कांग्रेसको मधेसी सहमहामन्त्रीमा त्रिपक्षीय भिडन्त, को कति बलियो ? – Nepal Press

कांग्रेसको मधेसी सहमहामन्त्रीमा त्रिपक्षीय भिडन्त, को कति बलियो ?

जनकपुरधाम । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मधेसी कोटातर्फ सहमहामन्त्रीमा रोचक भिडन्त हुने भएको छ ।

मधेसी कोटाबाट एकजना मात्र सहमहामन्त्री चुनिन्छन् । जसका लागि तीनजना रंजित कर्ण, रामकृष्ण यादव र महेन्द्र यादव उम्मेदवारी दिएका हुन् ।

मुख्यप्रतिस्पर्धी रामकृष्ण र महेन्द्र दुवैजना धनुषाकै छन् । रामकृष्ण शेखर कोइराला र महेन्द्र शेरबहादुर देउवा टीमबाट चुनावी मैदानमा उत्रेका छन् । उनी दुवैजना पहिलो र दोस्रो संविधानसभा सदस्य थिए ।

रामकृष्ण धनुषा क्षेत्र नम्बर २ बाट दुबै पटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए भने महेन्द्र दुबै पटक समानुपातिक सांसद बन्ने अवसर पाएका थिए ।

यस्तो सौभाग्य कि उनी दुबैजना एकैपटक मन्त्री पनि बने । ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा रामकृष्ण कृषिमन्त्री र महेन्द्र खानेपानी तथा सरसफाई मन्त्री भए । रामकृष्ण रामचन्द्र पौडेलको कोटामा मन्त्री बनेका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा रामकृष्ण र महेन्द्र दुबैजना पराजय व्यहोरे । एकसाथ सांसद र मन्त्री बन्ने अवसर पाएका उनी दुबैजना पार्टीको आन्तरिक चुनावमा एक अर्काको प्रतिस्पर्धी बनेका छन् । विचार मात्र होइन्, प्रायः धेरै कुरा मिल्ने उनीहरु अब महामन्त्री बन्न एक अर्कालाई हराउन प्रचार प्रसारमा व्यस्त छन् ।

०३७ सालदेखि नै रामकृष्ण काँग्रेसमा सक्रिय छन् । उनी भन्छन्, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी हो । सबैको लड्ने अधिकार छ । त्यसैले एउटै जिल्लाको म र महेन्द्र जी रहेपनि चुनावी प्रतिस्पर्धा गर्नुपरेको छ ।’

उनले आफू सहमहामन्त्रीमा निर्वाचित भएपछि पार्टीभित्र देखिएको विकृति र विसंगती अन्त्य गर्ने बताए । ‘पार्टीमा कार्यकर्ताको मुल्यांकन गर्ने तरिका ठिक छैन,’ उनले भने, ‘यसलाई पनि ठिक पार्छु ।’

‘सहमहामन्त्री बनेपछि राष्ट्रिय र मधेसको बाँकी मुद्दा सम्बोधन गराउने र अगामी तीनवटा निर्वाचनमा पार्टीलाई पहिलो बनाउन जे भुमिका निर्वाह गर्नुपर्छ, गर्छु’, उनको भनाई छ ।

अर्का उम्मेदवार महेन्द्रले सहमहामन्त्रीमा जति जनाको उम्मेदवारी परेको छ, तिमध्ये सबैभन्दा सिनियर आफू रहेको बताउँछन् ।

उनले भने, ‘एकवर्ष अगाडीदेखि सहमहामन्त्रीमा उम्मेदवारी दिने कुरा गरेको थिए । र सिनियर पनि छु । त्यसैले रामकृष्ण जीले अर्को पदमा उम्मेदवारी दिनुपर्थ्यो । खैर ठिकै छ म फ्रेण्डली प्रतिस्पर्धा चाहेको छु ।’

प्रजातन्त्रका लागि ५ पटक जेल गएको र दुई पटक केन्द्रीय सदस्य भइसकेको भन्दै देशभरका कार्यकर्ताको सम्पर्कमा रहेकाले आफू सहमहामन्त्रीमा जित्ने बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रामक व्यवस्थाको लागि धेरै लडाइ लडेको छु’, उनले भने, ‘म पुरानो मान्छे हुँ । त्यसैले मलाई विश्वास छ सबैले भोट दिएर जिताउनुहुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर