युवा दस्ता निर्माण गर्दै सिके राउत, लडाकु जस्तै प्रशिक्षण (भिडिओ) – Nepal Press

युवा दस्ता निर्माण गर्दै सिके राउत, लडाकु जस्तै प्रशिक्षण (भिडिओ)

जनकपुरधाम । जनमत पार्टीले अहिले युवा दस्ता निर्माणको तयारी थालेको छ । आन्दोलन जारी राखेको राउतको पार्टीले आफ्नो आन्दोलनमा हस्तक्षेप गर्नेमाथि प्रतिकार गर्ने भन्दै युवा दस्ता निर्माण गरिरहेको छ ।

केहि दिनअगाडी अध्यक्ष डा. सीके राउतले निर्वाचनको बुथमा परिचालन गर्न र आन्दोलनलाई उचाइँमा पुर्याउन गाउँ गाउँमा युवा दस्ता निर्माण नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । सोही निर्देशन बमोजिम युवा दस्ता निर्माण नभएका गाउँका नेता कार्यकर्ताले अहिले युवाहरुलाई प्रशिक्षण दिएर तयार पार्दैछन् ।

शनिवार जनमतका केन्द्रीय सचिव भोपेन्द्र यादवले युवाहरुलाई लडाकुलाई तालिम दिएजस्तै प्रशिक्षण भइरहेको एउटा भिडियो आफ्नो फेसबुक पेजमा पोष्ट गरे । उक्त भिडियोमा एकातीर विपक्षी र अर्कातीर जनमतका कार्यकर्ता लडिरहेको देखिन्छ ।

जनमत पार्टी उल्लेखित पोशाक लगाएका युवाहरु विपक्षीलाई खेदेको र जनमत पार्टी जिन्दावाद नारा लगाइरहेको भिडियोमा सुनिन्छ, देखिन्छ ।

उक्त भिडियो रुपन्देहीको गैरहवा गाउँपालिकामा जनमत पार्टीले युवाहरुले दिइरहेको तालिमको हो ।

भिडियो सार्वजनिक गरेका जनमतका नेता यादवले आन्दोलनमा दमन गर्नेलाई प्रतिकार गर्ने उदेश्यले युवा दस्ता तयार पारेको बताए । कुनै राजनीतिक दल र व्यक्तिसँग लड्नका लागि युवा दस्ता नबनाएको उनको भनाई छ ।

किसान आन्दोलनको माग पुरा गराउन भन्दै अहिले पनि जनमत पार्टीले आफ्नो आन्दोलन जारी रहेको बताएको छ ।

जनमतका केन्द्रीय अध्यक्ष राउतले माघ २० गतेबाट राजमार्गमै खाना पकाउने, त्यही बस्ने र सवारी साधन ठप्प पार्ने घोषणा गरेका छन् । सो क्रममा प्रहरीले दमन गर्दा तयार पारिएको युवा दस्ता परिचालन गर्ने उनको योजना छ । त्यसैले अहिले गाउँ गाउँमा जनमतका नेता कार्यकर्ताले युवा दस्ता तयार पार्न जुटेका छन् ।

जनमतका नेता यादव माघ २० गतेबाट राजमार्गमा दिवा र रात्री सवारी समेत ठप्प पार्ने र प्रहरीले गमद गर्दा प्रतिकार हुने बताउँछन् ।

उनले भने, ‘हामीलाई प्रहरीले किन लखेट्छन् ? प्रहरीलाई त हामीले केहि गर्दैनौं । सरकारले माग पुरा नगरेकाले राजमार्ग बन्द गर्ने बाध्यता छ । त्यस्तो बेला प्रहरीले दमन गर्न खोज्यो भने प्रतिकार गर्छौं ।’

जनमतकै अर्का नेता संजय यादवले मधेसका १४ जिल्लामा करिब २० हजार युवा दस्ता तयार पारेको दावी गरे । उनका अनुसार धेरै ठाउँमा पहिले नै युवा दस्ता तयार भइसकेका छन् ।

‘विशेषगरी विपद्का घटनामा उद्धारका लागि युवा दस्ता तयार गरेका छौं’, उनले भने, ‘समाजको शान्ति सुरक्षा पनि गर्छन् । र आन्दोलनमा दमन गर्नेविरुद्ध पनि युवा दस्ता परिचालन हुन्छ ।’

पार्टी गठन अघि डा. राउतको नेतृत्वमा स्वतन्त्र मधेस गठबन्धन थियो । अलग मधेस देश बनाउने गतिविधि चलाएका बेला गठबन्धनले पनि युवाहरुलाई सैन्य अभ्यास जस्तै तालिम दिइएको थियो ।

त्यतिबेला तालिम लिएकाहरु अहिले प्रहरीभन्दा अब्बल रहेको र उनीहरु जस्तोसुकै कठिन परिस्थितिमा पार्टीका लागि लड्न तयार रहेको जनमत पार्टी स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर