खानी दोहन प्रकरणः सिद्धार्थ मिनरल्सविरुद्ध ५० करोड विगो दाबी, अरु कम्पनीलाई कति ? – Nepal Press

खानी दोहन प्रकरणः सिद्धार्थ मिनरल्सविरुद्ध ५० करोड विगो दाबी, अरु कम्पनीलाई कति ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागमा सवा अर्ब भष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त मुद्दामा विभागका महानिर्देशकसहित ९ वटा सिमेन्ट उद्योग सञ्चालकसमेत मुछिएका छन् ।

अनुमति पाएको भन्दा बढी उत्खनन गरेका कम्पनीहरुलाई उचित जरीवना नगराई भ्रष्टाचार गरिएको आरोप अख्तियारले लगाएको हो । सबैभन्दा बढी सिद्धार्थ मिनरल्स प्रालिसँग करिब ५० करोड रुपैयाँ बिगो दाबी गरिएको छ । यस कम्पनीका सञ्चालक पशुपति मुरारका हुन् ।

यस्तै, सर्वोत्तम सिमेन्ट लिमिटेड सञ्चालक विष्णु प्रसाद न्यौपानेबाट बिगो दाबी १६ करोड ३१ लाख, मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालक शरद गोयलबाट २० करोड ५० लाख बिगो दाबी गरिएको छ ।

अन्नपूर्ण क्वेरिज प्रा.लिका सञ्चालक ऋषि अग्रवालबाट ११ करोड १७ लाख, उदयपुर मिनरल्स टेक प्रालिका सञ्चालक प्रवलजंग पाण्डेबाट १ करोड ७९ लाख, युनाइटेड सिमेन्ट प्रा.लिका सञ्चालक नरेश दुगडबाट ९ करोड ६९ लाख बिगो दाबी गरिएको छ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका सञ्चालक निपेश तयालका विरुद्ध ६ करोड ९८ लाख, कञ्चन क्वेरिज प्रालिका सञ्चालक भीमबहादुर थापा क्षेत्रीका विरुद्ध ३ करोड ८ लाख र डोलोमाइट चुनढुंगा उद्योग प्रालिका सञ्चालक मानबहादुर श्रेष्ठका विरुद्ध ५ करोड ४३ लाख बिगो दाबी गर्दै अख्तियारले मुद्दा हालेको छ ।

९ वटा सिमेन्ट उद्योगका सञ्चालकहरु नेपालका ठूला व्यवसायीक घराना हुन् । उनीहरुले प्राकृतिक दोहन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारले छानबिन गर्दा विभागका कर्मचारीले खानी सञ्चालकसँग मिलेर प्राकृतिक स्रोतको दोहन गरेको ठहर गरेको छ ।

२०७६ सालका उपमहानिर्देशक तथा हालका महानिर्देशक रामप्रसाद घिमिरेको संयोजकत्वमा समिति गठन भएको थियो । सो समितिले ९ वटा सिमेन्ट उद्योगहरुले खानी दोहन गरेको निष्कर्ष निकालेको थियो । ३ सदस्यीय समितिले प्रतिवेदनमा ९ वटा सिमेन्ट उद्योगबाट १ अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति लिनुपर्ने बताएको थियो ।

तर, २०७७ सालमा जयराज घिमिरेको संयोजकत्वमा पुनः अर्काे समिति बनाएर थोरै क्षतिपूर्ति लिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर