इटहरीमा गठवन्धनबाट नेकपा एसले मेयरको टिकट पाउने चर्चाले कांग्रेस तरङ्गित – Nepal Press

इटहरीमा गठवन्धनबाट नेकपा एसले मेयरको टिकट पाउने चर्चाले कांग्रेस तरङ्गित

इटहरी । गत बुधवार इटहरी कांग्रेस सचिव विक्रम घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गरे । उनले लेखे, ‘पिपुल टेस्टेड नभै मेरो जनमत यत्ति छ भन्नु हास्यास्पद मात्रै हो ।’

अलिकति घुमाउरो भाषामा भनिएको यो पोस्टलाई इटहरीमा नेपाली कांग्रेसले मेयरको टिकट नपाएर नेकपा एसले पाउने गाँइगुइँमा आएको असन्तुष्टि हो ।

घिमिरेले इटहरीमा नेकपा एसले मेयर टिकट पाउने गाँइगुइँ आएपछि घिमिरे जस्तै धेरै इटहरी कांग्रेसका नेता कार्यकर्ताहरू तरङ्गित भएका छन् ।

गत चैत २३ गते सुनसरीमा पाँच दलको जिल्ला बैठक बसेर गठबन्धन गर्ने कुरा सार्वजनिक भएपछि सुनसरी क्षेत्र नम्बर २ (१) का सभापतिका प्रत्याशी धनबहादुर पुरीले आफ्नो आपत्ति सार्वजनिक रूपमै व्यक्त गरेका छन् ।

इटहरीको मेयर गठबन्धनका अन्य साना दललाई दिन नहुने भन्दै पुरीले शुक्रवार लेखेका थिए, ‘गठबन्धनको नाममा इटहरीको मेयर कुनै दललाई दिए भने हामी चुप लागेर बस्दैनौँ । २०७४ का इटहरीको मतको आधारमा माओवादीलाई उपमेयर र नेकपा एसलाई एउटा वडाध्यक्षसम्म दिनु ठिक हो बाँकी प्रमुख पदमा दाबी गर्न इटहरीमा माओवादी र नेकपा एसको हैसियत अहिले पुग्दैन ।’

माधव नेपालको पटक पटकको इटहरी आगमन, इटहरीमा भएका नेकपा एसका तारनतारका प्रदेश स्तरीय कार्यक्रम र नेकपा एसमा इटहरीका हेभिवेट पूर्व एमाले नेता भएकोले इटहरीको मेयर नेकपा एसको भागमा पर्ने हल्ला भूसतहमा चलेको छ ।

खास गरी राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव भइसकेका नेकपा एसका केन्द्रीय नेता केशव कुमार विष्टले मेयरको टिकट पाउने चर्चा भएपछि इटहरी कांग्रेसमा तरङ्ग आएको हो ।

कतिपय नेकपा एसका नेताहरू भने अन्तिम समयमा मेयरमा एमालेबाट टिकट नपाएमा द्वारिकलाल चौधरी टिकट पाएमा एसको मेयर उम्मेदवार हुने सम्भावना रहेको बताउँछन् ।

इटहरी एमालेबाट मेयरका सम्भावित नाम रेवती रमण भण्डारी, याम सुब्बा र लक्ष्मी गौतम हुन् । २१ सय प्रतिनिधि भएको नेकपा एमालेको सुनसरी जिल्ला अध्यक्षमा ८० मत मात्रै ल्याएपछि चौधरीले लोकप्रियतामा प्रश्न उठाउँदै उनको टिकटको सम्भावना एमालेबाट नभएको चर्चा चलेको छ ।

तर नेकपा एसले टिकट दिने पक्का भएमा उनी एमाले परित्याग गर्न तयार रहेको बुझिएको एक नेताले बताए ।

कांग्रेसका एक नेता भन्छन्— इटहरीमा माधव नेपालको पार्टीले भागवण्डामा मेयरको टिकट लान सक्ने चर्चा मैले पनि सुनेको छु । तर, त्यसो भयो भने इटहरी कांग्रेसमा व्यापक असन्तुष्टि हुनेछ ।

गत स्थानीय चुनावमा इटहरी कांग्रेसले सभापति हेमकर्ण पौडेललाई मेयरको टिकट नदिएपछि सडकमा आन्दोलन नै भएको प्रसङ्ग सुनाउँदै भने, ‘आफ्नै पार्टीको लोकप्रिय नेताले टिकट नपाउँदा आन्दोलन गर्ने इटहरी कांग्रेसका नेता कार्यकर्ता पङ्क्तिले नयाँ र धेरै सानो पार्टीको नेतालाई मेयर स्वीकार गर्न सक्दैनन् ।’

२०७४ असार १४ गतेको स्थानीय तहको चुनावमा इटहरीका २० वडामा १२ वडामा अध्यक्ष नेपाली कांग्रेससले जितेको थियो भने मेयरमा २७०५ मतले हारेको थियो ।

पछिल्लो चुनावमा एमालेका द्वारिकलाल चौधरीले २२६८९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रोहित प्रसाईँले १९९८५ मत ल्याएका थिए । तेस्रो मत ल्याएका थिए राप्रपाका मेयर उम्मेदवार रोहित कुमार कार्की थिए । ३७१५ मत ल्याएका कार्की एमाले प्रवेश गरेका छन् ।

नेकपा माओवादीको जनमत चौथौँ भएको पछिल्लो स्थानीय चुनावमा माओवादीकी मेयर उम्मेदवार हरिमाया जिमीको मत ३३६४ आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर