‘बोलमाया’ देखि ‘पीर’ सम्म : प्रकाश सपुतका कालजयी ६ गीत – Nepal Press

‘बोलमाया’ देखि ‘पीर’ सम्म : प्रकाश सपुतका कालजयी ६ गीत

काठमाडौं । गायक प्रकाश सपुत फेरि एकपटक आफ्नो सिर्जनामार्फत चर्चाको केन्द्रमा छन् । उनको नयाँ गीतले ‘पीर’ ले सांगीतिक क्षेत्रको दायरा नाघेर राजनीतिक वृत्तमा नै तरंग ल्याइदिएको छ ।

संगीत मुलतः मनोरञ्जनको माध्यम हो । तर, यदि संगीतले खास विचार र मुद्दालाई पनि बोकेको छ भने त्यसले समाजमा नयाँ बहसको सिर्जना गरिदिन सक्छ । संगीतमार्फत वैचारिक मुद्दाको उठान गरेर बहसको तुफान सिर्जना गर्नु प्रकाश सपुतको खुबी हो । योभन्दा अघि उनले सिर्जना गरेको ‘कुरा बुज्न पर्च’ बोलको गीतले लैंगिक मुद्दामा बहस छेडेको थियो ।

प्रकाशले जुन गीत गाए पनि त्यो ट्रेन्डिङको १ नम्बरमा आउनु त नियमितता नै भइसक्यो । ‘पीर’ले पनि २४ घन्टाभित्रै ट्रेन्डिङको शीर्षस्थानमा कब्जा जमाइसकेको छ । वास्तवमा यो गीत चर्चामा आउनुमा शब्द/संगीत/स्वर भन्दा पनि भिडियोको ठूलो हात छ । गीतका शब्द सुन्दा राजनीतिक आशय झल्किँदैन, तर भिडियोले बेग्लै कथा बोकेको छ ।

प्रकाश सपुत आफुले गाएका गीतको रचना संगीत मात्र होइन, भिडियोको निर्देशनसमेत आफैंले गर्ने गर्छन् । अहिलेसम्म उनका गीतहरु हिट हुनुमा भिडियोको पनि हात ठूलो छ । अनि, हरेक गीतमा फरक ‘थिम’ र प्रस्तुतिकरण प्रकाश सपुतको अर्को विशेषता हो । उनी सिंगै चलचित्र बन्न सक्ने कथा एउटा गीतमा अटाइदिन्छन् ।

यहाँ हामी सपुतका ६ सिर्जनाहरुको चर्चा गर्दैछौं, जसले उनलाई संगीत क्षेत्रमा चिनाए र स्थापित गराए ः

१ बोलमाया

प्रकाश सपुतलाई अलग पहिचानका साथ नेपाली संगीतमा स्थापित गराउने कालजयी गीत हो– बोलमाया । लोकधुन मिश्रित करुणरसमा गाइएको यो गीतमा शब्द, संगीत र स्वरको बेजोड संगम रहेको छ । २०७५ जेठ ४ गते सार्वजनिक भएको यो गीतमा प्रकाश सपुतसँगै नारायण रायमाझी र शान्तिश्री परियारले स्वर दिएका छन् ।

गीतका केही शब्द यस्ता छन् :

धन ल्याउछु भन्दै गएका थियौ उडेर आकाशमा

कस्तो भइ गयौ कस्तो भइ आयौ काठैको बाकसमा

संगै जाम स्वर्ग भनेको भए मै जाने थिइन र

जबाफ देउ प्यारा एक बचन बोल बोल्दैनौ किन र ?

बोल माया ….एक वचन बोल

तिम्रै बोलि छ मलाई अनमोल

बोलमायाको भिडियो पनि उत्तिकै जिवन्त थियो । यही गीतमा गरेको मर्मस्पर्शी अभिनयले अञ्जली अधिकारीलाई मोडलिङमा स्थापित गरायो । यसपछि उनले पछाडि फर्केर हेर्नु परेन ।

यो गीतको भिडियो आजका दिनसम्म २ करोडभन्दा बढीपटक हेरिएको छ । गीतमा आएका १८ हजारभन्दा बढी प्रतिक्रियामा सतप्रतिशत सकारात्मक छन् । गीतले दुई लाख २४ हजार लाइक्स पाएको छ ।

२. गलबन्दी

प्रकाश सपुतको अहिलेसम्मकै सर्वाधिक लोकप्रिय सिर्जना हो– गलबन्दी । ‘बोल माया’ को सिक्वेलका रुपमा ल्याइएको भए पनि यो गीतको मुड र धार बोलमायाभन्दा बेग्लै छ । यो टिपिकल लोकभाकाको गीत हो, जुन एक समयमा सबैको जिभ्रोमा झुण्डिएको थियो ।

‘बोलमाया’ की बिरही पात्र अञ्जलीलाई प्रकाश सपुतले गरेको छेडछाड र अञ्जलीको लजालु अभिनय धेरैले मन पराए । गायनमा प्रकाश सपुतलाई शान्ति श्री परियारले नै साथ दिएकी छन् । गीतका शब्दहरु प्रकाश सपुतकै हुन् ।

वरिष्ठ गायक शम्भु राईले आफ्नो एउटा पुरानो ‘देउसी भैलो’ गीतको लयसँग मिल्दोजुल्दो रहेको भनेर विवादसमेत उब्जाएका थिए । विवाद मत्थर पार्नका लागि गीतको सर्जकका रुपमा शम्भुको समेत नाम समावेश गरिएको छ ।

प्रकाश सपुतले गाएकामध्ये सर्वाधिक भ्यूज पाएको गीत हो गलबन्दी । आजका दिनसम्म यो गीतलाई पाँच करोडपटक भन्दा बढी हेरिएको छ । गीतमा १८ हजारभन्दा बढी कमेन्ट छन् भने ५ लाख २४ हजारभन्दा बढीले लाइक बटम थिचेका छन् । यो गीत २०७६, जेठ १० गते युट्यूवमा रिलिज गरिएको थियो ।

३. बदला बरिलै

व्यवसायीकताभन्दा टाढा रहेर प्रकाश सपुतले गरेको विसुद्ध सन्देशमुलक सिर्जना हो, बदला बरिलै । अहिलेसम्म करोड भ्यूज नकटाएको भए पनि सपुतका कालजयी सिर्जनमा यसलाई राख्न हिच्किचाउनु पर्दैन ।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले राष्ट्रिय चर्चा पाइरहँदा बलात्कारको थिममा यो गीत प्रकाशले ल्याएका थिए । यो गीतमा प्रकाशले स्वर दिएका छैनन् । यद्यपि, रचना, संगीत र भिडियो निर्देशन उनको हो । देवी घर्तिको आवाजमा यो गीत सजिएको छ ।

गीत जति बुलन्द छ, त्यत्तिकै उत्कृष्ट छ भिडियो । नायिका केकी अधिकारीले मूख्य भूमिकामा अभिनय गरेकी छन् । उनले गीतको भावले छोएर आफूले बिनापारिश्रमिक यसमा काम गरेको बताएकी थिइन् । यो गीतमा सिंगो एउटा चलचित्र बन्न सक्ने कथा अटाएका छन् प्रकाशले ।

सन् २०७७, साउन १७ गते युट्यूवबाट प्रिमियर गरिएको यस गीतले हालसम्म ९१ लाखभन्दा बढी भ्यूज पाएको छ । गीतमा करिब २० हजार प्रतिक्रिया आएका छन् ।

४. मेरो पनि होइन र यो देश

प्रकाश सपुत मधुर गायनका लागि चिनिन्छन् । गत वर्ष उनले सार्वजनिक गरेको ‘मेरो पनि होइन र यो देश’ बोलको विद्रोही गीतमा भने उनी आक्रामक सुनिए । यो गीतमा जातीय तथा सामाजिक उत्पीडनको विरुद्धमा उनले आगो ओकलेका थिए ।

स्वयम् एउटा दलित परिवारको सदस्य भएकाले पनि प्रकाश सपुत यो गीतमा गज्जबसँग पोखिएका छन् । भावमा डुबेर सुन्दा यो गीतले जोकसैको शरीरमा काँडा उमार्छ । गीतको शब्द, संगीत र स्वर प्रकाशकै हुन् । गीतलाई उत्पीडनमा परेकाहरुको साझा आवाजको रुपमा स्वीकारिएको छ ।

२०७८, वैशाख १० गते सावर्जजनिक भएको यो गीतले पनि एक करोड भ्यूजको दायरा कटाइसकेको छैन । गीतमा करिब २५ हजार प्रतिक्रिया आएका छन् भने ३ लाख ३५ हजारभन्दा बढी लाइक्स आएका छन् ।

५. कुरा बुज्न पर्च

यसै वर्ष सार्वजनिक भएको ‘कुरा बुज्न पर्च’ पनि प्रकाश सपुतको सर्वाधिक लोकप्रिय सिर्जनाभित्र पर्छ । यद्यपि, यसमा प्रकाशले स्वर भने दिएका छैनन् । गायिकाद्वय शान्ति श्री परियार र समिक्षा अधिकारीले स्वर दिएको गीत झट्ट सुन्दा मनोरञ्जक तर गहकिलो सन्देश बोकेको छ ।

महिला सशक्तीकरण गीतको मूख्य थिम हो, तर केही महिलावादीहरुले नै गीतका केही शब्दहरुमा असन्तुष्टि जनाएका थिए । दर्शक÷स्रोताले सहजै टिप्ने र गुन्गुनाउनले शब्दहरु भएकाले यो गीत तत्काल लोकप्रिय बनेको थियो । साथै गीतको भिडियोले पनि दर्शकको मन जित्यो । नायिकाद्वय स्वस्तिमा खड्का र आँचल शर्माको जोडी गीतमा खुबै जमेको छ । धन–सम्पत्ति भएको भन्दा पनि माया गर्ने श्रीमान चाहिन्छ भन्ने मुख्य भाव बोकेको छ यस गीतले ।

२०७८, साउन २२ मा सार्वज्निक भएको गीतलाई अहिलेसम्म करिब २ करोड ८० लाख भ्यूज प्राप्त भइसकेको छ । यसमा करिब १२ हजार कमेन्ट आएका छन् भने ३ लाख ३८ हजारले लाइक बटम थिचेका छन् ।

६. पीर

https://youtu.be/Gep3jLq32OI

दुई दिनअघि सार्वजनिक भएको ‘पीर’ बोलको गीत प्रकाश सपुतको पछिल्लो सिर्जना हो, जुन अहिले ‘टक अफ दि टाउन’ बनिरहेको छ । आम दर्शक÷स्रोताले निकै तारिफ गरेको गीतमा माओवादी पार्टीका कार्यकर्ताले भने चित्त दुखाइरहेका छन् ।

पहिलोपटक प्रकाश सपुतले बिसुद्ध राजनीतिक विषयवस्तुको उठानका गरेका हुन् । यद्यपि, गीतका शब्दहरु भने राजनीतिक छैनन्, भिडियोले बोल्ने कथामा माओवादी जनयुद्धलाई विषयवस्तु बनाइएको छ । जनयुद्धका पूर्वलडाकुहरु आज कस्तो जीवन बाँचिरहेका छन् भन्ने अँध्यारो पाटोलाई गीतले प्रस्तुत गरेको छ ।

एक महिला लडाकु अहिले देहव्यापारमा संलग्न भएको देखाइँदा माओवादी पंतिले असन्तुष्टि जनाएका हुन् । कतिपयले गीतलाई युट्यूवबाटै हटाउनसमेत माग गरेका छन् । देहव्यापारको ठाउँमा अरु कुनै पेशा देखाइएको भए विवाद नउब्जिन सक्थ्यो ।

प्रकाश सपुतको स्तरमा हेर्दा यो औसत स्तरको गीत हो । तर, भिडियोले बोलेको कथाका कारण यो यतिधेरै चर्चित बन्यो । चुनावका मुखमा माओवादी जनयुद्धलाई नकारात्मक चित्रण गर्ने गीत आउँदा जनमत प्रभावित बन्ने त होइन भन्ने चिन्ता पार्टी पंतिमा देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *