नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति छिट्टै तय हुन्छ: मन्त्री गहतराज – Nepal Press

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति छिट्टै तय हुन्छ: मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेका छन् । शुक्रबार मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित पोखरा पुगेका मन्त्री अथकले रंगशाला परिसरमा रहेका खेल पूर्वाधारहरुको स्थलगत निरीक्षण गरेका हुन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनकालागि आवश्यक तयारीका सन्दर्भमा जानकारी लिन पोखरा पुगेका मन्त्री अथकले प्रतियोगिताको मिति तय गर्नेबारे छलफल भईरहेको बताए ।

‘आगामी जेठ दोस्रो साताभित्रै प्रतियोगिता सम्पन्न गर्ने बारे सोचिरहेका छौं’, मन्त्री अथकले भने,‘चैत्रमा विद्यालयस्तरीय परीक्षा संचालन हुने तथा बैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन लगत्तै प्रतियोगिता संचालन गर्ने गरी छलफल भईरहेको छ ।’

उनले आगामी जेठभित्रै प्रतियोगिता गर्नुपर्ने भएकाले आवश्यक तयारी थाल्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन समेत दिए । रंगशालाको निरिक्षणका क्रममा पौडी र सुटिङ्ग बाहेका सबै खेलहरु रंगशाला हाताभित्रै संचालन गर्न सम्भव देखिएको मन्त्री अथकले बताए ।

निर्माणाधिन अवस्थामा रहेको पौडी पोखरी निर्माण सम्पन्न हुन अझैं केही समय लाग्ने बताउँदै मन्त्री अथकले वैकल्पिक उपाय खोजेर भएपनि पौडी सहितका सबै खेलहरु पोखरामै संचालन गरिने बताए ।

सुटिङका खेलहरु भने काठमाडौंमै संचालन गर्ने तयारी गरीएको छ । पोखरामा सबै प्रकारका खेलहरु खेल्न मिल्ने संरचनाहरु तयारी अवस्थामा रहेकाले प्रतियोगिता संचालनकालागि कुनै समस्या नहुने मन्त्री अथकको भनाई थियो ।

यद्यपी प्रतियोगिताकालागि स्थानीयस्तरबाटै खेलाडीहरु छनोट भएर आउनुपर्ने भएकाले तत्काल पालिका तथा प्रदेशस्तरका प्रतियोगिताहरु संचालन गर्न मन्त्री अथकले निर्देशन दिए ।

कोरोनाका कारण पालिका तथा प्रदेशस्तरका खेल गतिविधिहरु चलायमान हुन नसक्दा समयमै राष्ट्रिय प्रतियोगिता संचालन गर्न नसकिएको बताउँदै मन्त्री अथकले तत्काल पालिका तथा प्रदेशस्तरका प्रतियोगिताहरु संचालन गर्न निर्देशन दिए । प्रतियोगिता संचालनकालागि यसअघि नै गण्डकी प्रदेशको राजधानी पोखरालाई चयन गरीएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर