मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचन- लोसपा र एमाले मिले पनि सत्ता गठबन्धनकै जित निश्चित – Nepal Press

मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचन- लोसपा र एमाले मिले पनि सत्ता गठबन्धनकै जित निश्चित

जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमाले गठबन्धन गरे पनि सत्ता गठबन्धनकै पल्ला भारी देखिएको छ ।

मधेस प्रदेशमा एमालेबाट विना देवी र पर्साका उसमान अन्सारीले उम्मेदवारी दिएका थिए । तर लोसपासँग गठबन्धन गरेपछि एमालेले विनादेवीको उम्मेदवारी फिर्ता लिएको छ । एमालेले लोसपाकी रुपा कुमारी यादव र लोसपाले एमालेका उसमान अन्सारीलाई मतदान गर्ने सहमति बनेको छ ।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका खालिद सिद्दिकी उम्मेदवार छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद, पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् ।

मधेसमा प्रतिपक्षी लोसपा र एमालेका प्रदेश सांसद, पालिका प्रमुख र उपप्रमुख सत्ता गठबन्धनभन्दा कम संख्यामा छन् । तसर्थ लोसपा र एमाले गठबन्धन गरे पनि सत्ता गठबन्धन नै बलियो छ ।

स्थानीय तहका पदाधिकारीको मतभार १८ र प्रदेश सांसदको मतभार ४८ हुन्छ । १०७ सदस्यीय प्रदेशसभामा अहिले १०४ सांसद छन् । पार्टी परिवर्तन गरेकाले माओवादी ३ सांसदलाई कारबाही गरेर हटाइसकेको छ । यस्तै प्रदेश २ का १३६ पालिकामा अहिले २६८ प्रमुख र उपप्रमुख छन् ।

२६८ पालिका प्रमुख र उपप्रमुखको मतभार ४८२४ र १०४ प्रदेश सांसदको मतभार ४९९२ गरी कुल मतभार ९८१६ छ ।

मधेसमा एमालेका पालिका प्रमुख र उपप्रमुख २९ तथा प्रदेश सांसद ८ जना छन् । अर्थात् एमालेसँग पालिका प्रमुख र उपप्रमुखको मतभार ५२२ तथा प्रदेश सांसदको मतभार ३८४ रहेको छ । त्यस्तै लोसपाका पालिका प्रमुख र उपप्रमुख ४२ र प्रदेश सांसद १६ जना छन् । अर्थात् लोसपासँग पालिका प्रमुख र उपप्रमुखको ७५६ र सांसदको ७६८ मतभार रहेको छ ।

दुवै दलको कुल मतभार जोड्दा २४ सय ३० हुन आउँछ । महोत्तरीको पिपरा गाउँपालिकामा भएको उपनिर्वाचनबाट तत्कालीन नेकपाको तर्फबाट विक्रम चौधरी अध्यक्षमा निर्वाचित छन् । उनी माओवादी र एमाले दुवैमा नखुलेकाले उनको मत सत्ताइतरको गठबन्धनलाई गए पनि उनीहरुको कुल मत २४४८ मात्र हुनेछ ।

तर मधेसमा सत्ता गठबन्धन (नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकिकृत समाजवादी)सँग पालिका प्रमुख र उपप्रमुख १९५ र प्रदेश सांसद ७९ जना छन् । अर्थात् सत्ता गठबन्धनसँग पालिका प्रमुख र उपप्रमुखको मतभार ३५ सय १० छ । साथै प्रदेश सांसदको ३७ सय ९२ मतभार जोड्दा सत्ता गठबन्धनसँग कुल मतभार ७३ सय ०३ हुन्छ ।

यस्तै मधेसमा नेपाली जनता दलका एक पालिका प्रमुख र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीको एक प्रदेश सांसद छन् । यी दुई जनप्रतिनिधि पनि अहिलेसम्म कुनै गठबन्धनमा खुलेका छैनन् । उनीहरुले जता मतदान गरे पनि निर्णायक हुने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर