कुलमानको प्रष्टोक्ति- ट्रान्सफर्मर फेर्दा समस्या भयो, आजदेखि झ्यापझ्याप बत्ती जाँदैन (भिडिओ) – Nepal Press

कुलमानको प्रष्टोक्ति- ट्रान्सफर्मर फेर्दा समस्या भयो, आजदेखि झ्यापझ्याप बत्ती जाँदैन (भिडिओ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आजबाट झ्यापझ्याप बिजुली नजाने बताएका छन् । शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको प्रष्ट्याए ।

विद्युतको जति माग आए पनि प्राधिकरण वितरण गर्ने स्थितिमा रहेको दाबी गर्दै उनले भने, ‘विगत ३/४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरू देखियो भन्ने जनगुनासोहरू आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । काठमाडौंमा मात्रै हो । सप्लाई नपुगेको हुनाले हामीले आपूर्ति गर्न नसकेको होइन । काठमाडौंका सबै ठाउँमा नभएर केही ठाउँहरूमा मात्र समस्या भएको हो ।’

काठमाडौं उपत्यकामा निर्माणाधीन ९ वटा सबस्टेशन बनिसकेपछि दीर्घकालीनरूपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने घिसिङले बताए ।

उनले भने, ‘वास्तवमा हाम्रो विद्युतको बेलुकाको पिक लोड अहिले करिव १७ सय मेगावाट र बिहानको करिव साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको छ । त्यसमा हामीले सप्लाई गर्न सकिरहेका नै छौँ । अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ । काठमाडौंमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वाभाविक हो । विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाडौंको लोड बढेको छ ।’

काठमाडौं उपत्यकामा मात्रै करिव ३७ सय ट्रान्सफर्मर रहेको भन्दै घिसिङले थपे, ‘ यदि फिडरमा नै समस्या आएको छ भने १०/२० वटा ट्रान्सफर्मरहरूमा समस्या आउने हुन्छ । अहिलेको मेजर समस्या वितरण ट्रान्सफर्मरहरु ओभरलोड भएको हो । लोडअनुसार हामीले ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरूमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मरहरूपछि पनि केवलहरु घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या आएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *