नेपाल प्रहरीको बढुवामा ‘जम्प’ गर्नेको आतंक – Nepal Press

नेपाल प्रहरीको बढुवामा ‘जम्प’ गर्नेको आतंक

काठमाडौं । मन्त्रिपरिषद्को विहीबार बिहान बसेको बैठकले धिरजप्रताप सिंह, रविन्द्र धानुक र वसन्त पन्तलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेसँगै भावी महानिरीक्षक (आईजिपी) को प्रतिस्पर्धामा चारजना प्रत्यासी देखिएका छन् ।

सिंह र धानुकसँगै वर्तमान एआईजीहरू सहकुलबहादुर थापा र विश्वराज पोखरेलमध्येबाट एकजनालाई सरकारले आईजीपी नियुक्त गर्नेछ । वर्तमान आईजीपी शैलेश थापाले आगामी वैशाख १८ गते अवकाश पाउँदैछन् ।

नेपाल प्रहरीमा एआईजीको तीनवटा दरबन्दी थप गर्ने निर्णय र त्यसका लागि भएको बढुवा सिफारिस यसपटक निकै विवादित बन्यो । बहालवाला आईजीपीले अवकाश पाउन झण्डै तीन महिनाअघि थपिएको यो दरबन्दी भावी आईजीपीको चलखेलका लागि गरिएको भनेर बुझ्न गाह्रो छैन । खासगरी वरिष्ठता मिचेर ल्याइएका धानुक र सिंह आगामी आईजीपीको प्रतिस्पर्धामा हुनेछन् ।

प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजीपी नियुक्त गर्न सकिने व्यवस्था भएकाले अन्तिम समयमा थपिएको दरबन्दीपछि सिंह र धानुक सैद्धान्तिक प्रतिस्पर्धामा देखिएका छन् । झण्डै डेढ वर्षअघि एआईजी बनेका पोखरेल र त्यसपछि भएका थापासँग उनीहरूको प्रतिस्पर्धा रहने छ ।

२०५१ चैत, २०५२ साउन र कात्तिकमा प्रहरी निरीक्षकबाट सेवा सुरू गरेकाहरू अहिले एसएसपी छन् । त्यतिबेला ९८ जना प्रहरी निरीक्षक भर्ना लिइएको भएपनि तीनवटा फरक मितिमा उनीहरूलाई नियुक्ति दिइएको थियो । यो ब्याचबाट २०७९ चैतपछि नेपाल प्रहरीले आईजीपी पाउने छ ।

डीआईजीको वरीयतामा अगाडि रहेका घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले सिफारिसविरुद्ध उजुरी गरेपनि त्यो औपचारिकतामै सीमित बन्यो । यद्यपि उनीहरू अहिले सर्वोच्चको ढोकामा पुगेका छन् ।

उजुरी सुन्ने समितिले बुधबार बढुवा समितिको सिफारिस सदर गरेपछि पन्त, सिंह र धानुक एआईजी बन्ने पक्का भएको हो । बढुवा समितिले दिने साढे ७ अंकले आफूले चाहेको व्यक्तिलाई अगाडि ल्याउन सकिने भएकाले एआईजीसम्मको बढुवामा ज्येष्ठता र वरिष्ठता बारम्बार मिचिएको पाइने गरेको छ ।

हाल एआईजी रहेका पोखरेल र थापाको बढुवामा पनि ज्येष्ठता र वरिष्ठता नमिचिएको हैन । पोखरेल वर्तमान आईजीपी थापासँगै एसपीबाट एसएसपीमा बढुवा भएका थिए । उनले बढुवा हुँदा शैलेश थापाका कतिपय इन्सपेक्टर ब्याचीहरूलाई वरीयतामा पछाडि पारेका थिए ।

एक डीआईजीको दुर्घटनामा मृत्यु भएपछि रिक्त दरबन्दीमा पोखरेललाई बढुवा गरिएको थियो तर त्यतिबेला उनीभन्दा वरीयतामा अगाडि रहेका एसएसपीहरू पनि थिए । पोखरेल एक्लै डीआईजी भएपछि उनलाई नेपाल प्रहरीको भावी आईजीपीका रूपमा हेर्न थालिएको थियो ।

२०४९ चैतमा प्रहरी निरीक्षकबाट सेवा सुरू गरेर डीआईजी हुने उनी पहिलो व्यक्ति भएको र अन्य ब्याचीहरू एसएसपी र एसपी नै रहेकाले पोखरेललाई निर्विकल्प दाबेदारका रूपमा हेरिएको थियो ।

तर, उनी सोही दर्जामा रहँदै उनका इन्सपेक्टर ब्याचीहरू पनि डीआईजी भए । एसएसपी बढुवा हुँदा पोखरेलको ‘लट’ मा छुटेका सहकुल थापा डीआईजी हुँदा भने आफ्नो इन्सपेक्टर ब्याचमा दोस्रोमा रहे, पोखरेलभन्दा मात्र पछाडि ।

पोखरेलसँगै एसएसपी भएका धिरजप्रताप सिंह, वसन्त लामा, रविन्द्रबहादुर धानुक, उत्तम सुवेदीलाई थापाले उछिनेका थिए, डीआईजीमा बढुवा हुँदा । प्रतिस्पर्धा चर्कने देखिएपछि एआईजीको एउटा दरबन्दी थपिएर पोखरेललाई बढुवा गरिएको थियो । त्यसको झण्डै ८/९ महिनापछि सहकुल थापा पनि एआईजीको दरबन्दी थप गर्दै बढुवा गरेका थिए । आईजीपी बन्ने होड त्यत्तिमै सीमित भएन । सिंह र धानुक पनि अन्तिम समयमा थपिएका छन् ।

एसएसपीमा पनि उस्तै

तीन जना डीआईजी, एआईजीमा बढुवा भएसँगै रिक्त स्थानमा बढुवा हुन वरिष्ठ उपरीक्षक (एसएसपी) हरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
२०५१ चैत, २०५२ साउन र कात्तिकमा प्रहरी निरीक्षकबाट सेवा सुरू गरेकाहरू अहिले एसएसपी छन् । त्यतिबेला ९८ जना प्रहरी निरीक्षक भर्ना लिइएको भएपनि तीनवटा फरक मितिमा उनीहरूलाई नियुक्ति दिइएको थियो । यो ब्याचबाट २०७९ चैतपछि नेपाल प्रहरीले आईजीपी पाउने छ ।

उक्त भर्नाबाट २०७५ माघ पहिलो लट एसएसपीमा पुगेको थियो । सन्दीप भण्डारी पहिलो, टेकप्रसाद राई दोस्रो, उमेशराज जोशी तेस्रो र श्यामलाल ज्ञवाली चौथो नम्बरमा रहेका थिए । उनीहरू सबैले २०५१ चैतमा नियुक्ति पाएका हुन् ।

त्यतिबेला बढुवा भएका १४ मध्ये दीपक थापा, टेक तामाङ र भीम ढकालले २०५२ साउनमा प्रहरी सेवामा नियुक्ति पाएका थिए । थापा प्रहरी नियमावली संशोधनपछि एसएसपी बढुवा भएका हुन् । एसपीबाट एसएसपीमा बढुवा हुन कम्तीमा बहालवाला दर्जामा ४ वर्ष पुग्नु पर्नेमा थापाको हकमा समय पुगेको थिएन । त्यसपछि चार वर्षलाई ३ वर्ष बनाउँदै थापालाई एसएसपी बढुवा गरिएको थियो ।

राष्ट्रिय अनुसन्धानबाट आएको टोलीलाई ‘टप्न’ सके करिब दुई वर्ष आईजीपी बन्ने दाउमा पुलिसको २०५४ चैतको टोली देखिन्छ।

आफ्नो इन्सपेक्टर ब्याचमा थापा पहिलो नम्बरमा छन् । पहिलो लटमा एसएसपी भएकाहरू मध्ये २०५१ चैतका ब्याचीहरू अहिले स्वाभाविक लबिङमा रहेको बताइन्छ । त्यसबाहेक दीपक थापा पनि अघिल्लो ब्याचलाई समेत उछिनेर अगाडि आउने र आईजीपीका लागि बलियो दाबेदार बन्ने प्रयासमा छन् ।

यो ब्याच सँगसँगै बढेर थापा आईजीपी बन्न सके २०५१ चैतमा सेवा सुरू गरेकाहरूमध्येबाट कोही पनि आईजीपी बन्ने छैनन् । थापाको प्रयास बुझेका सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, टेकप्रसाद राईलगायत २०५१ चैतका ब्याचीहरू थापादेखि सचेत छन् । यता २०७७ वैशाखमा एसएसपी भएकाहरू तत्काल डीआईजी बढुवा गर्न नहुने अडानमा छन् ।

‘अहिले बढुवा गर्दा तीनजना मात्र अगाडि बढ्नेछन् । वैशाख १८ पछि गर्दा डीआईजीको दरबन्दी धेरै रिक्त हुने हुँदा भावी आईजीपीका लागि धेरै जना प्रतिस्पर्धामा आउन पाउने छन्’, एक एसएसपी भन्छन् ।

राष्ट्रिय अनुसन्धानबाट आएको टोलीलाई रोक्ने संघर्ष

एसएसपीमा मात्र होइन, एसपीमा पनि ‘जम्प’ हान्ने टोलीको आतंक छ ।

२०५३ पुस र २०५४ माघमा राष्ट्रिय अनुसन्धानबाट सेवा सुरू गरेका तथा २०५४ चैतमा नेपाल प्रहरीबाट सेवा सुरू गरेकाहरू अहिले सिनियर एसपीहरू छन् उनीहरूमध्येबाट अब एसएसपीमा बढुवा हुनेछन् ।

एसएसपीमा मंसिरदेखि दरबन्दी खाली हुन थालेपनि बढुवाद्वारा पदपूर्ति भएको छैन । हाल एसएसपीका ८ दरबन्दी रिक्त छन् ।

डीआईजीमा रिक्त हुने तीन स्थानमा एसएसपीको बढुवा भए तत्काल ११ जना एसपीका लागि बढुवा हुने ठाउँ बन्छ । २०५८ सालमा नेपाल पुलिसमा समायोजन भएको राष्ट्रिय अनुसन्धानको टोली यतिबेला नेपाल पुलिसबाटै भर्ना भएकासँग सचेत छन् । २०७४ साउनमा ३५ जना डीएसपी, एसपीमा बढुवा भएका थिए ।

त्यतिबेला २०५२ सालमा प्रहरी निरीक्षक भएका एकजना, २०५३ साल पुसमा राष्ट्रिय अनुसन्धानबाट सेवा गरेका १० जना, २०५४ माघमा राष्ट्रिय अनुसन्धानबाट सेवा सुरू गरेका ५ जना र २०५४ चैतमा नेपाल पुलिसबाट सेवा सुरू गरेका १९ जना एसपी बनेका थिए ।

सूचीको दोस्रोदेखि ११ सम्म राष्ट्रिय अनुसन्धानबाट आएकाको नाम थियो भने त्यसपछि २०५४ चैतमा नेपाल पुलिसबाट सेवा सुरू गर्नेहरू ।
आफुभन्दा दुई वर्षअघि डीएसपी भएकाहरूसँगै राजन अधिकारी, ईश्वर कार्की, केदार रजौरे, मनोज केसी, रेवती ढकाल, दानबहादुर कार्कीहरू एसपी बनेका थिए । २०५४ चैतमा सेवा सुरू गरेका उनीहरू २०६६ सालमा डीएसपी भएका थिए ।

२०५३ पुसमा राष्ट्रिय अनुसन्धानबाट जागिर सुरू गरेको ब्याचबाट २०६४ सालमा नेपाल पुलिसको डीएसपी बनेका थिए । एकैपटक बढुवा भएकाले अब आफ्नो ब्याचलाई पुलिसबाट आएको जुनियर इन्सपेक्टर ब्याचले उछिन्न सक्नेतर्फ राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सचेत छन् ।

राष्ट्रिय अनुसन्धानबाट आएको टोलीलाई ‘टप्न’ सके करिब दुई वर्ष आईजीपी बन्ने दाउमा पुलिसको २०५४ चैतको टोली देखिन्छ।


प्रतिक्रिया

One thought on “नेपाल प्रहरीको बढुवामा ‘जम्प’ गर्नेको आतंक

  1. राजनीतिक नेतृत्व प्रहरीसँग पैसा खाँदै जथाभावी सरूवा वढुवा गरेर प्रहरी प्रशासनलाई ध्वस्त बनाउन लागेकाे छ । याे मामिलामा देउवा र खाँडले रेकर्ड नै ताेडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर