सरोकारवाला भन्छन् : कोरोना नियन्त्रणमा लुम्बिनी सरकार चुक्यो – Nepal Press

सरोकारवाला भन्छन् : कोरोना नियन्त्रणमा लुम्बिनी सरकार चुक्यो

रुपन्देही । कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकार असफल भएको आरोप सरोकारवालाहरुले लगाएका छन् ।

प्रदेश सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य पहल गरिरहेको बताएपनि सरोकारवालाहरुले सरकार असफल भएको दावी गरेका हुन् ।

भारतसँगको खुला सिमानामा भएको कमजोर चेकजाँच, नाकामा होल्डिङ सेन्टरको अभाव र भएका पनि सञ्चालन हुन नसक्नु, केही जिल्लाहरूका पीसीआर परीक्षण र खोप नै रोकिनु सरकारको असफल व्यवस्थापन भएको उनीहरुले बताएका छन् ।

प्रदेशभर कोरोना संक्रमणले जोखिम बढाएको भन्दै उनीहरुले सरकार संवेदनशील बन्दै तत्काल सरोकारवालासँग समन्वय गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।

रिपोटर्स क्लब लुम्बिनीले सोमबार सोमबार बुटवलमा गरेको साक्षत्कारमा स्वास्थ्यमन्त्री इन्द्रजित चौधरीलाई प्रदेशका पूर्व स्वास्थ्य मन्त्रीदेखि शान्ति समाज नेपालका सभापतिलगायतले सरकारले गम्भीरतासाथ कोरोना नियन्त्रणमा लाग्न आग्रह गरे ।

पूर्व स्वास्थ्यमन्त्री तथा एमाले संसदीय दलका सचिव भोजप्रसाद श्रेष्ठले प्रतिपक्षले महामारीमा सरकारका योजना तथा मन्त्रीले ल्याएका कार्यक्रम कार्यान्वयनमा सहयोग र सहकार्य गर्न तयार रहेको बताउँदै बजेट जोगाउने नाममा जनताका सुविधा कटौती गर्ने नमिल्ने बताए ।

उनले लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जोखिमका विषयमा गम्भीर नभएको र समन्वय पनि गर्न नखोजेको र दलीय भागवण्डा खोज्दै व्यवस्थापन समिति खाली गराएको आरोप लगाए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले कोरोना नियन्त्रण, व्यवस्थापन तथा पूर्व तयारीमा सरकार असफल भएको बताए । उनले तेस्रो लहर आउँछ भन्ने थाहा हुँदाहुँदै पनि पार्टीहरूको महाधिवेशन लगायतका गतिविधिले अहिले फेरि संक्रमितको संख्यामा वृद्धि हुँदै गएको र जोखिम बढेको बताए ।

लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेले कोभिडको यस्तो महामारीमा पनि सरकारले निजी क्षेत्रलाई दिने सहुलियत नदिएको, परिचालन र समन्वय नगरेको बताउँदै निजी मेडिकल कलेजसँग जनशक्ति रहेको हुँदा कोरोना खोप केन्द्रको रूपमा पनि निजी मेडिकल कलेजसँग सहकार्य गर्न आग्रह गरे ।

नेपाल जनस्वास्थ्यकर्मी संघकी केन्द्रीय सहकोषाध्यक्ष उमा थापाले विश्व नै कोरोनाबाट आक्रान्त भइरहेको समयमा स्वास्थ्यकर्मीहरूले चौबिसै घण्टा खटेर काम गरिरहेको बताउँदै ओभर डिउटी गर्दै स्वास्थ्य सेवामा लागेको भए पनि सरकारी तहबाट मूल्याङ्कन हुन नसकेको गुनासो गरिन् ।

थापाले निजी संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा जोखिम भत्तासमेत अहिलेसम्म सरकारले उपलब्ध नगराएको बताइन् ।

प्रयास जारी छ : स्वास्थ्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारूले सरकारले हर प्रयास जारी राख्दा पनि केही कमजोरी भएको स्वीकार गरे ।

उनले प्रदेश सरकारले नागरिक समाज, स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा महामारी नियन्त्रण गर्न योजना रहेको बताए ।

मन्त्री थारुले पहिलो खोप लगाएकामध्ये प्रदेशमा दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्रको खोप लगाएकाहरूमा एक प्रतिशतको मात्र मृत्यु भएको जानकारी दिँदै ८५ प्रतिशत जनतालाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइसकेको बताए ।

खोपप्रति ग्रामीण भेगका नागरिकमा चेतनाको अभावले गर्दा खोप लगाउनेको संख्या पूर्ण हुन नसकेको समेत बताउँदै स्थानीय तहको समन्वयमा नागरिकलाई खोजी खोजी खोप लगाउने काम भइरहेको जानकारी दिए । मन्त्री चौधरीले अब सबै सरोकारवाला क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

आइतबार मात्रै प्रदेश प्रमुख अमिक शेरचनले सबै सरोकारवालालाई बोलाएर तत्काल कोरोना संक्रमण नियन्त्रणमा ध्यान दिन आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर