ओलीको शुभकामना वक्तव्यः २०२१ मा अवरोध भयो, तर हामी समृद्ध देश निर्माणको अभियानमै छौं – Nepal Press

ओलीको शुभकामना वक्तव्यः २०२१ मा अवरोध भयो, तर हामी समृद्ध देश निर्माणको अभियानमै छौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२१ मा केही शक्तिहरुले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउने काम गरेको बताएका छन् ।

उनले मुलुकको विकासका सम्पूर्ण कामहरुमा अल्मविराम लागेको र विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको गुनासो पनि गरेका छन् ।

नयाँ वर्ष सन् २०२२ को शुभकामना सन्देश जारी गर्दै ओलीले यस्तो गुनासो गरेका हुन् । तत्कालीन एमाले सरकारले मुलुकबाट गुमाइएको भूभाग फिर्ता गर्न प्रयास गरिरहेको तथा असाधारण विकास अभियान चलाइरहेको बेला यस राज्यका विभिन्न अंगहरुलाई दुरुपयोग गरी यसमा अवरोध पुर्याइएको उनको आरोप छ ।

‘यसै वर्ष एमालेलाई जालझेलपूर्ण तरिकाले सरकारबाट हटाइएपछि राष्ट्रका गौरवपूर्ण उपलब्धीलाई समस्याका रुपमा देख्ने र राष्ट्रको स्वाधीनता तथा सार्वभौमसत्ताप्रति उदासीन रहने अकर्मन्य र गन्तव्यहीन प्रवृत्ति देखिए ।

आफ्नो पार्टी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यमा अघि बढिरहेको भन्दै ओलीले यसका लागि सुस्थिर राजनीति अपरिहार्य रहेको बताएका छन् ।

‘मुलुक निर्माणको प्राथमिकताबाट बिमूख व्यक्ति र समूहहरुका निजी दुराकांक्षाहरुले सिर्जना गरेका अवरोधहरुलाई छिचोल्दै राष्ट्रको यस साझा आकांक्षा पूरा गर्ने बाटोमा एमाले अविचलित निष्ठासाथ अघि बढिरहेको छ,’ ओलीले भनेका छन् ।

नेपालीको नयाँ वर्ष वैशाख १ मा मनाइने भए पनि आज अधिकांस देशमा प्रचलनमा रहेको हुँदा जनवरी १ लाई अन्तर्राष्ट्रिय नयाँ वर्षकोरुपमा मनाउने गरिएको ओलीको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर