लुम्बिनीका ११ जिल्लामा एमालेको नयाँ नेतृत्व चयन हुँदै, यस्ता छन् आकांक्षी – Nepal Press

लुम्बिनीका ११ जिल्लामा एमालेको नयाँ नेतृत्व चयन हुँदै, यस्ता छन् आकांक्षी

रुपन्देही । नेकपा एमालेले जिल्ला अधिवेशनको मिति तोकिसकेपछि जिल्लास्तरमा नेतृत्वका आकांक्षीहरु दौडधुपमा लागेका छन् । लुम्बिनीबाट पार्टीको पदाधिकारीमै ७ जना नेताहरु पुगेकाले यहाँका जिल्लाहरुमा उनीहरु निकटका नेताहरु नेतृत्वमा पुग्न दौडधुपमा लागेका हुन् ।

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ११ जिल्लामा पुस २३ गते एकसाथ अधिवेशन हुँदैछ । रुकुम पूर्व हिमाली जिल्ला भएकाले पछि अधिवेशन गर्ने एमालेले जनाएको छ ।

अधिवेशनको मिति नजिकिँदै गर्दा जिल्लाका नेताहरु नेतृत्वमा आउन आफू निकटका नेतालाई भेटेर आफ्नो दावेदारी गरिरहेका छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पोलिटब्युरो सदस्य लिला गिरी, खिमलाल भट्टराई, राधा ज्ञवाली, नेत्र पन्थीको गृह जिल्ला रुपन्देहीमा नेतृत्वका लागि आधा दर्जनभन्दा बढी आकांक्षी मैदानमा छन् । हालका जिल्ला अध्यक्ष शिवराज सुवेदी दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइसकेपछि उनीबाहेका आकांक्षी मैदानमा आएका हुन् ।

अध्यक्षको आकांक्षीमा हालका एमाले जिल्ला उपाध्यक्ष पुरुषोत्तम घिमिरे छन् । पार्टी राजनीतिमा सधै माधव समूहमा रहेका उनी नेपालले नयाँ पार्टी गठन गरे पनि एमालेमै बसेकाले आफ्नो दावेदारी बलियो भएको बताएका छन् ।

यसअघिको जिल्ला अधिवेशनमा नेपाल समूहबाट अध्यक्षमा जान खोजे पनि उनलाई उपाध्यक्ष बनाइएको थियो । उनलाई अध्यक्ष बनाउन नेता घनश्याम भुासल, प्रदेश सांसद तथा नेकपा एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले लविङ गरिरहेका छन् ।

अध्यक्षमा बलियो दावेदार रहेका जिल्ला कार्यालय सदस्य तेजेन्द्र केसी हुन् । एमाले उपाध्यक्ष विष्णु पौडेलको बलियो साथ रहेका उनी यसअघि नेकपा रहँदा सहसंयोजकको जिम्मेवारीमा थिए । एमाले र माओवादी एकीकरण भएपछि सहसंयोजकको भूमिका पाएका केसी संयोजक शिव सुवेदीले छाडेपछि आफू स्वभाविकरुपमा अध्यक्षको दावेदार भन्दै आएका छन् ।

जिल्लाका प्रचार विभाग पूर्वप्रमुखसमेत रहेका केसी आफूले पार्टीमा गरेको योगदानका कारण अध्यक्षको दावेदार भएको बताए । त्यस्तै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले पनि अध्यक्षमा आकांक्षा देखाएका छन् ।

एमालेको दशौ राष्ट्रिय महाधिबेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका उनी अन्ततः पछि हटेका थिए । आगामी निर्वाचनमा नगरपालिकामा नदोहोरिने बताइसकेका घिमिरे जिल्ला नेतृत्वका बलियो दावेदार हुन् । त्यसो त घिमिरे पनि लामो समय माधव नेपाल समूहमा थिए । नयाँ पार्टी खोलेर नेपाल गएपनि घिमिरे एमालेमै छन् ।

तिलोत्तमा नगरपालिकाभित्र उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा बटुलेका घिमिरे एमाले उपाध्यक्ष विष्णु पौडेलकै कारण एमालेमा रहेको उनी निकट नेताहरु बताउँछन् । रुपन्देहीमा नेता बलबहादुर आचार्य, यज्ञ गैरे, हितराज पन्थीले नेतृत्वका लागि आफू पनि मैदानमा रहेको बताउँदै आएका छन् । तर दावी जोजसले गरेपनि अन्तिममा केसी र घिमिरेकै पल्ला भारी हुने एमाले नेताहरुको बुझाई छ ।

नेकपा एमाले कपिलवस्तुको आगामी नेतृत्वका लागि ४ जना मैदानमा आएका छन् । अध्यक्षका लागि पूर्वउपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य डम्मर शर्मा, वर्तमान उपाध्यक्ष बाबुराम खनाल, प्रदेश सदस्य खुमप्रसाद आचार्य, शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले आगामी नेतृत्वका लागि माथिल्लो तहका नेताहरु तथा समकक्षीहरुका बीचमा आफ्नो आकांक्षा व्यक्त गरेर अगाडि बढेका छन् ।

स्थानीय नेताहरुका अनुसार चुनावी चर्चामा धेरै आए पनि अहिले नेतृत्वको बलियो दाबेदार भने डम्बर शर्मा र बाबुराम खनाल नै हुन् ।

यसअघिको अधिवेशनमा अहिलेका अध्यक्ष झविलाल पोखरेलसँग पराजित डम्बरले अहिले जसरी पनि नेतृत्व आफूले पाउने दावी गरेका छन् । उनी नेकपाका बनेको समयमा जिल्लामा सहसंयोजक रहेकाले पनि आफ्नो दावी बलियो भएको बताएका छन् भने अहिलेका उपाध्यक्ष बाबुराम खनाल गाउँ, इलाका कमिटीबाट नियमितरुपमा नेतृत्वमा रहेकाले यसपटक नेतृत्वमा आफूले जसरी पनि पाउनुपर्ने दावी गरेका छन् ।

पुस २३ गते हुन गइरहेको नेकपा (एमाले) कपिलवस्तुको अध्यक्षमा अहिलेका अध्यक्ष झविलाल पोखरेल नदोहोरिने निश्चित भएपछि नेतृत्वको रस्साकस्सी अगाडि बढेको हो ।

एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा अध्यक्षमा प्रदेश कमिटी सदस्य पिताम्बर भुसाल र हालका जिल्ला उपाध्यक्ष जीवनारायण कोइराला बलिया दावेदार हुन् । हालका जिल्ला अध्यक्ष चेतनारायण आचार्य केन्द्रीय सदस्यमा निर्वाचित भएकाले यसपटक दोहोरिने छैनन् ।

गुल्मीमा भने हालका उपाध्यक्ष बालसिंह काउछा एक मात्र अध्यक्षका दावेदार हुन् । एमाले जिल्ला अध्यक्षका दावेदार समाजबादी पार्टीमा गएपछि काउछा जिल्लाको एकमात्र अध्यक्षको दावेदार रहेको जिल्लाका नेताहरु बताउँछन् । हाल जिल्ला अध्यक्ष रहेका मधुकृष्ण पन्थ छत्रकोट गाउँपालिकाका अध्यक्ष भएकाले जिल्लामा आफू नदोहोरिने बताएका छन् ।

प्रदेशको स्थायी राजधानी रहेको दाङ जिल्लामा पनि हालका जिल्ला उपाध्यक्ष हुकुम बस्नेत एकमात्र जिल्ला अध्यक्षका दावेदार रहेको उनी निकट नेताहरुले बताएका छन् । हालका जिल्ला अध्यक्ष टिकाराम खड्का नदोहोरिने भएपछि स्वभाविक रुपमा अध्यक्षमा आफ्नो दावेदारी भएको बस्नेतले बताए ।

बाँकेमा भने आधा दर्जन अध्यक्षका आकांक्षी छन् । पत्रकारसमेत रहेका डिल्ली विसी, रत्न खत्री, किस्मत कक्षपति, निरक गुरुङ, घननाथ खनाल, सतिस निरौला अध्यक्षका आकांक्षी रहेका छन् ।

लुम्बिनीको पश्चिमी जिल्ला बर्दियामा २ जना अध्यक्षमा आकांक्षी देखिएका छन् । बासगढी नगरपालिकाका प्रमुखसमेत रहेका शालिकराम अधिकारी र बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ अध्यक्षका आकांक्षीका रुपमा छन् । श्रेष्ठ हालका जिल्ला अध्यक्ष हुन् भने अधिकारी उपाध्यक्ष हुन् ।

पाल्पामा अध्यक्षका आधा दर्जन आकांक्षी छन् । जिल्लाको रिव्दीकोट गाउँपालिकाका अध्यक्षसमेत रहेका नारायणबहादुर जि.सी, जिल्लाका पूर्व पार्टी सचिव देवीप्रसाद बस्याल अध्यक्षका आकांक्षी हुन् । त्यस्तै तिनाउ गाउँपालिकाका प्रमुख रहेका हालका जिल्ला सचिव ओमबहादुर घर्र्ती, केन्द्रीय लेखा आयोगका सदस्य समेत रहेका धनेन्द्रराज घिमिरे, संविधान सभा सदस्य तारामणी घिमिरे पनि अध्यक्षका आकांक्षी हुन् ।
‘जिल्लामा ३ पटक सचिव भएकाले यसपटक अध्यक्षमा मेरो आकांक्षा हो । अघिल्लो पटक पनि म व्याक भएकाले यस पटक नेतृत्वमा आउन चाहेको छु ।’ अध्यक्षका आकांक्षी एवं तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले भने ।

पश्चिमनवलपरासीमा दीपेन्द्र अधिकारी र थामप्रसाद गैरेले अध्यक्षमा आउन आकांक्षा देखाएका छन् । अधिकारी प्रदेश सभा सदस्य हुन् भने थामप्रसाद हालका जिल्ला सचिव एवम् पुराना नेता हुन् ।

प्युठानमा भने हालका जिल्ला अध्यक्ष नै दोहोरिने लगभग पक्काजस्तै भएको छ । हालका अध्यक्ष तुल्सीराम शर्मा अध्यक्षमा दोहोरिने गरी सहमति हुन लागेको बताइएको छ ।

त्यस्तै रोल्पामा हालका अध्यक्ष बालराम बुढा नेतृत्वमा दोहोरिन चाहेका छन् । रुन्टीगढी गाउँपालिका अध्यक्षसमेत रहेका बुढा जिल्लामा सर्वसम्मत नेतृत्व चुन्ने गरी तयारी भइरहेको बताए ।

पूर्वीरुकुमको भने जिल्ला अधिबेशन पुसमा नहुने भएको छ । रुकुम पूर्व हिमाली जिल्ला भएकाले प्रदेश अधिबेशनपछि मात्र जिल्ला अधिबेशनको टुंगो लाग्ने एमाले रुकुम पूर्वका जिल्ला अध्यक्ष टोपबहादुर ओलीले जानकारी दिएका छन् ।

एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले प्रदेशका ११ जिल्लामा पुस २३ गते अधिवेशन हुने र रुकुमपूर्वमा मौसमी प्रतिकुलका कारण एक महिना पछि गर्ने तयारी भएको. बताए । उनले धेरै ठाउँमा स्थानीय नेताहरुको सहमतिमै नयाँ नेतृत्व टंगो लाग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर