‘राज्यका तीनै अंग बर्बाद भए, परमादेशीहरूलाई पराजित गरेर एमाले देश सम्हाल्न फर्किन्छ’ – Nepal Press

‘राज्यका तीनै अंग बर्बाद भए, परमादेशीहरूलाई पराजित गरेर एमाले देश सम्हाल्न फर्किन्छ’

धुलिखेल । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असार २८ को परमादेशका कारण राज्यका तीनवटै अंग बर्बाद बनेको भन्दै जनादेशमार्फत परमादेशीहरूलाई पराजित गरेर एमाले देश सम्हालन सत्तामा फर्किने दाबी गरेका छन् ।

काभ्रे जिल्ला अधिवेशन उद्घाटन समारोहलाई धुलिखेलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको असफलताले मुलुकको अर्थतन्त्र टाट पल्टिन लागेको, न्यायपालिकामा न्यायाधीशहरू नै हड्तालमा उत्रिएको र सभामुख एकपछि अर्को अपराधमा संलग्न भएकोले राज्यका सबै अंग बर्बाद बनेको आरोप लगाए ।

ओलीले भने, ‘न्याय नपाउने जनता र श्रमिकले हड्ताल गर्थे तर अहिले त न्यायाधीशहरु हड्ताल गर्न थाले । सभामुखले पुराना पाप पखाल्नु त परै जाओस् संविधान, लोकतन्त्रविरुद्ध नयाँ-नयाँ पाप गर्दैछन् । ताजा जनादेशमार्फत एमाले यस्ता तत्वहरुलाई पराजित गरेर देशमा विकासको अभियान चलाउन फर्किनेछ ।’

सभामुख अग्नि सापकोटामाथि काभ्रेका अर्जुन लामा, बलराम सापकोटालगायतको हत्या अभियोग अहिले पनि अदालतमा विचाराधीन रहेको प्रसंग कोट्याउँदै ओलीले अहिले पार्टी फुटाउने षड्यन्त्रमा सभामुख नै सामेल भएको आरोप लगाए ।

जिल्ला अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई पोलिटब्यूरो सदस्य गोकुल बास्कोटा, सांसद तथा केन्द्रीय सदस्य नविना लामा, केन्द्रीय सदस्य रेशमलामालगायतले सम्बोधन गरेका थिए ।

सो अवसरमा राप्रपा र माओवादी केन्द्रबाट निर्वाचित चारजना वडाध्यक्षसहित विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर