तालमेल नटुंगिदै भरतपुरको मेयरमा कांग्रेसको दरखास्त खुल्यो, पहिलो दिनमै १३ जनाको दाबेदारी – Nepal Press

तालमेल नटुंगिदै भरतपुरको मेयरमा कांग्रेसको दरखास्त खुल्यो, पहिलो दिनमै १३ जनाको दाबेदारी

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट १ दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

सत्तारुढ गठबन्धनभित्र भरतपुर महानगरपालिकाको नेतृत्व कसले लिने भन्ने टुंगो नलागेपनि कांग्रेसले प्रत्याशीहरूको ‘रोष्टर’ तयार गर्न इच्छुक उम्मेदवारहरूको निवेदन संकलन गरेको हो ।

नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज र भोलि २ दिनसम्म महानगरको प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्न इच्छुक नेताहरूलाई निवेदन दिन समय दिएको छ । आज दिनभरमा प्रमुख र उपप्रमुखतर्फ १३-१३ जनाले निवदेन बुझाएका छन् ।

भरतपुरको मेयरका लागि भरत अधिकारी, शंकरप्रसाद कडेंल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, निलकण्ठ शर्मा रिजाल र गौरीकुमारी श्रेष्ठ रहेका छन् ।

उपमेयरका लागि तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, टंकनाथ पौडेल, पूर्णबहादुर गुरुङ र राजीव न्यौपानेले निवेदन दिएका छन् ।

चितवन कांग्रेसले स्थानीय तहका उम्मेदवार सिफारिसका लागि सहज होस् भन्ने उद्देश्यका साथ दाबेदारहरूसँग निवेदन मागेको हो । चितवनमा कांग्रेसले मेयर पाउने निश्चित भइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर