पाँच सेट खेल्दै सेमिफाइनल पुगे नाडाल


मेलबर्न । सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने एक्लो पुरुष खेलाडी बन्ने दाउमा रहेका राफेल नाडाल वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको सेमिफाइनल पुगेका छन्।
स्पेनिस नाडालले मंगलबार भएको क्वाटरफाइनलमा डेनिस सापोभालोभलाई पाँच सेट खेल्दै हराएका हुन्। सुरुका दुई सेट जितेका नाडाल त्यसपछि लगातार दुई सेट गुमाएपछि अगाडि बढ्न पाचौँ तथा अन्तिम सेट जित्नुपर्ने दबाबमा पुगेका थिए।
क्यानडाका सापोभालोभले सुरुका दुई सेट ३–६ र ४–६ ले गुमाएपनि त्यसपछिका दुई सेट ६–(४ र ६–३ ले गुमाएका थिए। तर पाचौँ सेट उत्कृष्ट पुनरागमन गर्दै नाडालले ६–३ ले जितेर सेमिफाइनलमा स्थान बनाएका हुन्। सापोभालोभ ग्रान्डस्लाममा पहिलोपटक क्वाटरफाइनल पुगेका थिए । जारी प्रतियोगितामा ३५ वर्षीय नाडालले पहिलोपटक पाँच सेट खेल्नु परेको हो। उनी २१ औँ एकल ग्रान्डस्लाम जित्ने प्रयाशमा छन्।
पुरुषतर्फ नाडाल, नोभाक जोकोभिच र रोजर फेडेररले समान सर्वाधिक २० पटक एकल ग्रान्डस्लाम जितेका छन् । नाडालले यसअघि एकपटक मात्र अस्ट्रेलियन ओपन जितेका छन् । अघिल्ला लगातार तीन संस्करणका विजेता जोकोभिच प्रतियोगिता खेल्न अस्ट्रेलिया पुगेपनि कोरोनाको आइसोलेसन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा त्यहाँको सरकारले फिर्ता पठाएपछि नाडालको सम्भावना यसपटक सहज बनेको छ।