सैनामैनाका विपन्न परिवारलाई नमुना घर हस्तान्तरण – Nepal Press

सैनामैनाका विपन्न परिवारलाई नमुना घर हस्तान्तरण

रुपन्देही । रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी बिहीबार एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले नमूना बस्ती नै हस्तान्तरण गरेको हो ।

सैनामैना नगरपालिकाले चक्रपथ निर्माण गर्दा विस्थापित हुनसक्ने परिवारको लागि भन्दै सैनामैना नगरपालिका वडा नं. ११ कञ्चन खोलाको किनारमा नमूना बस्ती निर्माण गरेको थियो । तराई मधेस समृद्धि कार्यक्रमको ७० प्रतिशत र सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएका नमूना घरमा १ शौचालय र ३ वटा कोठा रहेका छन् ।

आर्थिक वर्ष २०७५/७६ बाट सुरू गरिएको बस्ती निर्माणमा १ करोड ८६ लाख ५७ हजार रुपैयाँ बजेट लगानी भएको नगरपालिकाका इन्जिनियर अरूण खनालले जानकारी दिए । नगरपालिकाले निर्माण गरेका १० वटा घरमध्ये बिहीबार ९ वटा घर हस्तान्तरण गरिएको हो ।

नगरपालिकाका अधिकृत सन्तकुमार चौधरीले नगरपालिकाका सबै वडाबाट एक-एक जना सबभन्दा विपन्न परिवार छनोट गरी घर हस्तान्तरण गरिएको जानकारी दिए ।

नगरपालिकाले उपमेयर विना रानाको संयोजकत्वमा सन्तकुमार चौधरी र पञ्जीकरण अधिकृत केशवराज अर्याल सदस्य रहेको समिति गठन गरी विपन्न परिवार छनोट गरेको थियो। वडा कार्यालय र समितिले गरेको सिफारिसको आधारमा परिवारलाई घर हस्तान्तरण गरिएको हो ।

नमूना बस्तीमा घर पाउँदा आर्थिक रूपमा विपन्न भएका परिवार खुसी भएका छन् । चक्रपथ निर्माणको क्रममा सैनामैना वडा नं. ५ मा रहेको सानो घरसमेत भत्काएर विस्थापित बनेकी राजकुमारी थारूले नगरपालिकाले घर बनाएर दिएपछि खुसी लागेको बताइन् । विकास निर्माण गर्दा घर खेत नै गुमाउने परिवारलाई सैनामैनाले बासको व्यवस्था गरिदिनुपर्ने उनको भनाइ छ ।

‘हामी त कहाँ जाने भनेर सोच्न नै सकेका थिएनौं, नगरपालिकाले घर बनाएर दिएपछि परिवार पाल्नलाई त दैनिक ज्यालादारी काम गरेर पनि सकिन्छ,’ उनले भनिन् ।

विपन्न परिवारलाई घर हस्तान्तरण गर्दै राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकार नागरिकका हरेक दुःखसुखमा सँगै रहनुपर्ने बताए । बिहीबार हस्तान्तरण गरिएका घरपरिवारबाट नगरपालिकाले मासिक १ सय रुपैयाँ शुल्क लिने गरी कार्यविधि बनाएको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

घर जग्गा सबै हस्तान्तरण गर्दा विपन्न परिवारले बिक्री गर्ने र फेरि घरबारविहीनको अवस्थामा पुग्न सक्ने भएकोले नगरपालिकाले १ सय रुपैयाँ शुल्क लिएर लिजको रूपमा घर उपलब्ध गराउने गरी कार्यविधि बनाएको उनले बताए ।

नगरपालिकाले सञ्चालन गरेका ठूला आयोजनाका कारण विस्थापित भएका परिवार, विपत्तिमा परेको र ठूलो रोग लागेर उपचारमा सम्पत्ति सकिएर सडकमा आउने परिस्थितिमा परेका परिवारलाई लक्षित गरेर नमूना बस्तीको अवधारणा ल्याइएको उनले बताए ।

जनताको तटबन्धन कार्यक्रममार्फत कञ्चन खोलामा गरिएको तटबन्धनपछि धेरै जग्गा समेत सुरक्षित बन्दै जाने र सोही जग्गामा विपन्न परिवारका लागि बस्ती थप गर्दै लैजाने नगरपालिकाको योजना रहेको छ ।

निर्माण सम्पन्न भएका १० वटा घरसहितको नमूना बस्तीमा तार लगाएर बारिएको भए पनि कम्पाण्ड वाल लगाउने काम बाँकी रहेको छ । नगरपालिकाले खेल मैदान बनाउने, बिजुलीको पोल विस्तार र तटबन्धनको काम समेत गर्दै जाने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *