बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु – Nepal Press

बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

रुपन्देही । बाघको आक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको फत्तेपुरकी ३० वर्षीया चाँदनी थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो । दुई दिनअघि सो गाँउपालिका बैजापुरकी लिला बिष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

बिहिबार बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ प्रसोहनाकी लिला विष्टको बाघले आक्रमण गरेर मृत्यु भएको थियो । आज शनिबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको हब्रहवा घर भएकी ३० वर्षीया थारुको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

फत्तेपुर जंगलमा दाउरा लिन गएको बेला चाँदनीलाई एक्कासी बाघले झम्टेर लगेको थियो । बाघ आक्रमणमा परेकी चाँदनीको खबर पाएलगत्तै फत्तेपुर प्रहरी चौकीका प्रहरीसहित स्थानीय खोजतलासमा जुटेको केहीबेरमा नै चाँदनीको शव भेटिएको फत्तेपुर प्रहरीले जनाएको छ ।

कार्तिक २५ गते गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडानम्बर– ४ पण्डितपुरुवाका लखन गडरियाको पनि बाघ आक्रमणबाट मृत्यु भएको थियो ।

यसअघि पनि पुस ३ गते जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटाला बाघको आक्रमणबाट बच्न सफल भएका थिए । क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे राप्तिसोनारी गाउँपालिका वडानम्बर –५ गोरधुईतर्फ मोटरसाइकलमा जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिन खोज्दा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका थिए ।

राप्तीसोनारी क्षेत्रमा पटक–पटक बाघ देखिएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली परिचालन गरेपनि नरभक्षी बाघ निकुञ्जले नियन्त्रणमा लिनसकेको छैन ।

बाँकेमा बाघको चहलपहल बढेपछि मानिसहरु आतंकित रहेका छन् । गत तीन महिनामा बाघको आक्रमणबाट तीन जनाको ज्यान गैसकेको छ । बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो ।

बाघको पञ्जाबाट उम्किएर बच्न सफल उनको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राले चोट लागेकोे छ । केही दिनअघि राप्तीसोनारीका वडा नं ५ र ६ को जङ्गलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई बाघले झम्टेको थियो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले शुक्रबारदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोली पठाएर बाघलाई लखेट्न सुरु गरेको बताएका छन् । सोही अनुसार दुई वटा हात्ती बैजापुर पुगेका छन् ।

शुक्रबार सिद्धेश्वरी सामुदायिक वनमा बाख्रा चराउन गएका बाँके राप्तीसोनारी–५ का बमबहादुर पुन शुक्रबार पाटेबाघको आक्रमणबाट जोगिएका थिए । सामुदायिक वनमा बाख्रा चराउन गएका उनी बाघको आक्रमणबाट जोगिए पनि बाख्रा भने बाघले खाएको छ । बाघले १ बाख्रा खाएको, ३ वटा घाइते बनाएको र ४ वटा हराएको स्थानीयबासीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर