दीपेन्द्रसिंह ऐरी प्लेयर अफ दी सिरिज र प्लेयर अफ दी फाइनल – Nepal Press

दीपेन्द्रसिंह ऐरी प्लेयर अफ दी सिरिज र प्लेयर अफ दी फाइनल

काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी घरेलु मैदानमा सोमबार सम्पन्न त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका प्लेयर अफ दी सिरिज र प्लेयर अफ दी फाइनल दुवै घोषित भएका छन् ।

ऐरीको शानदार अलराउन्ड प्रदर्शनपछि नेपालले सोमबार भएको फाइनलमा पपुआ न्युगिनीलाई ५० रनले पराजित गरेर घरेलु मैदानमा लगातार दोस्रोपटक त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधि जितेको हो ।

यसअघि नेपालले गत वर्ष नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिकोणात्मक शृंखला पनि घरेलु मैदानमा जितेको थियो । ऐरीले बनाएको ५४ रनको मद्दतमा नेपालले पीएनजीलाई उपाधि जित्न एक सय ६९ रनको लक्ष्य दिएको थियो ।

८२ रन जोड्दा ५ विकेट गुमाएको अवस्थामा ऐरीले छैटौँ विकेटका लागि आदिल अन्सारीसँग ३२ र सातौँ विकेटका लागि करन केसीसँग ५४ रनको साझेदारी गरेका थिए।

करनले पनि १२ बलमा ३३ रन बनाए । पीएनजी २३ बल बाँकी रहँदा एक सय १८ रनमा समेटियो । दीपेन्द्रले ४ विकेट लिए । उनले ४ ओभरमा १८ रनमात्र खर्चिएका थिए । करनले तीन र सन्दीप लामिछानेले दुई विकेट हात पारे ।

पाचौँ ओभरमा बलिङ गर्न आएका ऐरीले तेस्रो र चौथो बलमा टोनी उरा र असाद भालालाई आउट गरेका थिए । उनले १० औँ ओभरमा अर्का अनुभवी ब्याट्सम्यान चार्ल्स अमिनीलाई पनि आउट गरेका थिए । दीपेन्द्रले लिग चरणका अन्तिम दुई खेलमा सतक र अर्धसतक बनाएका थिए । पीएनजीविरुद्ध ६६ रन बनाएका उनले मलेसियाविरुद्ध एक सय १० रनको पाली खेलेका थिए ।

उनी ५ खेलमा २ सय ५५ रन जोड्दै शृंखलाको सर्वाधिक रनकर्ता बने । ५ खेलमा एक सय १९ रन बनाएका उरा दोस्रो स्थानमा रहे । उनले पाँच खेलमा ७ विकेट पनि लिए । ऐरी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०२२ का सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले १३ खेलमा ५ सय ५६ रन जोडेका छन् ।

पपुआ न्युगिनीसँग सोमबार थप २१ रन जोड्दै उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् र यस्तो सफलता हात पार्ने पहिलो नेपाली ब्याट्सम्यान बनाएका छन् । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने कुनैपनि नेपाली ब्याट्सम्यानले एक हजार रन पुरा गर्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर