यसरी उजाडियो धनगढीलाई चिनाइरहने वेदको सपना – Nepal Press

यसरी उजाडियो धनगढीलाई चिनाइरहने वेदको सपना

कैलाली । २०७१ साल असोज १ गते मुलुककै पहिलो एयरक्राफ्ट म्युजियम सञ्चालनमा ल्याउँदै गर्दा क्याप्टेन वेद उप्रेती निकै उत्साहित थिए ।

‘संग्रहालयभित्र विमान हुन्छ । तर, मैले विमानभित्र संग्रहालय तयार गरेको छु । यो विश्वकै अनुपम हो’ त्यो बेला उनले भनेका थिए ।

उप्रेतीले ८ वर्ष पहिले एक करोड २५ लाख रुपैयाँ लागतमा पुरानो जहाजको बाहिरी आवरणलाई किनेर धनगढीमा एयरक्राफ्ट म्युजियम बनाए । कस्मिक एयरको १०० सिट क्षमताको पुरानो जहाजलाई उप्रेतीले म्युजियम बनाएका हुन् ।

इन्डोनेसियाली विमान लायनका क्याप्टेन उप्रेतीको थोरै समय मात्रै धनगढीमा बित्छ । धेरै समय उनी विश्वका विभिन्न देशहरूमा हुन्छन् । गत मंगलबार धनगढी आइपुगेको मौका छोपेर पत्रकारसँग उनले सामान्य भेटघाटको माहौल तयार गरे ।

‘हजुरहरूबाट मलाई एउटा सुझाव चाहियो’ केही दिन पहिलो एयरक्राफ्ट म्युजियमै बेलाएर उनले आग्रह गरे ।

‘कस्तो सुझाव ?’

‘यो जग्गा मेरो होइन । यसको सम्झौता पनि सकिँदैछ । अब सम्झौता थपिँदैन होला’ उनी रोकिए ।

‘अनि ?’

एयरक्राफ्ट म्युजियम सार्नुपर्ने भयो,’ भावुक हुँदै उनले भने ।

हामीले सोध्यौँ ‘कहाँ लैजाने योजना बनाउनुभएको छ त ?’

‘मलाई धनगढीभन्दा टाढा लैजान मन छैन । तर, अरूको जग्गामा कहिलेसम्म यसरी राख्न सकिन्छ र !’ उनले भने ‘ उपमहानगरपालिकाले पनि हामीलाई ठाउँ दिएन, अब त अन्यत्र लैजानुको विकल्प छैन ।’

२०२० सालमा कैलालीमा जन्मिएका उप्रेती बाल्यकालमा इन्जिनियर बन्न चाहन्थे । तर, पछि नेपाली सेनामा जागिरे भए । सुरुका १२ वर्ष नेपाली सेनामा पाइलटकै रूपमा काम गरेका उप्रेती ०५२ मा नेकोन एयरमा लागे ।

नेकोन एयर आठ वर्ष उडेपछि बन्द भयो । त्यसपछि उनी भारतको एयर डेकन एयरलाइन्समा काम गर्न पुगे ।

भारतकै पाँचतारे किङफिसर एयरलाइन्समा पनि उनले आठ वर्ष इन्स्ट्रक्टर पाइलटका रूपमा काम गरे । सन् २०१२ मा उक्त एयरलाइन्स पनि बन्द भयो । त्यसपछि उप्रेतीले इन्डोनेसियाको लायन एयरमा काम गरिरहेका गरे । अहिले उनी एयर इन्डियामा छन् ।

‘सात समुद्रपारि हवाइजहाजको ककपिटमा बसिरहँदा पनि जन्मथलोको याद आइरहन्थ्यो’ विगत सम्झँदै उनले भने, ‘नजरमा एयरक्राफ्ट परेपछि मेरो मनमा अचानक विश्वमै नभएको एयरक्राफ्ट म्युजियम धनगढीमा बनाउने योजना बन्यो ।’

पूर्वसांसद सुनिलकुमार भण्डारीको ७ कट्टा जग्गा लिजमा लिएर उनले एयरक्राफ्ट म्युजियम सुरु गरे । जग्गा बापत उप्रेतीले प्रतिमहिना ३६ हजार रुपैयाँ बुझाइरहेका छन् ।

म्युजियममा कर्मचारी पनि छन् । अहिले उनीहरूको पारिश्रमिक र जग्गाको रकम पनि तिर्न समस्या पर्न थालेको उप्रेती बताउँछन् । ‘सम्झौता सकिएको छ । अर्काको जग्गामा सधैँ राख्न पनि त सकिँदैन’ उनले भने ।

बुधवार आफैंले तयार गरेको म्युजियम भताभुङ्ग पारेर उनले नेपालगन्ज लगेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले बीपी चोकमा एयरक्राफ्ट म्युजियम निर्माणको लागि निःशुल्क जग्गा उपलब्ध गराएको छ ।

‘धनगढी उपमहानगरपालिकाले पनि जग्गा उपलब्ध गराइदिएको भए एउटा गन्तव्य यही रहिरहन्थ्यो’, उनले भने, ‘दुई वर्षसम्म प्रयास गर्दा पनि चासो नदिएपछि बाध्य भएर विकल्प खोजेको हुँ ।’

सुरुका वर्षहरूमा धनगढी पुग्ने जो कोही पनि म्युजियम पुगेकै हुन्थे । नेपालबाट मात्र होइन भारतबाट पनि विमान भित्रको संग्राहलय हेर्न आउनेहरूको सङ्ख्या त्यति नै थियो । विद्यालयका विद्यार्थीहरुको लागि एउटा पाठशाला बनेको थियो । तर, बुधवार म्युजियम उजाडिएको छ । धनगढीको एक पर्यटक गन्तव्य घटेको छ, हटेको छ ।

धनगढीलाई चिनाइरहने म्युजियम यहाँ नरहने भन्दै सञ्चारकर्मीहरूसँग पीडा सुनाएपछि त्यस लगत्तै धनगढीका पत्रकारहरू हेमन्त पौडेल, दिलबहादुर छत्याल, हिमाल जोशी लगायतले धनगढी उपमहानगर पालिकाका प्रमुख नृपबहादुर वडलाई भेटेरै धनगढीमा तयार भएको संरचना अन्यत्रै जाने अवस्था सृजना हुन नदिन आग्रह गरेका थिए ।

‘जाँदैन कहाँ जान्छ । त्यो म्युजियम यही रहन्छ । म यही राख्छु’ मेयरले भेटमा भनेका थिए । तर, धनगढीको चिनारीको रूपमा रहेको म्युजियम अन्तै सारिँदै गर्दा मेयर वड जिल्लामा छैनन् ।

उहाँले सायद पहल गरिदिएको भए यो सम्पत्ति सधैको लागि धनगढीकै भइरहन्थ्यो म्युजियम सार्दै गर्दा पनि उप्रेतीले भने, ‘कहीँ कतैबाट सहयोग नपाएपछि धनगढी चिनाइरहने मेरो सपना पनि म्युजियम जस्तै उजाडिएको छ ।

उनले अझै पनि नगरपालिकाको सहयोग मिलेमा एभिएसन म्युजियम खोल्न सकिने आसा व्यक्त गरे ।

क्याप्टेन वेद उप्रेती ट्रस्टअन्तर्गत सञ्चालित एयरक्राफ्ट म्युजियमबाट भएको आम्दानीको केही अंश कैलालीका क्यान्सर प्रभावित व्यक्तिको उपचार र शैक्षिक विकासमा खर्च भइरहेको थियो ।

‘मेरा बुवा क्यान्सरबाटै बित्नुभयो । यस्तो अवस्था अरू कसैलाई नहोस् भनेर हामीले सहयोग गरिरेहका छौँ’ उनले भने ।
एक व्यक्तिलाई ५० हजारसम्म सहयोग गरेको उनले जानकारी दिए ।

के थियो एयरक्राफ्टभित्र ?

उप्रेतीले ग्राउण्डेड अवस्थामा रहेको कस्मिक एअरको फोकर १ सयलाई विमान संग्रहालयका रूपमा विकास गरेका हुन् । विमान संग्रहालयमा राइट दाजुभाइका पालादेखि हालसम्म विकसित गरिएका अत्याधुनिक विमानका मोडेलहरू राखिएका थिए ।

त्योसँगै विश्वमा हालसम्म निर्माण भएका करिब २ सय विमानहरूको नमूना त्यहाँ थियो ।

म्युजियम परिसरभित्र कफी पसल पनि थियो । त्यसभित्र सुदूरपश्चिमको कला संस्कृति झल्काउने सामग्री तथा विश्वका उत्कृष्ट गन्तव्यहरू समेत राखिएका थिए ।


२०४० सालमा सेकेन्ड लेफिटनेन्टबाट नेपाली सेनामा प्रवेश गरेका क्याप्टेन उप्रेतीले करिब २० वर्ष नेपालको आकाशमा हवाइजहाज उडाएका थिए । फोटोग्राफी र घुम्नका सौखिन उनले देश–विदेश घुम्ने क्रममा क्यामरामा कैद गरेका फोटोहरू एयरक्राफ्टभित्रै प्रदर्शनीको व्यवस्था गरेका थिए ।

ककपिट र क्याबिनमा पाइलट र एअरहोस्ट्रेसको युनिफर्ममा आफ्नो फोटो खिच्न सकिने व्यवस्था गरिएको थियो ।

म्युजियमको प्रवेश शुल्क सर्वसाधारणलाई सय र विद्यार्थीलाई ५० तोकिएको थियो । त्यस्तै सरस्वती उप्रेती कोषबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको थियो ।

एयरक्राफ्टपछि एभिएसन

धनगढीको एयरक्राल्ट म्युजियमको चर्चा सेलाउन नपाउँदै उनले काठमाडौँको सिनामङ्गलम एभिएसन संग्राहलय बनाएका थिए ।

टर्किस एयरको एयरबस–३३० लाई एभिएसन म्युजियम बनाइएको हो । यो आधुनिक र एकदमै महँगो एयरबस हो । नेपालमा अवतरण गर्ने क्रममा टर्किज एयरवेजको विमान ग्राउन्डेड भएकाले उप्रेती ट्रस्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरेर म्युजियम बनाएको हो ।

करिब २५ अर्ब ६४ करोड रुपैयाँ पर्ने उक्त अत्याधुनिक एयरबस जम्मा आठ महिना मात्र उडेको थियो । टर्किस विमान विसं २०७१ फागुन २० गते बिहान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो । ४४० जना यात्रु बोक्न सक्ने उक्त वाइड बडी विमानलाई उप्रेतीले सिनामंगलमा म्युजियममा परिणत गरेका हुन् । सो म्युजियम सञ्चालनका लागि करिब छ करोड बढी खर्च भएको उनी बताउँछन् ।

सिनामंगलस्थित क्यानको ८ हजार वर्गफिट जग्गामा निर्मित यो म्युजियम १० वर्षे साझेदारी अन्तर्गत सञ्चालनमा ल्याइएको हो । यो म्युजियमको छेउमा नेपालको फिस्टेल एयरको हेलिकप्टर संग्राहलय पनि छ, जहाँ बसेर आगन्तुकहरूले सेल्फी खिच्न खिच्छन् ।

सिनामंगलको उक्त एयरबसभित्र पनि धनगढीको जस्तै राइट ब्रदर्सका पालादेखि अहिलेसम्मका मोडेल एयर क्राफ्ट राखिएको छ ।

उड्डयन क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने र पर्यटनको नयाँ गन्तव्य स्थापित गर्ने उद्देश्यले एभिएसन संग्रहालय सुरु गरिएको क्याप्टेन उप्रेतीले बताए ।

हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने यो संग्रहाालय अवलोकनका लागि नेपालीले २५० सय तथा विदेशीले ५०० सय रुपैयाँ शुल्क तिर्छन् । ठूला विद्यार्थि १२५ सानाको लागि ७५ रुपैयाँ तोकिएको छ ।

कञ्चनपुरमा पनि म्युजियम

एयरक्राफ्ट र एभिएसन सञ्चालनमा ल्याइसकेको उप्रेतीले कञ्चनपुरको महेन्द्रनगरमा अर्काे म्युजियम सुरु गरेका छन् । त्यसको नाम महेन्द्रनगर म्युजियम राखिएको छ ।

महेन्द्रनगरको म्युजियम नेपालमै अर्काे नमुना म्युजियम रहेको उनको दाबी छ । ‘डेनमार्कको कोपनहेगनमा मैले देखेको माछा र युवतीको मिश्रणजस्तै स्टाचु अफ सिद्धबाबानाथ बनाएको छु’ उनले भने ‘यो नेपालकै लागि नमूना हो ।’

त्यहाँ फोटो म्युजियम, स्टाचु, हेलिकप्टर, सुइमिङ पुल र नौ धारा रहेको छ । त्यहाँ प्रवेश शुल्क एक सय रुपैयाँ राखिएको छ ।

यहाँ काठमाडौँका पुरातात्विक महत्व बोकेका जस्तै घर बनाइएको छ । उक्त घरको एक तला जमिनभित्र छ । ‘त्यसमा सबै कुरा उल्टो देखिने बनेको छ’ उनले भने ‘त्यही हेर्न पनि कयौँ पर्यटक महेन्द्रनगर पुगेका छन् ।’

उक्त म्युजियम उनले आफ्नै जग्गामा बनाएका छन् । त्यहाँ उनको एक बिगाहा जग्गा छ । जग्गाको समस्याले भावी दिनमा म्युजियम सार्न नपरोस् भन्नका लागि वेदको परिवारले वेद उप्रेती ट्रस्टलाई डेढ कट्टा जग्गा दान दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर