदवार छनोटका लागि पार्टीको नगर, जिल्ला र प्रदेश हुँदै केन्द्रीय कमिटीमा पठाइने र उपमहानगरपालिकाको हकमा कसलाई टिकट दिने भन्ने निर्णय केन्द्रबाटै हुने भएकोले कसले टिकट पाउँछ भन्ने यसै भन्न सकिने अवस्था छैन ।

एमाले बुटवल नगर कमिटीका अध्यक्ष किसन ज्ञवाली उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट कसले पाउने भन्ने पार्टी केन्द्रबाट तोकेर आउने भएकोले आकांक्षा देखाएका सबै जनाको नाम सिफारिस गरेर पठाएको बताए ।

उपमेयरमा पाँच जनाले आकांक्षा देखाएकाले सबैको नाम पठाइने उनले बताए । उपमेयरमा वर्तमान वडाध्यक्ष टंक पराजुली, खेमप्रसाद लुइँटेल, ज्ञानु केसी, मधुकला कुँवर र कल्पना थापा आकांक्षी देखिएकाले सबैको नाम पठाइएको छ । तर मेयरमा अरूले टिकट पाए त्यही दाबेदार गरेकी सावित्रा अर्यालले उपमेयरको टिकट पाउन सक्ने आंकलन स्थानीय नेताहरूको छ ।

एमालेका एक नेताका अनुसार मेयरमा धेरै आकांक्षी देखिए पनि अहिलेका मेयर सुवेदीले नपाउने स्थितिमा बाबुराम भट्टराई र गोपाल रानामध्ये एक जनाले मेयरको टिकट पाउने सम्भावना छ ।

अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेका बाबुराम भट्टराई २०३६ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध भई जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन् ।

तत्कालीन लुम्बिनी अञ्चल अस्पताल विकास समितिको अध्यक्ष, नेपाल औषधि व्यवसायी महासंघका केन्द्रीय अध्यक्षसमेत भइसकेका भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका थिए ।

बुद्धिजीवी परिषद्मा रहेर समेत काम गरेका भट्टराईलाई पार्टी भित्र र बाहिर पनि बौद्धिक व्यक्तिका रूपमा चिन्ने गरिन्छ । सबैलाई सन्तुलित व्यवहार गर्ने र आफू कम बोल्ने व्यक्तिगत स्वभावका कारण भट्टराईमा विपक्षीको मत तान्न सक्ने क्षमता रहेको पार्टीका कतिपय नेताहरू बताउँछन् ।

यता होटेल व्यवसायमा रुपन्देहीमा मात्र होइन नेपालकै अब्बल व्यवसायीको परिचय बनाएका राना युवामाझ लोकप्रिय मानिन्छन् । झण्डै डेढ दशकदेखि मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट सञ्चालन गरेका रानाले यसै वर्षदेखि बुटवलमा ड्रिम इन्टरनेशनल सञ्चालन गरेका छन् ।

उनी एमालेका निवर्तमान जिल्ला उपसचिव, हालका प्रदेश कमिटी सदस्य तथा होटेल व्यवसायी महासंघका केन्द्रीय सदस्य छन् । बुटवलमा रहेको जनजाति र युवाहरूको मत तान्न पार्टीले रानालाई मेयरको उम्मेदवार बनाउनुपर्ने कतिपय एमाले नेताहरूको मत छ ।

मेयरमा कसले टिकट पाउँछ त्यसैको आधारमा उपमेयरको लागि उम्मेदवार छनोट गरिने एमाले नेताहरूको अनुमान छ ।

नेकपा एमालेले चैत ३० गतेभित्र देशभरका सबै पालिकाबाट प्रमुख र उपप्रमुखहरूको नाम माथिल्ला कमिटीमा पठाउन तल्ला कमिटीमा निर्देशन गरिसकेको छ । नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरू जिल्ला कमिटीको समन्वयमा प्रदेश कमिटीले टुंग्याउन सक्ने भए पनि उपमहानगर र महानगरपालिकाको हकमा भने केन्द्रमा नै सिफारिस गर्नुपर्ने भनिएको छ ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले सोमबार साँझसम्म पालिकाबाट उम्मेदवारको नाम सिफारिस भएर आए मंगलबार नै केन्द्रमा र प्रदेश कमिटीमा पठाउने बताए ।

एमालेबाट बुटवलको वडा नं १ बाट महेन्द्र लिगल, वडा नं ५ बाट जलिल मिया र वडा नं १४ बाट दधिराम न्यौपानेको नाम सर्वसम्मत वडाध्यक्षमा सिफारिस भएको छ अन्य वडाहरूबाट २ जनादेखि ५ जनाको नाम सिफारिस भएको छ । लिगल र न्यौपाने अहिलेका वडाध्यक्ष हुन् ।

यस्तो छ विगतको इतिहास

बुटवल उपमहानगरपालिकामा २०५१ सालदेखि एमालेकै नेतृत्व छ । २०५४ सालमा भोजप्रसाद श्रेष्ठ मेयर बनेको बुटवलमा देश संघीय संरचनामा गएपछि २०७४ सालको पहिलो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनमुक्ति पार्टीका साझा उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेलाई हराउँदै एमालेका शिव सुवेदी मेयर बने । उपमेयरमा पनि तीन दलीय गठबन्धनबाट माओवादी केन्द्रका जगत पोखरेललाई हराउँदै एमालेकै गोमा आचार्य उपमेयर बनेकी थिइन् ।

मेयरमा निर्वाचित सुवेदीले २३ हजार २४९ मत पाउँदा कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत पाएका थिए । उपमेयरमा निर्वाचित आचार्य र पराजित बनेका पोखरेलको मतान्तरले झण्डै ११ हजार हाराहारी थियो। आचार्यले २५ हजार ३०१ मत पाउँदा पोखरेलले १४ हजार ७९२ मत पाएका थिए।

१९ वटा वडा रहेको बुटवलमा वडा नं. १३, १८ र १९ मा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित सात जना मात्रै जनप्रतिनिधि जिते पनि मेयर, उपमेयर र १६ वटा वडा अध्यक्षसहितका बाँकी जनप्रतिनिधि एमालेबाटै विजयी भएका थिए ।

गठबन्धनमा कसले पाउला ?

गठबन्धनबाट सबैभन्दा बलियो उम्मेदवारको रूपमा नेपाली कांग्रेसका खेलराज पाण्डेकै नाम अहिले पनि चर्चामा छ । कांग्रेसले पनि बुटवल उपमहानगर समिति सभापतिसमेत रहेका पाण्डेकै पक्षमा सहमति जुटाएर उम्मेदवार सिफारिस गर्ने कसरतमा छ । तर नेता बालकृष्ण खाँण समूहले संस्थापन इतर समूहलाई बुटवल दिनुपरेको खण्डमा पाण्डेको विकल्पमा नेता हरि लम्साललाई अगाडि सार्न सक्ने स्थानीय नेताहरूको भनाइ छ ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बुटवलको मेयरको लागि पार्टीबाट पाण्डेसँगै क्षेत्रीय सभापति हरि लम्साल, महेशमान सिंह र रिता केसीको नाम चर्चामा आए पनि सहमति जुटाएर पठाउने बताए ।

सभापतिका आकांक्षी लम्साल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व सभापति हुन् भने सिंह प्रदेशसभा चुनावमा रुपन्देही प्रदेशसभा २ ‘क’ बाट चुनाव लडेर पराजित भएका व्यक्ति हुन् ।

गठबन्धनमा नेकपा एसको मेयरमा दावी

नेकपा एसले एमालेले जितेको भएकाले एमालेबाटै विभाजन भएकाले बुटवलको मेयर पाउनुपर्ने दावी केन्द्रबाटै गरेको छ । नेकपा एसका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण चापागाईँ ०५४ सालमा पनि एमालेबाट बुटवलको मेयरका दाबेदार थिए भने ०७४ सालमा पनि दाबेदार थिए । नेकपा एसले मेयर पाएको खण्डमा आफू तयारी रहेको उनले बताएका छन् । यो पार्टीबाट नेता राजु गुरुङ पनि आकांक्षी रहेका छन् भने उपमेयरमा सरिता श्रीस दाबेदार रहेका छन् ।

गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रबाट मनोज राना, टिका वली, गंगा खनाल, रिज्जु श्रेष्ठलगायतको नाम चर्चामा छ भने नेपाली कांग्रेसकी बालकुमारी भण्डारी, सावित्रा टण्डनको दावेदारी छ।

सिनपाको मेयरमा ८ जना सिफारिस

सिद्धार्थनगर नगरपालिकामा एमालेबाटै मेयरमा आठ जना आकांक्षी बनेका छन् । नगर सचिव नारायण प्रसाद भण्डारीले आकांक्षी आठ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको बताए । भरत पोखरेल, नारायण प्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्र पन्थी, जिवलाल अर्याल, अर्जुन गिरि र वर्तमान मेयर हरिप्रसाद अधिकारीको नाम सिफारिस गरिएको छ । उपमेयरमा भने तिन जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार उमा अधिकारी, सिता काफ्ले र पम्फावती खनालको नाम सिफारिस गरिएको नगर सचिव भण्डारीले जानकारी दिए ।

तिलोत्तमामा ४ जनाको सिफारिस

तिलोत्तमा नगरपालिकामा वर्तमान मेयर वासुदेव घिमिरेसहित मोहन चापागाईँ, यज्ञ गैरे, दिनेश फुल्लेलको नाम सिफारिस गरिएको एमाले नगर अध्यक्ष तामानाथ पाण्डेले बताए । त्यस्तै उपमेयरमा पनि वर्तमान उपमेयर जगेश्वरदेवी चौधरीसहित संगिता गुरुङ, रेनुका खरेल, जमुना लम्साल र देवी वाग्लेको नाम सिफारिस गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर